सडकमा मागेर खानेको नाममा राजनीति गर्नेलाई धिक्कार !



बालश्रमको अझै पनि अन्त्य हुन सकेको छ । कतिपय बालबालिका बाल अधिकार पाउनबाट वञ्चित छन् । उपत्यकाका सडकमा मागेर खाने बालबालिकाको संख्या उल्लेखनीय छ । उपत्यकाबाहिर जिल्लाको अवस्था पनि उही नै छ । सडकमै मागेर खाने, त्यहीँ बस्ने र त्यहीँ सुत्ने बालबालिकाहरु छ्यापछ्याप्ती छन् ।

यता, रोडको बीचबीचमा बालबालिकाहरु पानीलगायत अन्य सामान बेच्नका लागि दौडिरहेका देखिन्छन् । उनीहरु गाडी आउनेबित्तिकै दौडेर सामान बेच्न पुगिहाल्छन् ।इँटाभट्टा, होटल, रेस्टुरेन्ट, घरायसी कामकाजमा पनि बालबालिकाकै प्रयोग भइरहेको छ । त्यस्तै, मठमन्दिरमा पनि माग्न बस्ने बालबालिकाको संख्या धेरै छ । पशुपतिनाथ मन्दिरमा बालबालिका मात्रै नभई तिनका बाबुआमा, अपांग, ज्येष्ठ नागरिकहरु यत्तिकै माग्न बसेका हुन्छन् । कसैको हात छैन त कसैको खुट्टा । कोही दुधे बालक च्यापेर बसेका देखिन्छन् । चिसो सिँढीमा बसेर हात फैलाइरहेको दृश्य एकदमै दयनीय छ । कति बालबालिकाको बाबुआमा छैनन् ।

बाबुआमा गुमाइसकेका बालबालिकाहरु सडकमा छन् । कहीँ कतै सहारा नभएपछि उनीहरुले सडकलाई आफ्नो बासस्थान बनाएका छन् । अशिक्षा, गरिबी र बेरोजगारी नै व्यक्तिलाई सडकमा ल्याउनुको एक कारण हो । कतिपय घर निकाला भइसकेपछि सडकमा आएर जिन्दगी गुजारिहेका छन् ।

अधिकांश बूढाबूढी सडकमा आउनु यही नै हो । मानसिकता गुमाएका, उपचार नपाएका, आफ्नो खुट्टामा उभिएर केही गरेर खान्छु भन्ने क्षमता नभएकाहरु पनि त्यही भीडमा छन् ।आफ्नो घरपरिवारबाट अपहेलित भएर, असहयोग भएर सडकमा आएका व्यक्तिहरुमाथि राज्यको आँखा पर्न सकेको छैन ।

माग्न बसेकाहरुलाई स्थानीय सरकारले समेत मतलब गर्दैन । न स्थानीयवासीहरुमा नै सहयोगको भावना जाग्छ । उनीहरु पनि देशका नागरिक हुन् । तर, राज्यले नै उनीमाथि अपहेलना गरिरहेको छ । खुल्ला आकाशमुनि रात कटाउन बाध्य छन्, उनीहरु । सरकारले त्यस्ता नागरिकहरुका लागि खान, बस्न, लगाउन, उपचारलगायत अति आवश्यक अधिकारहरु प्रदान गर्नुपर्ने हो ।

यिनीहरु नेपाली हुन्, तर उनीहरुसँग नागरिकता छैन । बुबाआमा बाटोमा भएका छोराछोरीले कहाँबाट जन्मदर्ता बनाउने ? स्थायी ठेगाना छैन । नागरिकता र जन्मदर्ता नहुँदा उनीहरु राज्यबाट पाउनुपर्ने सबै सेवासुविधाबाट वञ्चित भएका छन् । काठमाडौंमा तीनवटा घर हुनेहरु, महिनामा लाखौं रुपियाँ भाडा उठाउनेले ज्येष्ठ नागरिक भत्ता लिइरहेका छन् । तिनका त छोराछोरी पनि सरकारी जागिरे छन् । यता, श्रीमान् नभए पनि सम्पत्ति भएका एकल महिलाहरुले समेत मासिक भत्ता बुझिरहेका छन् ।

