सभामुखको लाइनमा एमाले नेताहरू



काठमाडौं । 

सत्ता गठबन्धनको भागबण्डाअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भागमा परेको सभामुख पदका लागि एमाले पार्टीभित्र लामो लाइन लागेको छ । शुरूमा मन्त्रीको दाबी गरेका एमाले नेताहरू उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लिएपछि एकाएक पछि हटेर सभामुख ताक्न थालेका हुन् ।

पार्टीले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्री बनाएपछि एमालेमा पटक–पटक मन्त्री भइसकेका नेताहरू सरकारमा सहभागी हुन अनिच्छुक देखिएका हुन् । सरकारको चौथो वरीयतामा भर्खर राजनीतिमा आएका रविलाई राखेपछि वरीयताक्रम अनुसार तल पर्ने पीरले पुराना नेताहरू मन्त्री हुन छाडेर सभामुखको पद ताक्न थालेका हुन् । एमालेका नेता विशाल भट्टराइले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि आफ्नो भागमा परेका पदहरूका सन्दर्भमा पार्टीले निर्णय गर्ने छ,’ उहाँले भन्नुभयो– ‘धेरै साथीहरू मन्त्री भएर जाने सोचमा हुनुहुन्थ्यो । अहिले उहाँहरू सरकारमा जुनियर व्यक्ति उपप्रधानमन्त्री भइसकेपछि व्यापक हुनुभएको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत लिने समय पुस २६ लाई तोकेसँगै एमालेभित्र सभामुख कसले पाउने भन्ने बारेमा अनौपचारिक छलफल शुरू भएको छ । माओवादीसँगको भागबण्डामा एमालेले राष्ट्रपति र सभामुख पाउने भएको छ । राष्ट्रपतिमा अलि वरिष्ठ नेता जानुपर्ने भएकोले एमाले नेताहरूले सभामुखमा आफ्नो भूमिका खोज्न थालेका हुन् । एमालेका वरिष्ठ नेताहरूमध्ये सभामुखमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य रघुजी पन्त र विद्या भट्टराई आकांक्षी रहेका छन् ।

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने संकेत गरेका ओलीले सभामुख र राष्ट्रपतिको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा कुनै पनि नेतासँग छलफल गर्नुभएको छैन । तर, राष्ट्रपतिको टुंगो लगाएपछि मात्र सभामुखको टुंगो लगाउने गरी काम भइरहेको एक नेताले बताए । अहिले सभामुख दाबी गर्ने तीन जना नेताहरू प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् भने एक जना पन्तचाहिँ समानुपातिक तर्फबाट निर्वाचित हुन् ।

एमाले–माओवादीको सहमतिबमोजिम आधाआधा कार्यकाल अर्थात् साढे दुई वर्षका दरले पाँच वर्षमा दुई पार्टीबाट सभामुख बन्ने सहमति भएको भनिए पनि एमालेले सभामुखमा पूरै कार्यकाल दाबी गरिरहेको छ । सभामुख पुरुष भए उपसभामुख महिला हुनुपर्ने व्यवस्था छ भने सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संविधानमा उल्लेख छ । सबै पक्षलाई हेरेर सभामुखको निर्वाचन हुनेछ ।

संसद्को अधिवेशन पुस २५ गते आह्वान भइसकेको छ । पहिलो बैठक ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा हुनेछ । उहाँले सभामुखको निर्वाचन भएपछि मात्र आफ्नो पद छाड्नुहुनेछ । उपसभामुखको निर्वाचन नयाँ सभामुखले गर्नेछन् ।संसद् अधिवेशनमा सबैभन्दा पहिला सरकारले विश्वासको मत लिनेछ ।

सरकारले विश्वासको मत लिइसकेपछि सभामुखको निर्वाचन हुनेछ । तत्काल कायम भएका प्रतिनिधि सभा सदस्य संख्याको बहुमतबाट सभामुख निर्वाचित हुनेछन् । पहिलो प्रस्तावमा बहुमत प्राप्त भएपछि बाँकी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने छैन । एमालेका उपमहासचिव गुरुङलाई पार्टी अध्यक्ष ओलीको विश्वास पात्रका रूपमा हेरिएकाले सभामुखमा उहाँको सम्भावना बलियो रहेको एक नेताले बताए । सभामुख स्पष्ट वक्ता, कानुनको विषयमा जानकारी राख्ने र न्याय दिने विषयमा सकेसम्म विवेक प-याउन सक्ने हुनुपर्छ भन्ने सामान्य नियम भएकाले पनि गुरुङ सो पदका लागि स्वीकार्य हुन सक्ने ती नेताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्