बैङ्किङ नीतिका कारण उद्योगी व्यवसायी मारमा परेको गुनासो, व्यवहारिक बनिदिन आग्रह



बुटवल। 

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शन तथा बैङ्किङ नीतिले उद्योगी व्यवसायीहरु ‘गर या मर’को अवस्थामा पुगेको उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शन–२०७९ तथा बैङ्किङ नीति सम्बन्धमा सोमबार बुटवल उद्योग वाणिज्य संघमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले त्यसका कारण आफूहरुको घरबास मात्रै नभएर जीवन नै जोखिममा परेको बताएका हुन् । उनीहरुले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नियन्त्रणमा राख्न पनि आग्रह गरेका थिए ।

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शन तथा बैङ्किङ नीतिका विरुद्ध आन्दोलनरत यहाँका व्यावसायिक संस्थाहरु बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, रुपन्देही उद्योग संघ, उद्योग व्यापार संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही र नेपाल घरबहादल सरोकार संघले संयुक्तरुपमा बैंकर तथा व्यवसायीहरुका विचमा अन्तरक्रिया कार्यक्रम गरेका थिए ।

अन्तरक्रियामा बोल्ने अधिकांश उद्योगी व्यवसायीहरुले चालु पुँजी कर्जा मार्गदर्शन, तरलता अभाव तथा उच्च विन्दुमा पुगेको व्याजदरका कारण आफूहरु मारमा परेको बताउँदै बैंक तथा वित्तीय संस्थाहरुलाई व्यवहारिक बनिदिन आग्रह गरे । उनीहरुले पुस मसान्त सम्म तिर्नुपर्ने रकमलाई असार मसान्त सम्म म्याद थप गरिदिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक भैरहवाकी निर्देशक रञ्जना पण्डित पौडेलले लगानी योग्य साधनको माग बढी हुँदा ब्याजदर बढ्नु, र त्यसको माग घट्दा ब्याजदर पनि घट्नु स्वभाविक भएको भनाई राख्नुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुले अध्ययन नगरी जथाभाबी लगानी गर्दा समस्या आएको बताउँदै प्रोजेक्ट वेसमा लगानी गर्नुपर्ने भनाई राख्नुभयो ।

त्यस्तैगरी नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका संस्थाहरुसंग छलफल गरेर ल्याएको बताउँदै यसले तत्काललाई केही समस्या देखिए पनि दीर्घकालमा उद्योगी व्यवसायीहरुलाई नै राम्रो हुने भनाई राख्नुभयो ।

त्यस्तै नेपाल बैंकर एसोसिएसन लुम्बिनीका संयोजक नवीन थापाले बैंकले गरेको कर्जा प्रवाह बिजनेसमा भन्दा बाहिर गएकाले अहिलेको समस्या आएको भनाई राख्नुभयो । उहाँले बिजनेसको लागि कर्जा बिजनेसमै लगानी गरेकालाई अहिले पनि त्यति धेरै समस्या नआएको बताउँदै बिजनेसको लागि लिएको पैसा अन्य ठाउँमा लगानी गर्दा समस्या आएको बताउनु भएको हो । उहाँले अव बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्ने बताउनु भयो । उहाँले १/२ महिना भित्रै व्याज घट्न सुरु हुने र वैशाख/जेठ देखि देखिने गरी ब्याजदर घट्ने भनाई राख्नुभयो ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले तरलता अभावले आफूहरुको उद्योग धन्दा नै धारासायी भएका बेला नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शनले उद्योगी व्यवसायीको घाँटी समाउने काम भएको भनाई राख्नुभयो । उहाँले पुस मसान्तसम्म तिर्नु पर्ने रकमलाई असार मसान्तसम्म म्याद थप गरिदिन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्