निर्णायक तहमा डिजिटल सञ्चार माध्यम



नेता पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएपछि आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भन्नुभयो, ‘हामीले सोचेजति सफलता हासिल गर्न नसक्नुमा डिजिटल सञ्चारमाध्यमको सदुपयोग गर्न नसक्नु कारण देखियो ।’ उहाँले ‘साइबर सेना’ तयार पारेर राजनीति गर्ने र निर्वाचनका बेला उनीहरूको व्यापक परिचालन गर्नेहरूले अधिक संख्यामा जित हासिल गरेको विश्लेषण गर्नुभयो । ‘मेरो यस कुरालाई त्यति गम्भीर रूपमा चाहिँ नलिनुहोला’ भनेर प्रधानमन्त्री दाहालले सहभागीहरूलाई हँसाए पनि उहाँको भनाइमा अन्तरनिहित सत्यतालाई भने सबैले गम्भीर रूपमा लिनैपर्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ६ महिनामा सत्तामा पुगेर देखाएको सफलता होस् वा बालेन्द्र साह (बालेन) र हर्कराज राई साम्पाङले क्रमशः काठमाडौं र धरानमा हासिल गरेको सफलता होस्, सबैमा डिजिटल मिडियाभित्रको सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका खेलेकै हो । साइबर सेना बनाएर राजनीति गर्ने कार्यका कारणसमेत चर्चित नेकपा एमालेले पनि गत मंसिर ४ गतेको निर्वाचनमा राम्रो सफलता हासिल ग¥यो ।

सामाजिक सञ्जालमा योजनाबद्ध तरिकाले छाउन सकेकै कारण राप्रपा एक सिटबाट छलाङ मारेर १४ सिट हासिल गर्न सफल भयो । तुलनात्मक रूपमा नेपाली कांग्रेस अन्य दलको दाँजोमा अधिक सिटको हकदार बनेको तर सामाजिक सञ्जालमा त्यति सक्रिय नदेखिएको सन्दर्भले पहिलो तर्कलाई खण्डन गरेको होकि जस्तो लाग्नसक्छ, तर यथार्थमा ऊ ठूलो दल बन्नुमा अन्य आधारहरू कारक बने । त्यसमा सामाजिक सञ्जाललाई पनि सक्रिय बनाउन सकेको भए उसले हासिल गर्ने सिटको परिमाण अझ अधिक हुनसक्थ्यो । डिजिटल माध्यमको असर नेकालाई अधिक परेको सावित हुन्छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ‘नो, नट एगेन’ नामक डिजिटल क्याम्पेनबाट सबैभन्दा बढी असर परेका व्यक्ति हुनुुहुन्छ भन्ने सत्य धेरैले बुझिसकेका छन् ।

पाँच–पाँच पटकसम्म प्रधानमन्त्रीको कुर्सीमा रहेका र छैटौंपटक प्रधानमन्त्री बन्नका लागि उम्मेदवार बनेका देउवाले आफ्नो मत परिमाण मात्र घटाउनुभएन, आफू सभापति बनेको दल नेकाको मत परिणाम पनि न्यून गराउनुभयो । सामाजिक सञ्जालले बढी मन पराएका गगन थापाजस्ता व्यक्तिलाई ‘भावी प्रधानमन्त्री’ भन्दै नेकाले निर्वाचनमा जाने रणनीति अख्तियार गरेको भए सम्भवतः नेकाले यतिखेर संघीय प्रतिनिधिसभादेखि प्रदेश सभासम्म प्रमुख प्रतिपक्षको बेन्जमा अड्किनुपर्ने थिएन ।

डिजिटल मिडिया र खासगरी सामाजिक सञ्जालको महत्व बुझेकै कारण राजनीतिक दल र त्यसका नेताहरूले व्यक्तिगत र फलोअर फेसबुक पेजहरू खोलेका छन् । आज डिजिटल बजारमा ट्विटर, टिकटक, इन्स्टाग्राम, क्यास, ट्रिलर, डब्समास, बाइट, फनीमेट, लोमोटिफ, चीज, भिगो भिडियो, क्वाई, लिनी, फाइरवर्क, स्टोरी आदि सामाजिक सञ्जाल चलिरहेका छन् । तर, नेपालको सन्दर्भमा फेसबुक र ट्विटरको दबदबा छ ।

