धरापमा विश्वसम्पदा

यही वर्ष बनाउने विभाग र कामपाको दाबी



काठमाडौं  ।

भूकम्प गएको ७ वर्ष पुग्न लाग्दा पनि वसन्तपुरस्थित संस्कृत विश्वविद्यालय सम्पर्क कार्यालय पुनर्निर्माण गर्ने विषयमा चासो देखिएको छैन । दुई निकायको हानथापका कारण कसले निर्माण गर्ने भन्ने विषयमा समस्या परेको छ ।

पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच समन्वय हुन नसक्दा उक्त भवन जीर्ण अवस्थामा पुगेको छ । टेकोले अडिएको सो भवनमा नवआदर्श विद्यालय, काठमाडौं महानगरपालिका पर्यटन विभागको कार्यालय, पर्यटक प्रहरी कार्यालय, सार्वजनिक शौचालय र संस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालय छन् ।

‘अब पनि पुनर्निर्माण शुरू नगर्दा जुनसुकै बेला ढल्न सक्ने अवस्थामा छ’, पुरातत्व विभाग हनुमानढोका दरबार विकास समितिका प्रमुख सन्दीप खनालले भन्नुभयो– ‘कसले पुनर्निर्माण गर्ने भन्ने विषयमा समस्या भएको कारण सो सम्पदा अलपत्र परेको छ ।’

‘पुरातत्व विभागले सो भवन भत्काएर पुनर्निर्माण गर्न गत आवमा १ करोड रुपियाँ विनियोजन गरेको थियो । बहुवर्षीय योजनाअन्तर्गत निर्माण गर्ने तयारी गरेका थियौं, कामपाले आफ्नो स्वामित्व भएको दाबी गरेपछि अवरोध भयो’ –विभागका प्रवक्ता रामबहादुर कुँवरले भन्नुभयो । ‘गत वर्ष निर्माण हुन नसक्दा सो बजेट त्यतिकै फ्रिज भयो, चालु आवका लागि २ करोड विनियोजन गरेका छौं’ –उहाँको भनाइ थियो ।

कामपा हनुमानढोका दरबार संरक्षण कार्यालयका प्रमुख रोशन शाक्यले कामपाको नीति तथा कार्यक्रममा कामपाको मातहतमा ल्याउने उल्लेख भएकाले अहिले नै पुरातत्वलाई निर्माण गर्न दिने कि नदिने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सो भवनको जग्गा त्रिभुवन विश्वविद्यालयको देखिएको छ । नेपाल संस्कृत विश्वविद्यालयले भोकाधिकार गरिरहेको अवस्थामा के गर्ने भन्ने विषयमा निर्णय गर्न सकेका छैनौं ।’ कामपाको निर्णयको प्रतीक्षामा रहेको जानकारी गराउँदै शाक्यले भन्नुभयो– ‘चाँडै नै समस्याको समाधान हुन्छ होला ।’

विश्वसम्पदा क्षेत्रभित्र वर्षौंदेखि टेकोका भरमा यति ठूलो भवन रहँदा युनेस्कोले धेरै पटक प्रश्न उठाएको छ । तर, यो विषयमा दुई निकायबीच कसले पुनर्निर्माण गर्ने भन्ने विषय जटिल बन्दै गएको छ ।हनुमानढोका दरबारक्षेत्र विकास समिति कार्यालयले कामपालाई पत्र पठाएर पुनर्निर्माण गर्ने विषयमा निर्णय दिन आग्रह गरेको छ । समितिका प्रमुख खनालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अब त अति भयो विभागको स्वामित्वमा ल्याएर पुनर्निर्माण गर्ने तयारीमा छौं ।’

कामपाको हनुमानढोका दरबार संरक्षण कार्यालयले भवन पुनर्निर्माण गर्ने विषयमा प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराइसकेको छ । कामपाले सो भवन जीर्णोद्धार गरी जीवित देवता भैरव र गणेशको घर बनाउने योजना बनाएको छ । सो भवनमा वडा कार्यालय राख्ने योजनासमेत कामपाको छ ।

जग्गा स्वामित्व र दुई निकायबीच कसले भोगाधिकार गर्ने भन्ने विषयको समाधान नभएसम्म तत्काल भवन पुनर्निर्माण हुन सक्ने अवस्था छैन । दैनिक हजारभन्दा बढी पर्यटक आउने सो क्षेत्रमा टेकोको घर हेरेर फर्कनुपर्ने अवस्थामा छ । यस विषयमा विभागका प्रवक्ता कुँवर भन्नुहुन्छ– अब केही दिनमै पुनर्निर्माण गर्ने तयारीमा छौं ।’

प्रतिक्रिया दिनुहोस्