छोराछोरी भने अमेरिका, अस्ट्रेलिया पुगेका छन् तर उनीहरु भत्ता लिन छोड्दैनन् । यता, सरकारी स्कुलमा पनि धनीकै छोराछोरी छात्रवृत्तिमा पढ्छन् । सरकारी कर्मचारीका छोराछोरीहरु छात्रवृत्तिको हकदार बनेका छन् । तर, सडकमा मागेर खानेको छोराछोरीले के पाए ? गरिबलाई भनेको छात्रवृत्तिमा धनीले रजाइँ गरिरहेका छन् । धनीहरु जहिले पनि गरिबको अधिकार खोस्छन् । उनीहरुको कारण गरिबका छोराछोरी स्कुल जान सकेका छैनन् । तीनवटा घर भएकालाई किन मासिक भत्ता चाहियो ?

त्यो भत्ता सडकमा मागेर खानेलाई दिँदा राम्रो हुन्थ्यो । धनीलाई छात्रवृत्ति दिनुको साटो गरिबलाई पढायो भने देशको साक्षरता दर बढ्थ्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा माग्ने मुक्त बनाउने घोषणा गरेका थिए । सडकमा मागेर खानेहरु शिक्षादीक्षा, उपचार, गाँस, बास, कपासको व्यवस्था गर्ने भनेर ठूल्ठूला कुरा गरे । पत्रपत्रिका, अनलाइनहरुले हेडलाइन समाचार बनाए । उनको फोटो पत्रिकाको पहिलो पन्नामा आयो । तर, ती गरिबले के पाए ?

आज पनि उनीहरु सडकमै गुजारा गरिरहेका छन् । माग्ने मुक्त सडक कुन जिल्लामा छ ? कुनै जिल्लाले मागेर खानेहरु व्यवस्थापन गर्न सकेको छ ? यसअघिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि माग्नेहरुको नाममा नौटंकी देखाएर चर्चामा आएका थिए । केही दिन सडकमा बस्नेहरुलाई रातमा लगेर बासस्थानको व्यवस्थापन गरे । पछि फेरि उही अवस्था दोहोरियो । क्षणिकको लोकप्रियताका लागि उनले मागेर खाने व्यक्तिहरुको प्रयोग गरे ।

सडकमा मागेर खानेको नाममा धेरै गीत बन्यो । फिल्म बन्यो । चलचित्र बनाउनेले कमाएर खाए । गीत गाउने कलाकारहरुले पनि आफ्नो कमाइ खाने बाटो बनाए । कलाकारहरु उनीहरुको नाटक गरेर चर्चामा आए । तर, सडकमा बस्नेको समस्या त समाधान भएन । किनकि कसैले उनीहरुलाई बुझ्न सकेनन् । राज्यबाट अपहेलित जनताको नाममा व्यापार भयो । सडकमा बस्नेको नाम लिएर राजनीतिक दलहरु सत्तामा पुगे ।

आफू सत्तामा पुगे तर उनीहरुको समस्या आज पनि जस्ताको त्यस्तै छ ।सडकमा बस्नेहरुलाई गाँस, बास, कपासको व्यवस्था मिलाउँछु भन्ने धेरै आए र गए तर केही परिवर्तन भएन । हिजो जो जहाँ थियो, आज पनि त्यहीँ नै छन् । नेताहरु बिरामी हुँदा जनताले तिरेको करबाट करोडौं रुपियाँ खर्च गरेर विदेशमा गई उपचार गर्छन् । सरकारी कर्मचारीहरुले करोडौंको गाडी चढेका छन् । जनताले तिरेको करबाटै लुगा लगाइरहेका छन् ।

तर, सडकमा बस्नेले ज्वरो आउँदा सिटामोलसमेत पाएका छैनन् । स्वास्थ्य मन्त्रालयले सडकमा बस्नेको निःशुल्क उपचार गर्ने भनेको छ । तर, त्यसका लागि उनीहरुलाई भर्ना गरिदिने र जमानी बस्ने कोही हुनुपर्छ । सडकमा बस्नेको को जमानी हुन्छ ? आफन्त, टोलसमाज कसैले नहेरेर आफैं त सडकमा आएर बस्नुपरेको छ । अनि तिनले कहाँबाट जमानीकर्ता ल्याउने ?

