त्रिवि र परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारण पुनःपरीक्षा



भद्रपुर ।

त्रिभुवन विश्व विद्यालय र परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारण विद्यार्थीले पुनः परीक्षा  दिनु परेको छ ।  झापाको दमक बहुमुखी क्याम्पसमा २ सय १४ जना विद्यार्थीले गत वर्ष नै विश्व विद्यालयले बिबिएस चौथो वर्षको परीक्षा दिएका थिए । तर, विद्यार्थीको उत्तर पुस्तिका नै गायब भएपछि बाध्य भएर आइतबार केही विद्यार्थीले मात्र पुनः परीक्षा दिनु परेको हो । पुनः परीक्षा दिनु परेपछि  उनीहरूमा अन्यौलता छाएको छ ।

यस्तो लापरबाहीका कारण विद्यार्थीको भविष्य नै अन्यौेल भएको उनीहरुले गुनासो गरेका छन् ।  परीक्षा सकिएको एक वर्षमा नतिजा प्रकाशन गर्नुको सट्टा क्याम्पसले पुनः परीक्षा लिएको विद्यार्थीको गुनासो छ  । नतिजा प्रकाशन गर्ने यो समयमा अहिले आएर परीक्षा नियन्त्रण कार्यालयले उत्तर पुस्तीका नै हराएको भनेर पुनः परीक्षा लिएको  सुजता भण्डारीले बताउनु भयो । एक वर्ष लगातार मेहनत गरेर परीक्षा दिएका विद्यार्थीहरु नतिजा पर्खेर बसेको समयमा एका एक पुनः परीक्षा दिनु परेपछि भविष्य नै अन्योल भएको उहाँले बताउँनुभयोे ।

दमक बहुमुखी क्याम्पस अहिले बिदा छ । तर, पुस २४ गते आइतबार भने प्रवेश पत्र बोक्दै केही विद्यार्थीहरु परीक्षा दिन भन्दै क्याम्पस आउनु परेको पीँढा उहाँले सुनाउँनुभयोे  । यो समय कुनै परीक्षा हुने तालिकाको समय पनि हैन । क्याम्पसले ३ दिन अघि सूचना निकालेर परीक्षाको तालिका सार्वजनिक गरेकोमा आपत्ति जनाउनुभयो ।  गत वर्ष पुस २७ गते क्याम्पसका २ सय १४ जना विद्यार्थीले बिबिएस चौथो वर्षको बिजनेस रिसर्च विषयको परीक्षा दिएका थिए । तर, ती विद्यार्थीहरुको उत्तर पुस्तिका अहिले परीक्षा नियन्त्रण कार्यालयमा छैन । विद्यार्थीको उत्तर पुस्तिका नै गायब भएपछि बाध्य भएर विद्यार्थी पुनः परीक्षा दिन भन्दै क्याम्पस आएका थिए ।

गत वर्ष नै परीक्षा दिएर आफ्नो भविष्यको खोजी गर्दै  विद्यार्थी विभिन्न ठाउँ पुगी सकेका थिए । कोही त अझ वैदेशिक रोजगार वा विदेश अध्ययनकालागि पनि गाइसेका छन् । अघिल्लो वर्ष एक वर्ष तयारी गरेर विद्यार्थीहरुले परीक्षा दिएका थिए । तर, अहिले तीन दिन अघि पुनः परीक्षा दिनु पर्‍यो भन्दै क्याम्पसबाट एस एम एस आएपछि विभिन्न ठाउँमा छरिएका विद्यार्थी बाध्य भएर पुनः आउनु  परेको आशिष घिमिरेले बताउनु भयो  । तीन दिन तयारी गर्ने समय समेत कम भएकोले परीक्षा पहिलाको जस्तो नहुने र यस्तो गतिविधिले गर्दा आफूहरूको भविष्य नै अन्योल पो हुने हो कि भन्ने चिन्ता विद्यार्थीमा बढ्न थालेको उहाँले बताउनुभयो  । यो गतिविधि खेदजनक भएको उहाँको आरोप छ  ।

उत्तर पुस्तिका जस्तो संवेदनशील विषयमा त्रिभुवन विश्व विद्यालय तथा परीक्षा नियन्त्रण कार्यालयको हदै सम्मको लापरबाही भएकोले आरोप लगाउनुभयो । यसको छानबिन गरी कारबाही हुनुपर्ने विद्यार्थीहरुको माग छ । सो विषयलाई लिएर नेविसघं र अनेरास्ववियूले आइतबार क्याम्पसमा विरोध कार्यक्रम समेत गरेका थिए ।

अघिल्लो वर्ष देशभर एकै साथ सञ्चालन भएको परीक्षा र यसमा कुनै एउटा मात्रै क्याम्पसको सबै उत्तर पुस्तिका गायब हुनुमा शङ्का देखिएको विद्यार्थीहरुको भनाइ छ ।
दमक बहुमुखी क्याम्पसको प्रशासनले त्रिभुवन विश्व विद्यालयले उत्तर पुस्तिका काट्न लगेका प्राध्यापक दुर्घटनामा परेको र ती प्राध्यापक अहिले पनि अस्पतालमै भएकोले पुनः परीक्षा गराउनु पर्ने बाध्यता परेको क्याम्पस प्रमुख प्राध्यापक डाक्टर नेत्र बुढाथोकीले बताउनुभयो । प्राध्यापकले बोकेको सामान समेत नभेटिएका कारण पुनः परीक्षा गराउन पाउने प्रावधानलाई आधार बनाएर परीक्षा लिइएको जवाफ त्रिविबाट आएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्