बिचौलियाको चपेटामा सर्वसाधारण



नपढेका, सीधासाधी, इमानदारी र गरिबीको चपेटामा परेका जनता जहिले पनि बिचौलियाबाट ठगिन्छन् । विदेश पठाउने नाममा होस् या अन्य कुनै काम गर्नैका लागि होस्, बिचौलियाहरुले सीधासाधी जनतालाई लुटेका छन् ।

पछिल्लो समय यो क्रम थप बढेको छ । बिचौलियाहरुले कर्जा मिलाइदिने नाममा सर्वसाधारणहरु सोत्तर बनाउने काम गरिरहेका छन् । वित्तीय संस्थाका अध्यक्ष, सञ्चालकसँग आफ्नो राम्रो चिनजान भएको बताउँदै बिचौलियाले घरजग्गाको लालपूर्जा, चार किल्ला, घर, बाटो लिने कार्य भइरहेको छ ।विश्वास दिलाएर कागजपत्र उठाइरहेका छन् ।

दुई करोडको धितो छ भने ८० लाखदेखि एक करोड रुपियाँ निकालिदिने आश्वासन दिन्छन् । त्यो धितो राखेर पैसा निकाल्दिएबापत १५ देखि २० लाख रुपियाँ कमिसन चाहिन्छ भन्छन् । कमिसनमध्ये आधा रकम बैंकको अध्यक्ष, चेयरम्यान वा म्यानेजरहरुलाई दिनुपर्छ भन्ने गर्दछन् । यता, पाँच प्रतिशत बैंकलाई दिनुपर्ने सेवाशुल्क छुट्टै छ । कागजपत्र लिने बेलैमा आधा पैसा अहिले आधा पछि भनेर माग गर्छन् ।

कतिले विश्वास गरेर पैसा र कागजपत्र दिएका पनि छन् । कतिपयले आफूसँग पैसा नभएको र कागजपत्र मिलेपछि त्यहीँबाट लिनुस् भन्छन् । अहिले बजारमा यो क्रम बढेको छ । कर्जा मिलाइदिन्छु भनेर आश्वासन बाँड्दै हिँडेका बिचौलियाहरुको बिगबिगी छ । बैंकको चेयरम्यान, अध्यक्षहरुलाई खाजा खुवाउनुपर्छ भनेर बहाना बनाउँछन् । त्यस्तै, कमिसन पनि कर्जा पास गर्नुअगावै नै दिनुपर्छ भनेर कागजपत्रसँगै पैसाको माग गर्छन् । बैंक फाइनान्सबाट एक महिनामा कर्जा मिलाइदिन्छु भन्छन्, बिचौलिया ।

यता, व्यक्तिबाट कर्जा लिने हो भने एक हप्तामै मिलाइदिन्छु भनेर कागजपत्र र पैसा लिन्छन् । व्यक्तिबाट ब्याज मिलायो भने २४ देखि ३६ प्रतिशत ब्याज तिर्नुपर्छ भन्ने गरिएको छ । बैंकबाट लिएकोचाहिँ १८ देखि २४ प्रतिशत तोकिएको छ । व्यक्तिलाई महिनामहिनामा ब्याज दिनुपर्ने र दुईदेखि तीन वर्षमा निखानी सक्नुपर्ने सर्त राखिएको छ । तीन महिना ब्याज रोक्यो भने जग्गा फिर्ता नगर्ने भनेर मौखिक र लिखित कागज नै गराएका छन्, बिचौलियाहरुले ।

यी दलालीहरुले बैंकमा गएर कागजपत्रमा हस्ताक्षर गरेमात्र हुन्छ । केही भन्न र सोध्नुपर्दैन् भनेर पहिल्यै सम्झाएका हुन्छन् । दलाली र बैंकका कर्मचारीले पहिल्यै नै सेटिङ मिलाएका हुन्छन् । बैंकको कर्मचारीहरु नै कमिसनका लागि सीधासाधी जनता डुबाउने काम गरिरहेका छन् । कमिसनका लागि सर्वसाधारणलाई सुकुम्बासी बनाउन खोजिएको छ । नपढेकाले कर्जाको कागजमा के लेखेको छ भनेर कसरी थाहा पाउने ? पढ्दै नपढीकन कर्जाको फाइलमा हस्ताक्षर गर्न लगाउँछन् ।

