प्रवासमा साहित्यिक साँझ र स्रष्टा सम्मान



अमेरिका । संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन शहरमा १६औं वार्षिक नेपाली साहित्य साँझअन्तर्गत कविता वाचन एवं स्रष्टा सम्मान कार्यक्रम सुसम्पन्न गरिएको छ । नेपाली अमेरिकी मैत्री सङ्घ (नाफा) ले आयोजना गरेको कार्यक्रमको सभापतित्व अबिमन पसछेंले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कवि तथा अनेसासका पूर्व अध्यक्ष वसन्त श्रेष्ठ रहनुभएको थियो । ‘विजय मल्ल साहित्य पुरस्कार’ प्रतियोगितामा प्रतियोगी कविहरूका कविता वाचन गरिएका थिए ।

संयुक्तरूपमा दीप प्रज्ज्वलन गरी समुद्घाटन भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक पर्वत रेग्मीले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो । ‘नाफा विजय मल्ल साहित्य पुरस्कार’ प्रतियोगताका लागि पुरस्कार प्रायोजक विजय मल्लकी सुपुत्री वन्दना मल्ल श्रेष्ठ तथा कृष्णदास मल्लको स्मृतिमा स्थापित ‘नाफा बाल साहित्य पुरस्कार’ को प्रायोजकका तर्फबाट सुपुत्री धन मल्ल श्रेष्ठले पुरस्कार स्थापनाको औचित्य र प्रयोजनबारे आफ्नो धारणा राख्नुभएको थियो ।

‘विजय मल्ल साहित्य पुरस्कार’ कविता प्रतियोगिताका लागि वाह्य निर्णायकहरू नेपालबाट श्री धीरेन्द्र प्रेमर्षि, श्री विनोद अधिकारी तथा श्रीमती सुलोचना मानन्धर धिताल हुनुहन्थ्यो भने श्री मित्र पौडेल, श्रीमती सीता अर्याल तथा श्रीमती गंगा श्रेष्ठ आन्तरिक निर्णायकहरू रहनुभएको थियो ।

उक्त प्रतियोगितामा कवि लेखनाथ काफ्लेले प्रथम स्थान, कवि जीवन खड्काले दोस्रो स्थान र कवयित्री अप्सरा गिरी भारतीले तेस्रो स्थान हासिल गर्नुभएको थियो भने अन्य बालसाहित्यकारहरूले पनि कविता वाचन गरी सहभागिता जनाएका थिए ।

विजय मल्ल साहित्य पुरस्कार प्रतियोगीहरूका कविता वाचनपश्चात् निर्णायक धीरेन्द्र प्रेमर्षिको प्रेरणात्मक सन्देश श्रवण पनि गरिएको थियो । सन्तोष पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा सहभागी प्रतियोगी सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

सोही अवसरमा ‘अपराध–सुधार अन्तर्राष्ट्रिय कविता सङग्रह’ को श्रीमती सीता अर्याल, श्री एकबहादुर क्षत्री, श्री राजेन्द्र अर्याल, श्री दिनार श्रेष्ठ, श्री अबिमन पसछें, श्री कृष्ण सिजापति एवम् श्रीमती राधा सिजापतिद्वारा संयुक्त रूपमा लोकार्पण गरिएको थियो ।

यसैबीच, नाफाद्वारा प्रायोजित ‘सगरमाथा प्रज्ञा पुरस्कार’ समाजसेवी तथा साहित्यकार, श्री आविष्कार भारतीलाई प्रदान गरिएको थियो । नेपाली अमेरिकी मैत्री संघद्वारा आयोजित नेपाली साहित्य साँझ कार्यक्रमका अवसरमा अनेसासका आजीवन सदस्य समाजसेवी एवं साहित्यकार अविष्कार भारतीलाई उक्त पुरस्कारबाट सम्मान गरिएको छ ।

नगद तथा सम्मान पत्रसहितको उक्त पुरस्कार नेपाली अमेरिकी मैत्री संघका अध्यक्ष अबिमन पसछें एवं मुख्य अतिथि अनेसासका पूर्व अध्यक्ष एवं कवि वसन्त श्रेष्ठ तथा नाफा शिक्षा एवं संस्कृति समितिका सभापति वरिष्ठ समाजसेवी श्री दिनार श्रेष्ठद्वारा संयुक्त रूपमा प्रदान गर्नुभएको थियो ।

विगत एक दशकदेखि विस्कन्सिन राज्यको म्याडिसन सहर वरपर रहेका नेपाली बालबालिकाहरूलाई नेपाली भाषा कक्षा सञ्चालन गरी नेपाली भाषालाई योगदान दिनुका साथै नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आउनुभएका भारती नेपाली भाषा, साहित्य तथा समाजसेवीका रूपमा प्रसिद्ध रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्