देशको दक्ष जनशक्ति कसरी र किन विदेश पलायन हुन्छ ?



पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै हुन् वा नहुने हुन्, सबै विदेश नै जान चाहन्छन् । बच्चा होस् या बूढो, सबैको जिब्रोमा छ विदेश । सर्वसाधारणदेखि व्यापारी, सरकारी कर्मचारीदेखि राजनीतिक दलका नेताहरुले सम्म आफ्ना छोराछोरी विदेश नै पठाउँछन् ।

विदेश गएपछि सुखैसुख हुन्छ भनी मानिसहरु ऋणधन गरेर भए पनि विदेश नै जान चाहन्छन् । सानोतिनो व्यापार व्यवसाय गरेर नेपालमै बस्छु, नेपालको विकास गर्छु, सरकारलाई कर तिर्छु भन्ने भावना कसैमा पनि छैन । व्यापार गरेमा लगानी डुब्छ वा फाइदा हुँदैन भनेर त्यही पैसा विदेश जान लगानी गरिन्छ । यतिमात्र नभई विदेश गएपछि पनि आफ्नो पुख्र्यौली सम्पत्ति यहाँबाट बेचेर लगिन्छ । अब भन्नुस्, के यो राम्रो काम हो ?

आमाबुबाहरु यता भ्रष्टाचार गरेर वा ऋणधन गरेर छोराछोरी विदेश पठाउँछन् तर मर्ने बेलामा तिनै छोराछोरी पानी दिने समयमा पनि हुँदैनन् । पहिला छोराछोरी पठाउने समयमा खुशीसाथ पठाउँछन् र मेरा छोराले यो ग¥यो, तेरो छोरीले त्यो ग¥यो भन्छन् तर मरेपछि काजक्रिया गर्नेसमेत कोही हुँदैनन् ।अहिले त आफ्ना छोराछोरी विदेश पठाउनेमा सबैभन्दा बढी भ्रष्टाचारी व्यक्तिहरु नै छन् । यहाँ बसी राज्यलाई कर छलेर वा भ्रष्टाचार गरेर पैसा कमाउँछन् र त्यो पैसाले छोराछोरीलाई उता विदेशमा घर किन्न लगाउँछन् अनि छोराछोरीको कमाइले घर किनेको दाबी गर्छन् । यसले गर्दा देशको मुद्रासँगसँगै दक्ष जनशक्ति पनि बाहिरिरहेका छन् ।

अहिले राहदानी विभागमा जल्दाबल्दा युवाहरु अमेरिका, अस्ट्रेलिया जानको लागि लाइन लागिरहेका छन् । सरकार पनि नेपाली जनतालाई देशमै रोजगारी दिन नसके पनि पैसा लिएर नागरिकता र राहदानी दिन सक्छ । तर यता मधेसमा आमाबुबा नेपाली भए पनि ७ लाख नेपाली मानिसहरु नेपाली नागरिकताबाट वञ्चित भइरहेका छन् । यो ७ लाख नेपालीको सरकार को हो भनेर अब राष्ट्रपतिले जवाफ दिनुपर्छ ।

खाडी मुलुकमा गएकाहरुले त त्यहाँ मेहनत गरेर पैसा पनि पठाउँछन् र पछि नेपाल पनि फर्किन्छन् । तर अमेरिका, अस्ट्रेलियामा पढ्ने नाममा जाने मानिसहरुले नेपालको अर्थतन्त्र नै धराशायी बनाइरहेका छन् । उनीहरु आफू त गई नै रहेका छन् तर यहाँ भएको पैसा पनि लगिरहेका छन् । आफ्नो स्वार्थका लागि यिनीहरुले आफू जन्मिएको देशमाथि नै खेलबाड गरिरहेका छन् ।