धितो र कमिसनका पछाडि दौडिएका बैंकका कर्मचारी र दलालीले जनतालाई सोत्तर बनाउने भए । घर न घाटको बनाउँछन् यिनीहरुले । कर्जा लिने बेलामा मञ्जुरी पत्रमा समेत ल्याप्चे लगाउन र हस्ताक्षर गर्न लगाउँछन् । तीन किस्ता नतिरेपछि मेरो जायजेथो लिलाम गर्दा पनि मेरो मञ्जुरी छ भनेर उक्त पत्रमा लेखिएको हुन्छ । त्यस्तै, भोलि जेथो लिलाम भएपछि म कहीँ पनि उजुरी गर्दिन भनेर पहिले नै सम्झौता गरिसकेका हुन्छन् । दलालीहरुको ठूल्ठूला व्यक्तिसँग चिनजान हुन्छ ।

बैंकका कर्मचारी र अध्यक्षलाई यिनीहरुले चिनिराखेका हुन्छन् । घर आउने, जाने र भेट्ने क्रम त स्वाभाविकै हो । यी कागजात कि दलालीले होटलमा बोलाएर दिन्छन् कि घरमै पुगेर । बैंकका सञ्चालकलाई समेत यिनीहरुले विभिन्न प्रलोभन देखाउँछन् । ‘जग्गा रुमालजस्तो छ, तुरुन्त बिक्री हुन्छ । दुई करोडको धितो छ । एक करोड कर्जा दिँदा पनि केही फरक पर्दैन् । तीन किस्ता नतिरेपछि जग्गा लिलामको प्रक्रिया अघि बढाउनुपर्छ । हामी नै जग्गा बिक्री गरिदिन्छौं । भोलि आएको कमिसन पनि आधाआधा बाडौंला’, दलालीले बैंकका सञ्चालकलाई समेत यही भन्ने गरेका छन् ।

सर्वसाधारणहरु घरजग्गाको कागजात लिएर बैंक पुग्यो भनेर दिँदैनन् । हामीले कर्जा ठप्प पारेको छौं भन्दै फिर्ता पठाउँछन् । यता, दलाली र बैंकका चेयरम्यान मिलेर भित्रभित्र घूस खाएर घरजग्गालाई कर्जा दिइरहने । बैंक, फाइनान्स र दलालीले यसरी सर्वसाधारणलाई फसाउने र लुट्ने काम गरिरहेका छन् । बैंक फाइनान्सले कर्जा नदिएपछि सर्वसाधारणहरु दलालीको हातमा परेका हुन् । दलालीकोमा बाध्य भएर सर्वसाधारणहरु पुगिरहेका छन् । बिचौलियाहरुले कमिसन लिन्छन्, जुनसुकै हालतमा पनि कमिसन मिलाएरै छाड्छन् ।

कुनैलाई जग्गा बेचेर छोराछोरी विदेश पठाउनुपर्ने छ । कुनैलाई छोराछोरीको बिहेदान गर्नुपरेको छ । कसैले बैंकको कर्जा तिर्नुपर्ने छ । जग्गा बेचौं भन्दा किन्ने मान्छे छैन् । बैंक, फाइनान्समा डकुमेन्ट लिएर पुग्यो भने कर्जा ठप्प छ भनेर फिर्ता पठाइदिन्छ । अनि विकल्प के ? जग्गा भोलि बिस्तारै फिर्ता ल्याऊँला भन्ने हुन्छ । तर, विदेश पठाउनुपर्ने छोराछोरी रोक्न मिलेन । बिहेदानको मिति अघिपछि सार्न पनि अप्ठ्यारो छ । यसको फाइदा दलालीले उठाएका छन् ।

सीधासाधी जनताले त दलाली चिनेका हुँदैनन् । तर, बैंकका कर्मचारीहरुले नै दलालीसँग सम्पर्क गराइदिन्छन् । हामीले कर्जा दिन नसक्ने तर अर्को व्यक्तिले दिन सक्छन् भन्दै कर्जा मिलाइदिनेको सम्पर्क नम्बर र नाम दिन्छन् । उक्त नम्बरमा फोन गरेपछि त्यो व्यक्तिले भेटौं भन्छन् । त्यसपछि उसले कति पैसा चाहिएको सोध्छ ? त्यसपछि जायजेथो हेर्छ । त्यसको मूल्य निर्धारण गर्छ । अनि सोध्छ, तपाईलाई बैंकबाट पैसा मिलाइदिऊँ कि व्यक्तिबाट ?
राम्रो घरजग्गा छ, सीधा मान्छे र कमिसन धेरै दिन्छ भने एक सातामै कर्जा मिलाइदिन्छन्, दलाली । बैंक, फाइनान्सका सञ्चालक पर्दाभित्र बसेर सर्वसाधारण लुट्दा पनि सम्बन्धित निकाय मौन छ ।

