एकसाथ ३ रियालिटी शो आउँदै



स्पेस फोरके टेलिभिजनले एकसाथ तीन रियालिटी शो घोषणा गरेको छ।

टेलिभिजनले राजधानीको एक पाँचतारे होटलमा पत्रकार सम्मेलन आयोजना गरी बालबालिकाको नृत्य शो जस्ट डान्स लिटिल मास्टर्स, युवाहरुको नृत्य शो र्याप स्टार र डेटिङ गेम शो फस्ट डेट घोषणा गरेको हो।

पत्रकार सम्मेलनमा एकसाथ तीन रियालिटी शोको टिजर र त्यसको अवधारणा सार्वजनिक गर्नुका साथै सबै शोका निर्णायक, निर्देशक र टिम समेत सार्वजनिक गरिएको छ।

कार्यक्रममा रियालिटि शोका निर्णायक तथा निर्देशकले आ-आफ्नो शोका बारेमा जानकारी गराएका थिए।
र्याप स्टारको निर्णायकमा र्यापर गिरिश खतिवडा, मिस्टर डी सन्दिप बिस्ट र अभिजित भण्डारी रहेका छन्।

त्यसैगरी जस्ट डान्स लिटिल मास्टर्समा नायिका सञ्चिता लुईटेल, कोरियोग्राफर प्रदीप लामा र हिपहप डान्सर प्रकाश बिके रहेका छन् भने फस्ट डेटमा क्रियटर तथा प्रोजेक्ट हेड नायक तथा प्रस्तोता रेमनदास श्रेष्ठ, क्रियटिभ हेड सन्जीप रत्न शाक्य र निर्देशक नेपालकै कान्छा रियालिटी शो निर्देशक आश्वीन न्यौपाने रहेका छन्।

कार्यक्रममा स्पेस फोर के टेलिभिजनका अध्यक्ष डा. दिनेश कुमार शाहीले नेपाली समाजमा लुकेर रहेका प्रतिभा र क्षमतालाई अन्वेषण गर्ने तथा स्थापित गरेर देशमा सकारात्मक सन्देश फैलाउन रियालिटी शो ल्याइएको जनाए। उनले यी शो मनोरन्जन र सन्देशमूलक दुबै हुने दाबी गरे।

कार्यक्रममा जस्ट डान्स लिटिल मास्टरर्सकी निर्णायक तथा नायिका सञ्चिता लुइटेलले बाल बालमनोविज्ञानमा आधारित भएर बालबालिकामा रहेको क्षमतालाई प्रष्फुटन गर्न यो शोले महत्वपूर्ण योगदान गर्ने चर्चा गर्दै बालबालिका काँचो माटो भएको र उनीहरुमा भरपूर सिर्जनात्मकता हुने बताइन्।

त्यसैगरी र्याप स्टारका निर्णायक तथा र्यापर गिरिश खतिवडाले नेपाली समाजमा र्यापलाई हेर्ने दृष्टिकोण फरक भए पनि र्याप विधाले समाजको चित्रण गर्ने चर्चा गरे।

प्रेमिल जोडीमा आधारित भएर निर्माण गरिएको डेटिङ रियालिटि शो फस्ट डेटले दर्शकहरुलाई मनोरञ्जन दिनुका साथै सपरिवार हेर्न मिल्ने गरी सभ्य तरिकाले निर्माण गरिने रेमनदास श्रेष्ठले बताए।

डेटिङ रियालिटि सो फस्ट डेट फागुन महिनामा, डान्स रियालिटि सो जस्ट डान्स लीटिल मास्टर्स बैशाख र सिगिङ रियालिटि सो र्याप स्टार पुस महिनादेखि स्पेस फोर के टेलिभिजनबाट प्रसारण हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्