त्रिवि स्ववियु निर्वाचनका लागि विद्यार्थी संघ-संगठनका केन्द्रीय अध्यक्षहरूको छलफल हुने



काठमाडौं । त्रिभुनव विश्वविद्यालय (त्रिवि)मा विभिन्न राजनीतिक दलका विद्यार्थी संघ–संगठनका केन्द्रीय अध्यक्षहरूको सामूहिक छलफल हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनबारे निर्णय गर्न उनीहरूको सामूहिक छलफल हुने भएको हो ।

हिजो (मंगलबार) त्रिवि विद्यार्थी कल्याण परिषद्ले गरेको निर्णयअनुसार राजनीतिक दलका विद्यार्थी संघ–संगठनका अध्यषहरूको सामूहिक छलफल यहीँ पुष ११ गते सोमबार हुने भएको हो ।

आज (बुधबार) उपकुलपतिको प्रमुख आतिथ्यतामा परिषद्का अध्यक्ष शिक्षाध्यक्षको अध्यक्षतामा उपाध्यक्ष रजिष्ट्रार, संकाय र संस्थानका डीन, कार्यकारी निर्देशक र परीक्षा नियन्त्रक समेतको उपस्थितिमा उक्त विषयमा समझदारी भएको छ ।

आगामी सोमबार विभिन्न राजनीतिक दलका बिद्यार्थी संघ–संगठनका केन्द्रीय अध्यक्ष समेतको उपस्थितिमा स्ववियु निर्वाचन मिति तय गरी विद्यार्थी कल्याण परिषद्मा पेस गर्ने निर्णय भएको छ । हिजोको बैठकमा परिषद्ले त्रिवि कार्यकारी परिषद्मा रिफारिस गर्ने र कार्यकारी परिषद्ले निर्वाचनको मिति घोषणा गर्नेबारे समेत छलफल भएको बताइएको छ ।

स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको भर्ना र स्नातक तेस्रो, चौँथो वर्षको नतिजा प्रकाशन तथा परीक्षा तालिकाहरू सम्बन्धमा समेत छलफल गरिएको विद्यार्थी कल्याण परिषद्ले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्