त्यसैले, अखबार, रेडियो, टिभी आदि आमसञ्चारका पुराना माध्यमले पनि प्रायः फेसबुक पेज खोलेका छन्, युट्युब भिडियो–अडियोबाट उनीहरूलाई विश्वको कुनै पनि कुनाबाट इन्टरनेटमा हेर्न र सुन्न सकिन्छ । अब डिजिटल माध्यमसँग निरपेक्ष रहेर परम्परागत मिडिया चल्ने अवस्था छैन । कुरा पुराना सञ्चार माध्यमको मात्र पनि होइन, आम व्यापार–व्यवसायको पनि हो । कुनै विदेशी मुलुकको शहरमा पुगेको नेपालीले दाल–भात खान मन ग¥यो भने उसले गुगल सर्च गर्ने, रेस्टुराको वेबसाइट भेट्ने र खाना छनोट गर्नुपर्ने अवस्थामा हामी छौं ।

व्यापार प्रवद्र्धनदेखि भुक्तानीसम्मका विधिहरू डिजिटल भएका छन् । परम्परागत फोनमा भन्दा मेसेन्जर, ह्वाट्सयाप, विच्याट, भाइबरजस्ता डिजिटल माध्यमबाट संसारको कुनै कुनामा रहेको व्यक्तिसँगको सम्पर्क सहज र सरल भएको छ ।नेपाली परम्परागत मिडियाले नयाँ पुस्ताको चाहना, आवश्यकता र रुचि बुझ्नैपर्छ । उनीहरू जुन माध्यममा छन् त्यसै माध्यममा पुराना सञ्चार माध्यमले आफूलाई ढाल्न सकेमात्र उनीहरूको जीवन रक्षा सम्भव छ । तर, माध्यम आखिर सवारी साधन मात्र हो गन्तव्यसम्म पु¥याउने, पुग्ने वस्तु ठीक छैन भने, आफैंमा रोग, शोक र अयोग्यता छ भने माध्यमले मात्र सफल बनाउन सक्तैन ।

यसरी हेर्दा, डिजिटल मिडिया परम्परागत पत्रकारिताको अस्तित्वमाथि चुनौती बनेका देखिन्छन् । यसमा ‘सोट’ विश्लेषण अर्थात् यसका सबल पक्ष, अवसर, कमजोरी र चुनौतीमाथि बृहत् बहस आवश्यक भएको छ ।पत्रकारिताको परम्परागत र सैद्धान्तिक आदर्शको व्याख्याले ‘आवाजविहीनहरूको आवाज बन्ने’ कुरा गर्छ । सत्ता र शक्तिको प्रमुख प्रतिपक्ष बनेर राज्यका तीन अंगलाई सही बाटोमा हिँडाउन सघाउने ‘वाचडग’ को काम पत्रकारिताको हो भनिन्छ । सन् १७८७ मा एडमन्ड बर्कले राज्यका तीन अंगपछिको चौथो महत्वपूर्ण अंग मानेको पत्रकारिताले सैद्धान्तिक आदर्श ठीक त्यसै गरी छोडेको छ जसरी नेपाली कम्युनिस्ट पार्टीहरूले सर्वहाराको शासन सत्ता भन्न छोडेका छन् ।

मुलुकमा सर्वहारा सकिएर उनीहरूमा यो स्थानान्तरण भएको होइन, वैचारिक स्खलनले उनीहरूलाई कमजोर बनाएको हो । ठीक त्यही स्खलन नेपाली पत्रकारितामा छ । आफ्नै कमजोरी नेपाली पत्रकारिताको चुनौती बनेको छ । डिजिटल चुनौती त सहायक विषय मात्र हो ।म्यागसेसे पुरस्कार विजेता छिमेकी भारतका युवा पत्रकार रवीश कुमारले २०७९ सालको वैशाखको अन्तिम साता काठमाडौंमा आयोजित खुला सभामा भनेजस्तै, पत्रकारिता ‘वाचडग’ नभएर ‘ल्याप डग’ भएको छ । कहिले प्रधानमन्त्रीको काखमा बस्ने, कहिले प्रतिपक्षको काखमा सुत्ने, कहिले विज्ञापनदाताहरूको काखमा निदाउने त कहिले देशी–विदेशी डोनरहरूको गोजीमा आराम गर्ने ।

रवीश कुमारले आफ्नो मुलुक भारतको पत्रकारितालाई ‘गोदी पत्रकारिता’ नामकरण गरेजस्तै नेपाली पत्रकारितालाई ‘काखे पत्रकारिता’ भन्नु अन्यथा हुनेछैन । रवीशका विचारमा ‘गोदी पत्रकारिता’ पत्रकारिता नै होइन, यो त सरकार र शक्तिकेन्द्रको रक्षाका लागि गरिने हतियारबिनाको युद्ध हो, आम नागरिकमाथिको आक्रमण हो । रवीशले आफ्नो मुलुकको पत्रकारिताको अभ्याससँग पूर्णतः असन्तुष्टि देखाए पनि जसरी त्यहाँ काखे पत्रकारिता निरन्तर सक्रिय छ, त्यसै गरी नेपालमा पनि शक्ति केन्द्रहरूको काखमा स्थान पाउन मिडिया जगत् लालायित छ ।

