१२ वर्षदेखि स्कुल भवन अलपत्र



बाँके । नेपालीमा उखान छ, ‘बाह्र वर्षमा खोलो फर्किन्छ । अर्को उखान छ, ‘बाह्र वर्षसम्म ढुंग्रोमा राखे पनि कुकुरको पुच्छर बाङ्गाको बाङ्गै ।’

यो बाह्र वर्षे उखानसँग सरस्वती मावि, भंघोट्नाको बाह्र वर्षदेखि अलपत्र परेको भवनलाई जोड्दा केही फरक पर्दैन । गाविसको संरचना भएका बेला आर्थिक वर्ष २०६७/६८ मा शुरू गरिएको स्कुलको चारकोठे भवन बाह्र वर्ष बितिसक्दा बन्न सकेको छैन । यो स्कुलका लागि न बाह्र वर्षमा खोलो फर्कियो, न त कुकुरको पुच्छर नै सोझो भयो, स्कुलको भवन बन्नु उखानजस्तै असम्भव भइरहेको छ ।

तत्कालीन जिल्ला शिक्षा कार्यालयले ६०/४० को योजनाअन्तर्गत स्कुलमा चारकोठे भवन बनाउन थालेको थियो । १२ लाखको यो योजनामा ६० प्रतिशत जिल्ला शिक्षा कार्यालय र ४० प्रतिशत स्कुल वा स्थानीय तहले हाल्ने भनिएको थियो । जिल्ला शिक्षा कार्यालयले ट्रस्ट र जस्तापाता उपलब्ध गरायो । गाविसले केही रकम दिएर डीबीसी गरियो । ट्रस्ट ठडियो । त्यसपछि थप काम हुन सकेन । जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको जस्तापाता अहिले स्कुलको स्टोर रुममा थन्किएको छ । बाह्र वर्षअघि ठडिएको ट्रस्ट खिया लागेर जीर्ण भइसकेको छ ।

२०७२ को संविधानसँगै व्यवस्था फेरियो । जिल्ला शिक्षा कार्यालय शिक्षा इकाइ समितिमा परिणत भयो । गाविस गाउँपालिका भयो । सरस्वती स्कुलमा ठडिएको ट्रस्ट भने जस्ताको तस्तै रह्यो । यो स्कुललाई हेरिदिने कोही भएनन् ।

स्कुलमा विद्यार्थीको चाप छ । भवन अभाव छ । त्यो पुरानो योजनालाई न कसैले पूर्ण गरिदिएको छ न त अर्को नयाँ योजना बनाउन नै बाटो खुलेको छ । ठडिएको ट्रस्ट घाँडो भएको छ । स्कुलका प्रधानाध्यापक ज्वाला रेग्मीले सबैतिर धाउँदा पनि त्यो भवनलाई बनाउन नसकिएको बताउनुभयो ।

‘स्कुलमा ८ सय ६३ जना विद्यार्थी छन् । दशवटा मात्रै कोठा छ । एकदेखि तीन कक्षासम्मका प्रत्येक कक्षामा सय बढी विद्यार्थी छन् । उनीहरूलाई एउटै कोठामा कोचेर पढाउनुपरेको छ’, प्रधानाध्यापक रेग्मीले भन्नुभयो– ‘त्यो चार कोठा बने पनि धेरै राहत हुन्थ्यो । विद्यालयको आन्तरिक स्रोत छैन । अन्यत्रबाट यसका लागि सहयोग जुटेको छैन ।’

वडाध्यक्ष मोहनराम मिश्रले पुरानो योजना भन्दै पालिकाबाट सहयोग नहुँदा भवन अलपत्र परेको बताउनुभयो । ट्रस्ट ठडिसकेको छ । जस्तापाता र किल्ला पनि छ । अब इट्टा, झ्याल, ढोका, सिमेन्ट, बालुवाका लागि बजेट चाहिएको छ । पुरानो योजनामा पैसा नहाल्ने हो भने ट्रस्ट भत्काउनुप¥यो, होइन भने स्थानीय तहले हेर्नुपर्ने आवाज उठेको छ । दश लाखको खर्चमा भवन बन्ने आँकलन गरिएको छ । अहिले थोरै खर्च गर्दा हुने काम ट्रस्ट र जस्तापाता बिग्रिनेबित्तिकै अरू खर्च बढ्ने सम्बद्धहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्