हामी नेपालीहरु नेपालमै जन्मिछौँ, नेपालकै भूमिमा बोल्नदेखि हिँड्न सिक्छौँ र १२ कक्षासम्म यहीँ पढ्छौँ तर १२ पास गर्नेबित्तिकै आफ्नो देशमाथि दाग लगाउँदै विदेश दौडिन्छौँ । त्यस्तै, यता आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाउने आमाबुबाहरु पनि अरुले तपाईँ नभने पनि आफैँ मपाईं भएर हिँड्छन् । उनीहरु यसले गर्दा देश र देशको अर्थतन्त्रमा कस्तो असर परिरहेको छ भनेर सोच्दैनन् ।

कन्सलटेन्सीले आफ्नो फाइदाका लागि नेपाली विद्यार्थीहरुलाई खसीबोकाझैँ बेच्दा सरकार के हेरिरहेको छ । जनसंख्याको आधारमा नेपालबाट विदेश गएका मानिसहरुले बर्सेनि १८ अर्बभन्दा बढी रकम नेपाल पठाउनुपर्छ तर यहाँ त १० अर्ब पनि आउन धौधौ छ ।

जो मान्छेले नेपालमा बसेर भ्रष्टाचार गरी वा अन्य काम गरेर कालो धन कमाएको छ त्यो मानिसले आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाएर कालो धनलाई पनि सेतो धन बनाउँछ । त्यसैले पनि पछिल्लो समय नेपालमा भ्रष्टाचार गर्नेको र राजस्व छल्नेको संख्या बढिरहेको छ । नेपालबाट हुन्डीमार्फत बर्सेनि कति रकम विदेश पठाइन्छ भनेर नेपाल सरकारलाई थाहा छैन । यहाँ पछिल्लो समय व्यापार व्यवसाय गर्नेहरुले वित्तीय संस्थाबाट ऋण लिने र डुब्यो भनेर त्यो रकम विदेशमा लगानी गर्ने गरिरहेका छन् ।

साथै, आफू अमेरिका, अस्ट्रेलिया पुगेपछि उनीहरु आफू त फर्केर आउँदैनन् तर यहाँ भएको पुख्र्यौली सम्पत्ति पनि बेचेर लैजान्छन् । नेपाली नागरिकता त्यागेपछि नेपालमा भएको सम्पत्ति भने त्याग्दैनन् ।यसरी अन्य मुलुकहरुले देशको अर्थतन्त्रलाई कंगाल पनि बनाइदिए र दक्ष जनशक्ति पनि लगे । नेपालीहरु नेपालमा सानोतिनो व्यवसाय गर्न वा रोजगार गर्न लाज मान्छन् तर अरुको देशमा गएर चर्पी सफा गर्नेदेखि भाँडा धुनेसम्म काम गर्छन् ।

यता आफ्ना छोराछोरी पढ्ने नाममा अमेरिका, अस्ट्रेलिया पठाउँदा आमाबुबाहरु खुशीका साथ पठाउँछन्, उमेर हुन्जेल आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलियामा छन् भनेर धाक लगाउँछन् तर मर्ने बेलामा सयपटक बोलाउँदा पनि छोराछोरी आउँदैनन् ।
यतिसम्म कि बुढेसकालमा सहारा दिने र मरेपछि दागबत्ती दिने पनि कोही हुँदैन । सरकारले पछिल्लो समय कुनै छोराछोरीले आफ्नो जन्म दिने आमाबुबालाई पालेन भने बुढेसकालमा नपालमा वडा वा नगरद्वारा त्यस्ता आमाबुबाहरु पालिने र उसको नाममा भएको सम्पत्ति पनि सबै सरकारकै नाममा हुने भनेर कानुन बनायो । तर अमेरिका, अस्ट्रेलियामा भएका अभिभावकहरुले न बाँच्नुन्जेल राम्रो पालनपोषण पाउँछन्, न मरेपछि दागबत्ती ।

