मुस्ताङमा यस बर्ष आलु बिक्रीबाट भित्रियो ३३ करोड



पर्वत ।
आजकल धेरैका भान्सामा स्वादिलो मानिने मुस्ताङको आलु बिक्रीबाट जिल्लाबासीले एकै बर्षमा ३३ करोड रुपैया भित्र्याएका छन् ।
मुस्ताङबाट यस आर्थिक बर्षमा मात्रै बाट ३३ करोड ६१ लाख रुपैयाँको आलु निर्यात भएको हो । जिल्ला कृषि ज्ञानकेन्द्र मुस्ताङले दिएको जानकारी एक बर्षमा नै ६ हजार ७ सय २२ मेट्रिकटन आलु निर्यात भएको छ ।

चालू आर्थिक वर्षमा ९ हजार ६ सय ३ मेट्रिकटन आलु उत्पादन भएकोमा आन्तरिक खपत बाहेक अन्य आलु निर्यात भएको छ। कुल उत्पादित आलुमध्ये २० प्रतिशत आलु बिउका लागि उपयोग हुन्छ भने १० प्रतिशत जिल्लामै खपत हुने गरेको छ । जिल्लाको पाँचवटै स्थानीय तहको ३ सय १२ हेक्टरमा आलु खेती हुन्छ।

केन्द्रले जिल्लाको पाँचवटै स्थानीय तहसँग समन्वय गरी कृषि ज्ञान केन्द्र मुस्ताङले आलुको क्रप कटिङ गरेको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटील बताउनुभयो । मुस्ताङमा प्रतिहेक्टर क्षेत्रफलमा औसत ३० दशमलव ७८ मेट्रिकटन आलु उत्पादन हुने गरेको छ।

मुस्ताङमा आलु खरिद गर्न जिल्ला बाहिर र स्थानीय व्यापारीले कृषकसँग समन्वय गर्छन्। मुस्ताङमा सडक यातायात सहज भएसँगै आलुको दरभाउसमेत बर्सेनि १० प्रतिशतले वृद्धि भइरहेको थकालीले बताए। गत वर्षको मंसिरदेखि फागुन महिनामा लगाएको आलु भदौ र असोज महिनामा निकालिएको हो। अहिले यहाँका किसानले खेतबारी नयाँ आलु लगाउने तयारीमा जुटेका छन्।

हिमाली क्षेत्र, उच्च उचाइ र चिसो हावापानी उत्पादित मुस्ताङ्गी आलुको अन्य स्थानको भन्दा विशेष र फरक महत्त्व राख्दछ। मुस्ताङमा चालू वर्ष प्रतिपाथी १ सय ५० रुपैयाँदेखि २ सय १० रुपैयाँसम्ममा बिक्री भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। मुस्ताङमा पाथीको हिसाबले आलु बिक्री गर्ने चलन छ। प्रतिपाथीमा ३ केजी र १ मुरी आलुमा सरदर ६० केजी आलुको तौल हुन्छ। आलु उत्पादनबाट राम्रो फाइदा लिने सकिने भएकाले आलु खेतीतर्फ कृषकको आकर्षण बढ्दो रहेको स्थानीय किसान आजित थकालीले बताउनुहन्छ ।

जिल्लाको लोघेकर दामोदरकुण्डमा सबैभन्दा बढी आलु उत्पादन हुने गरेको छ। त्यसपछि बारागुङ, लोमान्थाङ, घरपझोङ र थासाङमा आलु उत्पादन हुने गर्छ। हिमपातको चिस्यानले रोग र कीटाणु नष्ट गर्ने र भेडा-च्याङ्ग्रा र गोरु-झोपाको मल प्रयोग गरिने भएकाले मुस्ताङको आलु अर्गानिक ब्रान्ड बनेको हो।

चिसो मौसमका साथै हिउँले सिञ्चित मुस्ताङको आलुबारीमा विभिन्न रोग संक्रमणसमेत हिउँ पानीले नियन्त्रण गर्ने भएकाले विषादीको प्रयोग गर्नु पर्दैन। मुस्ताङमा उत्पादित आलु कोसेलीको रुपमा पनि पर्यटकले खरिद गर्छन्। देशका ७७ वटै जिल्लामा आलु उत्पादन हुने भए पनि मुस्ताङ्गी आलुको फरक विशेषता छ। जुनसुकै तरकारीसँग सहजै समिश्रण गरी खान मिल्ने मुस्ताङ्गी आलुको सहर बजारको होटल तथा रेस्टुरेन्टमा पाइन्छ।

प्रतिक्रिया दिनुहोस्