काभ्रेपलाञ्चोक जिल्लामा रगत अभाव 

एकैदिन ६० जनाले गरे रक्तदान



काभ्रे।

प्रमुख दुई राजमार्ग, दुई ठुला अस्पताल तथा निजी अस्पतालहरु, डेँगु तथा अन्य विभिन्न रोगको महामारीका कारण आवश्यक पर्ने रगत अभाव हुन थालेपछि नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको अगुवाइमा विभिन्न संघ संस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गर्न थालेका छन् । पनौतीमा नवदुर्गा साकोसले आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् ।

अरनिको र विपी राजमार्गका कारण धुलिखेल सामुदायिक अस्पताल तथा बनेपाको शिर मेमोरियल र अन्य दर्जनौँ निजी अस्पतालमा उपचार गराउन आउने बिरामीहरूको संख्या दैनिक थपिँदै गएको छ । धुलिखेल अस्पतालमा मात्रै ५ सय भन्दा धेरै बिरामी दैनिक उपचार गराइरहेका छन् । नियमित परीक्षणका लागि करिब २ हजार बिरामीहरु अस्पताल आउने गरेका छन् ।

सडक दुर्घटना तथा अन्य विविध कारण विरामीहरुलाई चाहिने रगत अभाव हुन थालेको केही महिना भइसकेको रक्तदाताहरुले बताउन थालेका छन् । रक्तदान गर्ने क्रम पनि घट्दै गएको छ । निजी अस्पतालहरुले रक्तदान गर्ने व्यक्तिहरूलाई रकम पनि दिन थालेका छन् । उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा राजधानीका विभिन्न अस्पतालका बिरामीहरूका लागि पनि रगत माग हुँदै आएको छ । जिल्लामै रगत अभाव हुन थालेपछि सरोकारवालाहरुले रक्तदान कार्यक्रमलाई तीव्रता दिने बताएका छन् ।

‘ब्लड बैक रहेको काभ्रेपलाञ्चोक जिल्लामा केही दिन कुनै पनि प्रकारको रगत भएन’–रेडक्रस काभ्रेका सभापति रघुनाथ हुमागाईँले भन्नुभयो–‘ब्लड बैकमा पाँच प्रकारका रगत उत्पादन गर्ने मेशिन र जनशक्ति छ तर रगत दान भएर आउने क्रम घट्दो छ ।’

रेडक्रस काभ्रे शाखालाई डेनिस रेडक्रसको सहयोगमा होल्ड ब्लड, प्याकसिएल, पिआरपी, एफएफपी र प्लेटेट कन्ट्रयासन रगत तयार गर्ने गरेको छ । पिआरपी र प्लेटेट कन्ट्रयासन रगतको आयु ५ दिन मात्रै हुन्छ । तयार गरेर पनि आवश्यक भए भने खेर जाने भएकाले ब्लड बैकले आवश्यकताका आधारमा मात्रै उक्त रगत तयार गर्छ । होल्ड ब्लडबाट नै सबै रगत बनाउने भएकाले आवश्यकताका आधारमा बनाउने गरिएको ब्लड बैक बनेपा शाखाले जानकारी दिएको छ ।

एफएफपी रगतको आयु एक वर्षको हुनेछ । आरविसी रगतको आयु पनि केही समय हुने भएकाले असहज हुँदैन । दुर्लभ समुुहको रगत आवश्यकता पर्दा समेत रक्तदाताहरु फेला पर्न छाडेका छन् । केही रक्तदाताहरु नियमित औषधी सेवन गर्नु पर्ने भए पनि रक्तदान गर्न छाडेको बताउँछन् । रगत अभाव भए पछि रेडक्रस काभ्रेले २९ वटा उपशाखाका प्रतिनिधिहरु र सरोकारवाला निकायहरुसँग पटक पटक अन्तर्क्रिया कार्यक्रम आयोजना गरी रक्तदान कार्यक्रम प्रति सचेतना फैलाउन अनुरोध गरेको छ ।

दाताहरुले भने आफूले दान गरेको रगतलाई आफैले मूल्य तिर्नु पर्ने र आवश्यक भएका समयमा रगत अभाव हुने भएकाले रक्तदानमा चासो नभएको बताउन थालेका छन् । ब्लड बैकका मेशिन नियमित सञ्चालन गर्न, जनशक्तिको व्यवस्थापन गर्न र दान गरिएको रगत राख्नका लागि पनि थोरै रकम लिनु पर्ने बाध्यता भएको जानकारी दिएको छ ।

नवदुर्गामा ६० जनाले गरे रक्तदान 

रगत अभाव भएको खबर पाएपछि नवदुर्गा साकोस पनौती ९ ले संस्थाको २० औँ स्थापना दिवस समेतको अवसर पारी रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी सुन्थान उपशाखाको आयोजना तथा मानेश्वरी संस्कार सुधार समाज र साइनो समाज नेपालको सह आयोजनामा सञ्चालित कार्यक्रममा ६० जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

कार्यक्रममा जिल्लामा सबै भन्दा धेरै पटक रक्तदान गर्ने विदुर खड्कालाई दोसल्ला सहित सम्मान गरिएको थियो । खड्काले १ सय २२ पटक रक्तदान गरिसकेका छन् । त्यसैगरी १ सय २ पटक रक्तदान गर्ने नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखा सभापति रघुनाथ हुमागाईँ, १ सय १ पटक रक्तदान गर्ने नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य नारायण प्रसाद सापकोटालाई पनि सम्मान गरिएको रेडक्रस सोसाइटी सुन्थान उपशाखाका सभापति यज्ञप्रसाद हुमागाईँले जानकारी दिए ।

कार्यक्रममा सहकारीका कानुनी सल्लाहकार रमेशप्रसाद हुमागाईँ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतिराम तिमसिना, संस्थाका सचिव तथा कार्यक्रम संयोजक अकुर प्रसाद सापकोटा, नवदुर्गा साकोसका अध्यक्ष इन्द्र प्रसाद हुमागाईँ, मानेश्वरी संस्कार सुधार समाजका अध्यक्ष हिरालाल आचार्य, साइनो समाजका सल्लाहकार भीम बहादुर खत्री लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक तिमल्सिनाले सञ्चालन गर्नु भएको थियो । शुक्रबार बनेपाको रेडक्रस भवनमा विभिन्न संघ संस्थाले आयोजना गरेको कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्