चीनको हेनान प्रान्तमा ९० प्रतिशत कोभिड संक्रमित



बेइजिङ।

पछिल्लो समय चीनको तेस्रो ठूलो जनसंख्या भएको हेनान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । प्रान्तका ९० प्रतिशतभन्दा बढी जनसंख्या कोभिडबाट संक्रमित भएका स्वास्थ्य अधिकारीले बताएका छन् ।

९९ दशमलब ४ मिलियन जनसंख्या भएको उक्त प्रान्तका ८८ दशमलब ५ मिलियन मानिस संक्रमित भएका प्रान्तीय अधिकारी कान क्वाचेङले एक पत्रकार सम्मेलनमा जानकारी दिए ।  तर, कोभिड संक्रमण कहिले फैलिएको थियो भन्ने बारेमा उनले केही बताएनन् । तर सरकारले तीन साताअघि कोभिडसम्बन्धी सम्पूर्ण प्रतिबन्ध हटाएकोले संक्रमणका घटनामा पनि त्यस यता वृद्धि भएको अनुमान गरिएको छ ।

प्रान्तका ज्वरो क्लिनिकहरुमा उपचार गर्न जाने विरामीको चाप १९ डिसेम्बरमा उच्च रहेको पनि ती अधिकारीले बताए । ‘त्यसपछि संक्रमण निरन्तर गिरावटमा आएको छ ।’

जनवरी ८ सम्म चीनमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ हजार २७२ पुगेको छ, जुन संक्रमणबाट मृत्यु हुने दर सबैभन्दा न्युन दर हो । चीनले सार्वजनिक गरेको तथ्यांकप्रति डब्लूएचओ र अन्य देशहरुले शंका व्यक्त गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्