नेपाल राष्ट्र बैंक, सहकारी विभाग र अर्थ मन्त्रालयले यो विषयमा चासो देखाएको छैन । कुन बैंक, सहकारी र फाइनान्सले कुन क्षेत्रमा लगानी गरेको छ भन्ने विषयबारे सरकार अनभिज्ञ छ । यसको डाटा सरकारसँग छैन ।बैंकमा भएको पैसा त सर्वसाधारण जनताको पैसा हो । जनताले ब्याजका लागि बचत गरेको रकम हो । सर्वसाधारणको बचत सर्वसाधारणलाई नै सीधै कर्जा नदिईकन दलाली र आफूलाई कमाउने बाटो राख्ने । आफू पनि मोटाउने अनि दलालीलाई पनि कमाउने मौका दिने । मर्कामा पर्नेचाँहि जनता । सीधै कर्जा नदिने तर घुमाउरो बाटो हुँदै कर्जा पाइन्छ ।

बजारमा कर्जा मिलाइदिन्छु भनेर पैदल हिँड्नेदेखि निजी गाडीमा हिँड्ने दलालीको छ्याप्छ्याप्ती भएको छ । ठूला होस् कि साना, आखिर दलाली त दलाली नै हुन् ।उनीहरुले आफ्नो ठग्ने पेसा छोड्नेवाला छैनन् । दुःख गर्न पनि नपर्ने यता लगानी पनि नलाग्ने । अहिले पनि कतिपय जनता सीधैं बैंकसँग जोडिएका छैनन् । किनकि उनीहरुले बैंकका सञ्चालक चिनेका छैनन् । जनतासँग धितो त छ तर आम्दानीको स्रोत छैन । आम्दानीको स्रोत नहुँदा उनीहरु कर्जा पाउनबाट वञ्चित भएका हुन् । यता, दलालीको हातमा पुगिरहेका छन् । दलालीहरुले घरजग्गा आफ्नो नाममा पास गर्ने अनि खालि चेक दिने ।

एक करोडको जेथो आफ्नो नाममा पास गरेर लिने अनि ५० लाख रुपियाँ ब्याजमा दिन्छु भन्ने । २० लाख दिने अनि ३० लाखको एक हप्ता वा १५ दिन पछाडिको चेक दिने । पछि बैंकमा जाँदा त्यो चेक साटिँदैन । घरजग्गा त दलालीको नाममा गइसकेको हुन्छ । दलाली मोबाइलको स्विच बन्द गर्ने अनि कुलेलम ठोक्ने । २० लाखमै करोडको जेथो खाइदिन्छन् । यसरी बाठाटाठाले सोझासाझी ठगिरहेका छन् । कतिपयलाई आफ्नो घरजग्गा रोक्का राखेको हो कि पूरै पास गरेको, थाहा हुँदैन ।

कानुनलाई त यिनीहरुले धोती लगाइदिएका छन् । जसले कमिसन दिएर कर्जा लिएका छन्, उसको फोटो पत्रिकामा छाप्छन् । उसलाई नै बेइज्जत गर्छन् । तर, दुई करोडको सम्पत्ति एक करोडमा खाइदिएर वित्तीय संस्थाहरु नै दादागिरी देखाइरहेका छन् । वित्तीय संस्थाले जनतालाई मर्नु न बाच्नु बनाएको छ । यो क्रम बेलैमा सरकारले रोक्न सकेन भने यहाँ धेरै सुकुम्बासी हुन्छन् । करोडपतिहरु रोडपति हुन्छन् । सरकारले सीधै वित्तीय संस्था र जनता जोडिने व्यवस्था मिलाउनुपर्छ ।
– अनुसा थापा 

प्रतिक्रिया दिनुहोस्