पूर्वी–एशियाका भावी चिकित्सक नेपालमा



काठमाडौं ।

पर्वतीय क्षेत्र तथा दुर्गम क्षेत्रको उपचारका विषयमा पाँच दिन लामो विचार–विमर्श गर्न पूर्वी–एशियाका मेडिकल विद्यार्थी आगामी माघ १३ गतेदेखि १७ गतेसम्म नेपालमा भेला हुँदैछन् ।

‘इस्ट–एशिया मेडिकल स्टुडेन्ट्स कन्फरेन्स’ नाम दिइएको यो कार्यक्रम एशियन मेडिकल स्टुडेन्ट एशोसिएसन– इन्टरनेसनल (एएमएसए) ले हरेक वर्ष गर्ने दुई अन्तर्राष्ट्रिय कार्यक्रममध्ये एक हो । महाराजगञ्ज, काठमाडौंस्थित मेडिकल कलेजकी छात्रा स्नेहा दवाडीले जानकारी गराएअनुसार करिब दुई सय विदेशी मिडिकल विद्यार्थीले यस कार्यक्रममा सहभागी हुन फाराम भरी नाम दर्ता गरिसकेका छन् ।

शोधपत्र, पोष्टर तथा फोटोग्राफीका माध्यमबाट समेत शैक्षिक प्रतियोगिता हुने सो सम्मेलनमा सांस्कृतिक कार्यक्रम, उपत्यका अवलोकनका साथै थुप्रै गतिविधि रहेको पनि भावी चिकित्सक दवाडीले बताउनुभयो । कार्यक्रम काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुनेछ ।

सम्मेलनमा महारजगञ्जस्थित चिकित्सा क्याम्पसका एमबिबिएसमा अध्ययनरत विद्यार्थीले नेपालको प्रतिनिधित्व गर्नेछन् । कार्यक्रमको आयोजना गर्न ३० राष्ट्रले चाहना राखेकोमा यस वर्ष अरुलाई पछि पार्दै नेपालले अवसर पाएको पनि एमबिबिएसका छात्रा दवाडीले जानकारी दिनुभयो, ‘यो अवसर नेपालको लागि दोस्रो हो, सन् २०१८ मा पहिलो पटक नेपालले यस्तो कार्यक्रम गरिसकेको छ ।’ करिब पाँच वर्षपछि यस्तो ठूलो कार्यक्रम नेपालमा फेरि गर्न पाउँदा बिद्यार्थी साथै सम्पूर्ण क्याम्पस प्रशासन पनि उत्साहित रहेको उहाँको भनाइ छ ।

सम्मेलन सफल पार्न आरम्भ विक्रम अधिकारीको अध्यक्षतामा ४१ जना मेडिकल विद्यार्थीको संयोजन समिति गठन भएको छ । यसैबीच, यही पुस २४ गते प्रधानमन्त्री पुष्पकमल दाहालले पनि कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न शुभकामना दिनुभएको बताइएको छ । ‘यस्ता कार्यक्रम सञ्चालन गर्नपाउँदा देशको पर्यटनलाई समेत टेवा पुग्ने र विद्यार्थीले आफ्नो नेतृत्व शैलीको पनि विकास गर्ने’ अध्यक्ष अधिकारीको विश्वास छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्