कामना न्यूज पब्लिकेसन्सको ३९औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने



काठमाडौं । कामना न्यूज पब्लिकेसन्स् प्रालिको ३९औँ र नेपाल समाचारपत्र दैनिकको २८औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

कामना न्यूज पब्लिकेसन्स् प्रालिको आयोजना, द रोलिङ स्टोन्स्, नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाको सह–आयोजना र काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन हुने भएको हो ।

‘नियमित स्वास्थ्य परीक्षण गरौँ, निरोगी र स्वस्थ जीवन बाँचौँ’ भन्ने मूल नाराका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । शिविर यहीँ पुष २६ गते मंगलबार सञ्चालन हुने छ ।

विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क बृहत् स्वास्थ्य शिविरको आयोजना गरिएकोले शिविरमा सहभागी भई आफ्नो स्वास्थ्य परीक्षण गराउनु हुन सम्पूर्ण टोलवासीहरूमा आग्रह गरेको कामना न्यूज पब्लिकेसन्स् प्रालिले जनाएको छ ।

शिविर रोलिङ स्टोन्स् स्कुल प्राङ्गनमा, कामना प्लाजा, भीमसेनस्थानमा हुनेछ । २६ गते मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उक्त शिविर सञ्चालन हुनेछ । शिविरमा सहभागी हुन इच्छुकले २६ गते दिउँसो २ बजेभित्र नाम दर्ता गराउन समेत आग्रह गरेको छ ।

शिविरमा नाक, कान, घाँटी, आँखा, दाँत, छाला, हाडजोर्नी, नसा, बालरोग, स्त्रीरोग, जनरल फिजिसियन, साधारण शल्यक्रिया र चिकित्सकको परामर्शअनुसार ल्याब सेवा पनि उपलब्ध गराइने द रोलिङ स्टोन्स् स्कुलले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्