फेरि भारतबाट बिजुली किन्न शुरू, दैनिक औसत १७० मेगावाट विद्युत् आयात



काठमाडौं । 
झण्डै सात महिनासम्म भारतमा बिजुली बिक्री गर्दै  आएको नेपाल विद्युत् प्राधिकरणले एक सातादेखि भारतबाट पुनः बिजुली खरिद गर्न थालेको छ । चिसो मौसम बढेसँगै विद्युत्को माग उच्च भएको तथा हिउँ जम्दा नदीमा पानीको बहाब घटेसँगै विद्युत् उत्पादन घटेकाले माग व्यवस्थापन गर्न भारतबाट दैनिक औसत १७० मेगावाट विद्युत् खरिद गर्न थालिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरण स्रोतका अनुसार मंसिर २९ गतेबाट प्राधिकरणले विद्युत् खरिद गर्न शुरू गरेको हो । पहिलो दिन १३८ मेगावाट विद्युत् आयात गरेको प्राधिकरणले पुस १ गते १३४ मेगावाट, पुस २ गते ९६ मेगावाट, पुस ३ गते १२१ दशमलव ५ मेगावाट र पुस ४ गते २३९ दशमलव ५५ मेगावाट बिजुली आयात गरेको छ।जाडोको समयमा नेपालमा विद्युत्को उच्च हुने गरेको छ ।

अहिलेसम्म उच्चतम् माग १५८५ मेगावाट रहेको प्राधिकरणले जनाएको छ । हाल प्राधिकरणका विद्युत् गृह, प्राधिकरण माताहतका विद्युत् गृह र निजी क्षेत्रका विद्युत् गृहबाट गरी १ हजार मेगावाटको हाराहारीमा मात्रै आन्तरिक उत्पादनबाट विद्युत् आपूर्ति भइरहेको छ । अहिले औसत विद्युत्को माग साढे १३ सय मेगावाट रहेकाले अपुग बिजुली भारतबाट खरिद गर्नुपर्ने अवस्था रहेको छ । वर्षात्मा नेपालमा करिब २२ सय मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । अहिले उत्पादन आधा घटेकाले भारतबाट किन्नुपर्ने भएको प्राधिकरणले जनाएको छ ।

आन्तरिक उत्पादनबाट माग धान्न नसक्ने हुँदा करिब ५ महिनासम्म प्राधिकरणले भारतबाट विद्युत् खरिद गरी ‘लोड म्यानेजमेन्ट’ गर्नुपर्ने स्थिति रहेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले अहिले भारतबाट औसत प्रतियुनिट ५ रुपियाँ ६० पैसासम्ममा बिजुली किनिरहेको प्राधिकरणले जनाएको छ । गत वर्ष प्राधिकरणले प्रतियुनिट ३८ रुपियाँसम्म तिरेर भारतबाट बिजुली आयात गरेको थियो । प्राधिरकणले भारतबाट १ वर्षमा करिब साढे २२ अर्ब रुपियाँको विद्युत् आयात गरेको थियो ।

विद्युत् खरिद बिक्रीका लागि २४ घण्टालाई १५-१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार हुने गर्छ । तसर्थ हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले औसत प्रतियुनिट ८ रुपियाँ२२ पैसाको दरमा यसवर्ष ११ अर्ब १६ करोड ३० लाख रुपियाँको १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् भारतलाई बिक्री गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७८÷७९ को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी २ अर्ब ८३ करोड ८८ लाख र चालू आव २०७९-८० को ३ पुससम्ममा १ अर्ब ५ करोड ८६ लाख ३४ हजार युनिट विद्युत निर्यात गरी ८ अर्ब ३२ करोड ४२ लाख ४० हजार रुपियाँ आम्दानी गरेको छ ।

प्रााधिकरणले देशभित्र खपत गरी बाँकी भएको वर्षायामको विद्युत् २०७९ जेठ १९ गतेबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री शुरु गरेको थियो । शुरुमा दुईवटा जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री शुरु गरिएको थियो । त्यसपछि ८ वटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो ।

चिसो बढ्दा काठमाडौं उपत्यकालगायतको विद्युत माग बढेको तर खोलानालामा पानीको बहाब घट्दा नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रबाट उत्पादन कम भएसँगै विद्युत् निर्यात बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले देशभित्रको उत्पादन घट्दा हिउँदयामका करिब चार महिनाको विद्युत् माग धान्न भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गर्नुभयो । घिसिङले वैशाख अन्तिम वा जेठको पहिलो हप्ताबाट फेरि विद्यत् निर्यात शुरु हुने बताउनुभयो ।

अघिल्लो वर्ष भारतबाट एक वर्षमा करिब साढे २२ अर्ब रुपिया“को विद्युत् आयात गरेको प्राधिरकणले सात महिनाको अवधिमा ११ अर्ब १६ करोड ३० लाख रुपियाँको बिजुली भारतलाई बिक्री गरेको थियो । विद्युत्को आन्तरिक माग धान्न नेपालले करिब ५ महिना विद्युत् आयात गर्नुपर्ने स्थिति छ ।

प्रतिक्रिया दिनुहोस्