कोही खान नसकेर फोहोरको टोकरीमा लगेर फ्याँक्छन् । कोही त्यही फोहोरको थुप्रोबाट टिपेर खाइरहेका छन् । यस्तो दृश्य बाटोमा प्रशस्त देखिन्छ । नेपालीमा मानवता हराइसकेको छ । हजारौंमा मन भएका एक–दुईजना मात्र छन् । माग्नेलाई मान्छे नै नगन्नेहरु पनि यहाँ भेटिन्छन् ।माग्ने मान्छेको छेउमा गयो भने आफ्नो इज्जत जान्छ जस्तो गर्छन् । उनीहरुमा आफू धनी भएको खूब घमण्ड छ । हामीले ठूल्ठूला व्यक्तिहरुको अन्तर्वार्ता सुनेका छौं । उनीहरु भन्छन्, ‘म हिजो गरिब परिवारबाट आएको । मेलै यति दुःख गरेँ । दुःख गरेर मैले करोडौंको सम्पत्ति जोडेँ । मेरो दुःखका कारण म यहाँसम्म पुगेँ ।’ तर गरिबलाई दिनलाई यिनीहरुसँग पाँच रुपियाँ हुँदैन । यस्तालाई कसरी करोडपति भन्ने ? जसले गरिबलाई पाँच रुपियाँ दिन सक्दैन त्यसलाई कुन मुखले धनी भन्ने ?

हिजो आफूले दुःख सहेकाले आज अर्काको पीडाको मलहम बन्न सक्नुपर्छ । यो नै मानवीय धर्म हो । आफ्नो भागको थोरै कटाएर दिँदा कोही गरिब बन्दैन । कुराचाहिँ ठूल्ठूला गर्ने अनि अर्कोलाई सहयोग गर्ने बेला दाँतबाट पसिना चुहाउनेहरुले दुःख बुझेका छैनन् भनेर सम्झँदा हुन्छ । आफू चर्चामा आउनका लागि यस्तो काम गरेको हो भनी बुझ्दा हुन्छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एउटा बच्चालाई लगेर विद्यालय भर्ना गरिदिए । तर फी, ड्रेस, किताब केही पनि व्यवस्था गरिदिएनन् । उनले पढ्न छोड्नुप¥यो । यस्ता त छन् देशका नेता । देशमा ऐनकानुन बनाउने र जनताको अभिभावक बन्नुपर्ने नेता हुन् । जनतामा चेतना फैलाउनुपर्ने कार्य कलाकारको हो । सरकारी कर्मचारी जनताका सेवक हुन् । जसले अभिभावकको सेवा गर्न सकेन उसले के जनताको सेवा गर्छ ? नेताहरुले के ऐनकानुन बनाउँछन् ? कलाकारहरुले के भनेर जनचेतना फैलाउने ? बुबाआमा आश्रममा लगेर राख भनेर जनचेतना फैलाउन मिलेन ।

आमाले नौ महिना कोखमा बोकेर, सयौं पीडा सहेर छोराछोरी हुर्काएका हुन्छन् । तर, आमाकै क्रिया नगर्ने नेता पनि नेपालमा छन् । तीमध्ये एक हुन्, माधवकुमार नेपाल । जन्म दिने आमाको त क्रिया गरेनन् भने जनताका लागि के काम गर्छन् ? नेपालमा जति पनि आश्रम छन् त्यो सबै डलरको खेती गर्ने ठाउँ हो । राज्यबाट पनि पैसा लिने अनि गरिबहरुको फोटो बेचेर डलर कुम्ल्याउने । आश्रममा कति बालबालिका र बूढाबूढी छन्, यसको तथ्यांक सरकारसँग छैन । उनीहरुले स्वास्थ्योचार पाएका छन् कि छैनन्, सरकारले अनुगमन गर्दैन । धिक्कार छ हाम्रा नेताहरुलाई !
– अनुसा थापा ।

प्रतिक्रिया दिनुहोस्