नेपालमा राजनीतिक दलका काखमा जिब्रोभरि ¥याल निकालेर बसेका ‘ल्याप डग’ डरलाग्दो मुद्रामा भेटिन्छन् । उनीहरूलाई देख्दा अरू नडराए पनि शक्तिविहीन सर्वसाधारण नागरिक भने डराउँछन् नै । शक्ति हुनेहरूलाई थाहा छ, मिडियालाई भोजन गराएर काखमा राख्न, तर शक्तिहीन वा स्रोत–साधन नभएका व्यक्तिले कसरी भोजन गराउने !मूलधारको मिडियाका विविध कमजोरीका कारण पत्रकारिताका पाठकहरू सामाजिक मिडियातिर बसाइँ सरेका छन् । समाज सेवाका लागि नभई आर्थिक लाभका लागि पत्रकारिताका नाममा शक्ति र स्रोतका पक्षमा आवाज उठाउने गरेको देखेकै कारण यसप्रति एक प्रकारले आम पाठकको मोहभंग भएको छ ।

आफूलाई लागेको धारणा सामाजिक सञ्जालमा पोख्न पाएकाले पनि पहुँचभन्दा पर बस्न रुचाउने समाचार मिडियाको बेवास्ता हुन थालेको हो । घर–घरमै जुजुधौ बन्न थालेपछि बजारको डेरी पसलसम्म को जाने ! फेरि डेरी पसलको दहीमा मिसावट रहेको पनि प्रमाणित भइसकेको छ, इमान्दारीको अभाव बारम्बार देखिएको छ । पत्रकारिताले आफ्नो सबल पक्ष कायम राख्न व्यावसायिक इमान्दारी लक्ष्य बन्नु आवश्यक छ ।

यस लक्ष्यमा पुग्न उनीहरूलाई राज्यको नीतिगत कमजोरीले रोकेको छ । खासगरी छापा माध्यमका दैनिक र अन्य आवधिक पत्र–पत्रिका तथा प्रसारण माध्यममा राज्यबाट प्रकाशित–प्रसारित हुने विज्ञापनको रकममा ९० प्रतिशतसम्म पुनः फर्केर प्रशासककै हातमा पुग्ने अवस्था छ । त्यसो नगरे पुराना आमसञ्चारका माध्यमले बाँकी १० प्रतिशतबाट पनि वञ्चित हुनुपर्ने अवस्था छ ।

विविध समस्याका बाबजुद नेपाली पुरानो आमसञ्चारले डिजिटल माध्यमसँग सहयात्रा गर्नसके लक्ष्य प्राप्ति सहज हुनेछ । अमेरिकी लेखक जेन चेन सामाजिक सञ्जालको विशेषता बुझियो भने यससँग हातेमालो गरेर कसरी अघि बढ्ने भन्ने बाटो पहिचान गर्न सकिन्छ भन्छिन् । सोसल मिडियामा सन् २०२२ को प्रारम्भदेखि नै सर्वाधिक डाउनलोड गरिएको ‘याप’ टिकटकजस्ता माध्यमबाट पुराना सञ्चारमाध्यमले आफ्ना समाचार बाहिर ल्याउने, आम पाठक–श्रोता–दर्शकलाई मूल स्टोरीमा आउन अभिप्रेरित गर्नुपर्ने अवस्था आएको छ ।

किनभने, टिकटकमा प्रतिमहिना १ अर्ब व्यक्ति सक्रिय रहेको, ६९ प्रतिशत अमेरिकी किशोर–किशोरी यसको प्रयोगमा रहेको, प्रयोगकर्तामध्ये ९० प्रतिशतले हरेक दिन टिकटक लगइन गर्ने गरेको र प्रतिदिन औसत ६८ मिनेट टिकटक चलाउने गरेको उनले पाएकी छन् । यस्तै, ह्यारिस पोलले गरेको अध्ययनले विश्वमा ७३ प्रतिशत व्यवसाय डिजिटल माध्यमबाट हुन थालिसकेको देखाएको छ । नेपालमा यस प्रकारको अध्ययन गर्न बाँकी रहे पनि डिजिटल मिडिया निर्णायक शक्ति बनेको स्वीकार गर्न अब गाह्रो छैन । यस शक्तिलाई जसले चिन्यो, उसले सफलताको श्रीपेच लगायो !

प्रतिक्रिया दिनुहोस्