तर यता अभिभावक मरेपछि आमाबुबाको नाममा भएको चलअचल सम्पत्ति भने लिएर छोराछोरी जान्छन् ।त्यसैले, अब सरकारद्वारा नयाँ कानुन निर्माण गरिनुपर्छ । अमेरिका, अस्ट्रेलिया गएका मान्छेलाई वा नेपालको नागरिकता त्यागेर अन्य मुलुकको नागरिकता लिइसकेका मान्छेलाई आमाबुबा मरेपछि नेपालमा भएको सम्पत्ति बेचेर लग्न नपाइने वा उसको अंश पनि बेचेर लैजान नपाउने नियम हुनुपर्छ । साथै, त्यो सम्पत्ति सरकारको नाममा जाने व्यवस्था मिलाइनुपर्छ ।

यो कानुन सरकारले बनाउन ढिलो भइसकेको छ । यस कानुनले मानिसहरु अमेरिका, अस्ट्रेलिया गएपछि पुख्र्यौली सम्पत्तिको लोभमा नेपाल नै फर्किन्छन् । यदि सरकारले छिटोभन्दा छिटो यो कानुन निर्माण नगरे देशलाई ठूलो क्षति पुग्छ ।अन्य मुलुकले हाम्रो देशको पैसासँगसँगै दक्ष जनशक्ति पनि लगे । जसले गर्दा देशको विकास र अर्थतन्त्रमा ठूलो संकट निम्तिइरहेको छ । तर सरकार यसप्रति ध्यान दिँदैन । देशको अर्थतन्त्र श्रीलंका भइसकेको छ, वित्तीय संस्थाहरु डुबिसके, बजारमा मन्दी छाइसक्यो र घरजग्गा, गाडी र शेयरको किनबेचमा गिरावट आइसक्यो ।

नेपाल सरकार दिनप्रतिदिन विदेशीको ऋणमा फस्दै गइरहेको छ र विदेशीसँग लिएको ऋण सरकारले तिर्न नसक्दा अब नेपाल कुन देशले लैजान्छ भनेर जनतामा बहस चलिसकेको छ । एक नेपालीको टाउकोमा विदेशी ऋण ७९ हजार पुगिसकेको छ तर सरकारले यो ऋणको सावाँ–ब्याज पनि तिर्न सकिरहेको छैन ।अहिले पनि नेपाली अभिभावकहरुले आफ्ना छोराछोरीहरु अमेरिका, अस्ट्रेलिया पठाउनका लागि शुरुमै २० देखि २५ लाख खर्च गरिरहेका छन् । यसबाट त सरकार कंगाल भएको, वित्तीय संस्था डुबेको र व्यक्ति धनी भएको स्पष्ट बुझिन्छ । अब यो पैसा मानिसहरुले कहाँबाट जोडे त ? यसको खोजी गर्ने काम सरकारको होइन र ?

यहाँ त सबै व्यवसाय गर्नेहरु राज्यलाई कर नतिरी सामान महँगोमा बेच्ने र सरकारी कर्मचारीहरु भ्रष्टाचार गर्ने काम भइरहेको छ । साथै, सरकारी कर्मचारीहरुले पनि काम नगरी भ्रष्टाचार मात्र गर्ने गरेको देखिन्छ । वित्तीय संस्थाका सञ्चालक, अध्यक्षहरु घूस खाएर घरजग्गा, गाडी र शेयरमा लगानी गर्ने अनि जनताको रकम डुबाउने र आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाउने गर्छन् । यहाँ घूस खाएर कमाएको पैसाले त्यहाँ घरजग्गा किन्ने गर्छन् । तर सरकारले यो कुरा कहिले बुझ्ने ? के नेपालको शिक्षा त्यत्तिकै कमजोर भएको हो र सबै विद्यार्थी पढ्नका लागि विदेश गएका हुन् त ? नेपालमा निजी कलेजदेखि सरकारी कलेज प्रशस्तै छन् । तर यिनीहरुले नेपालको शिक्षामाथि नै हिलो छ्यापिरहेका छन् । यसरी यिनीहरुले नेपालको पूँजी पनि बाहिर लैजान्छन् र नेपालमाथि पनि घृणा गर्छन् ।

प्रतिक्रिया दिनुहोस्