प्रकाशकीय : ३८ वर्ष पूरा गर्दा….



कामना न्युज पब्लिकेसन्स प्रालिले ३८ वर्ष पूरा गर्दा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकले २७ वर्ष पूरा गरेको छ । प्रालिले गत मंसिर १५ गते ३९औं वार्षिकोत्सव मनाएको छ भने आज पुस २७ का दिन नेपाल समाचारपत्रले २८औं वार्षिकोत्सव मनाउँदैछ ।

दलविहीन पञ्चायत कालमा स्थापित प्रकाशन गृहले राजाको प्रत्यक्ष शासन र बहुदल काल हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको परिवर्तन अनुभूत गरिसकेको छ । झण्डै चार दशक लामो यात्रामा हामीले देखेको र भोगेको सत्य एउटै छ– राजनीतिमा होस् वा पत्रकारितामा, जनता वा पाठकहरू प्रसन्न नभएसम्म कुनै सफलता हासिल हुनसक्तैन । जनताको आवश्यकता बुझेर नीति बनाउन सकियो वा राज्यका तीन अंगहरू सन्तुलित रूपमा जनताप्रति समर्पित भएभने रानीतिक व्यवस्थाको प्रशंसा भयो, त्यसै गरी पाठकहरूको चित्त बुझाउन सकियो भने पत्रकारिता सफल भयो ।

कामना न्युज पब्लिकेसन्सले यसका संस्थापक स्व. पुष्करलाल श्रेष्ठबाट जनचाहनाप्रति समर्पित हुने मार्गनिर्देश प्राप्त गरेको छ । त्यसैले ‘आवाजविहीनहरूको आवाज’ बनेर पत्रकारिता गर्दा संस्थाका चारै प्रकाशनहरू– कामना मासिक, साधना मासिक, नेपाल समाचारपत्र दैनिक र न्युज अफ नेपाल डट कम अनलाइन न्युज पोर्टलले जनचाहना बुझेर सेवाभावका साथ कलम चलाउने गरेका छन् ।

प्रकाशन गृहको वार्षिकोत्सवलाई पनि जनचाहनाअनुरूप किन नमनाउने भन्ने सोचअनुसार नेपाल समाचारपत्रको २८औं वार्षिकोत्सव स्वास्थ्य शिविर खडागरी हजारभन्दा बढी आमनागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गरेर मनाइएको छ । शिक्षा र स्वास्थ्यलाई नेपालको संविधान, २०७२ ले उच्च महत्व दिएको र यी दुई क्षेत्रलाई निःशुल्क रूपमा आम जनताको पहुँचमा पु¥याउन सकियो भने मात्र मुलुक समाजवादउन्मुख हुने मार्गनिर्देश गरेको छ ।

संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गर्दै प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ । प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ भन्दै उपचारमा पहुँच पनि हुनुपर्ने उल्लेख गरिएको छ । स्वच्छ खानेपानी तथा सरसफाइको पहुँचलाई पनि संविधानले सुनिश्चित गरेको छ । यसरी हेर्दा, संविधानले सुनिश्चित गरेअनुसार व्यवहारमा आमनागरिकले सुविधा पाएको भने देखिन्न ।

राज्यको स्रोत–साधन हेरेर मात्र सरकारले जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने भएका कारण सक्षम नागरिकले पनि आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नु आवश्यक हुने हाम्रो ठहर छ । शिक्षा क्षेत्रका सम्बन्धमा पनि सम्पूर्ण रूपमा सरकारमा निर्भर भएर मात्र संवैधानिक प्रावधान पूरा हुने सम्भावना देखिन्न । संविधानले शिक्षासम्बन्धी हकको व्यवस्था गर्दै प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँँचको हक हुनेछ भनेको छ ।

प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने व्यवस्था धारा ३१ ले गरेको छ । अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुने र भिन्न क्षमताका व्यक्ति वा अपांगता भएका व्यक्तिलाई कानुनबमोजिम निःशुल्क शिक्षा पाउने व्यवस्थासमेत गरिएको छ । मातृभाषामा शिक्षा पाउनेजस्ता हकको समेत व्यवस्था गरेर संविधानले समावेशिताको कार्यान्वयन गराउने प्रयास गरेको छ ।

नेपाल समाचारपत्रको २८औं वार्षिकोत्सव कामना प्रकाश परिसरमै रहेको रोलिङ स्टोन्स नामक माध्यमिक विद्यालयसँग मिलेर स्वास्थ्य शिविरको आयोजना गर्दै मनाइयो । विद्यार्थी र अभिभावकले त निःशुल्क स्वास्थ्य जाँच गराए नै, छरछिमेकी र टोलवासी मात्र पनि होइन, टाढा–टाढाका नागरिकहरू पनि कामना प्रकाशनको कार्यालयसम्म आएर अवसरको लाभ लिए ।

विगतमा खेलकुद र मनोरञ्जनका क्षेत्रमा पनि यस प्रकारका समाजसेवी कार्य गर्दै आएको यस कामना परिवारले पछिल्लो समय शिक्षा र स्वास्थ्य क्षेत्रमा आफूलाई उत्तिकै सक्रिय गराएको छ । यस विधिबाट वार्षिकोत्सव मनाउँदा नै श्रद्धेय पाठकबाट बढी आशीर्वाद प्राप्त हुने विश्वास हामीले लिएका छौं । आगामी दिनमा यहाँहरूबाट अझ बढी माया पाउने विश्वासका साथ ।
………………..
दिरेकलाल श्रेष्ठ
सीईओ तथा प्रबन्ध सम्पादक

प्रतिक्रिया दिनुहोस्