स्थानिय सरकारमाथि कार्टुन



स्थानीय सरकारले गर्नुपर्ने कार्य तथा भए गरेका विकृति विसंगतिमा केन्द्रित रहेर तयार पारिएका काटुन तथा चित्र प्रदर्शनी गरिएको छ।

गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिवेशनको अवसर पारेर रंगपालिका शीर्षकमा उक्त प्रदर्शनी गरिएको हो। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शुभारम्भ गरिएको महाधिवेशनमा दुई दर्जन काटुनिस्टले बनाएका ५० कलाकृति राखिएको छ। महासंघले काटुनिस्ट क्लब अफ नेपालको सहकार्यमा गरेको प्रदर्शनीमा गाउँपालिकाले गनपर्ने कार्ययोजना र विकास निर्माणसँगै त्यहाँ रहेका विकृति विसंगति चित्रण गरिएका चित्र तथा काटुन राखिएको छ। प्रदर्शनी अवलोकन गर्दै प्रधानमन्त्री देउवाले राम्रो काम गरेको प्रतिक्रिया दिए।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले चित्र आफैंमा हजार शब्द भएको चर्चा गरे। उनले काटुन सन्देशसहितका एउटा स्पष्ट ऐना भएको र जहाँ आफैंलाई हेरेर व्यक्ति वा संस्थाले आफूलाई सच्याउन सक्ने विचार व्यक्त गरे। अध्यक्ष श्रेष्ठले प्रदर्शनीमा राखिएका चित्र तथा काटुनमा शुद्ध सन्देश र जानकारी मात्र नभई रोचकंघोचक ठट्यौलो अनि रमाइला प्रस्तुति पनि रहेको बताए।

काटुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिजले कला दृश्यभाषाको सशक्त माध्यम भएकाले आमजनले सहज ढंगले बुझ्न काुन कला प्रभावकारी हुने बताए। उनले महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनको अवसर पारेर स्थानीय सरकारका कार्य र उत्तरदायित्व झल्किने काटुन तथा चित्रको प्रदर्शनी गरिएको सुनाए। प्रदर्शनीमा राखिएका कलामा स्थानीय सरकारको कार्यक्षेत्रलाई समेटिएको छ। स्थानीय सरकारले कला, संस्कृति, भाषा, लोकजीवन, प्राकृतिक स्रोत, आर्थिक, सामाजिक, पूर्वाधार, वन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्ने अधिकार राख्छ। यिनै सेरोफेरोमा रहेर कलाकारले काटुन तथा चित्र बनाएका छन् क्षितीजले भने। काभ्रे खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिध्र छिन्ताङ ले कलामार्फत रुपान्तरणका पक्षमा व्यक्त विचार निकै गहन रहेको बताए।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रमेश खनालले कलाकारले देशको विकास र रुपान्तरणका पक्षमा सशक्त ढंगले आवाज उठाएको बताए। उनले कलाकारले चित्र तथा काटुनमार्फत सशक्त सन्देशसहित योजनाको खाका नै प्रस्तुत गर्न सफल भएको जिकिर गरे। भाषा आयोगका सदस्य तथा जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष मातृका पोखरेलले प्रदर्शनीमा राखिएका काटुन तथा चित्रले गाउँपालिका निर्माण र विकासमा गनुपर्ने विषयलाई सरल ढंगले प्रस्तुत गरेको बताए।

प्रदर्शनीमा सहभागी अग्रज कलाकार अशोकमान सिंले विकास र योजना तजुमा गर्न अभिप्रेरित गर्ने खालका कलाकृति प्रदर्शनीमा राखिएको बताए। उनले तुइनबाट झोलुगे पुल पछि पक्की पुलबाट विद्यार्थी विद्यालय गइरहेको र विकास पनि त्यही रफ्तारमा भएको कलाकृति प्रदर्शनीमा राखेका छन्। उनले स्थानीय सरकारले जनताको सेवामा दत्तचित भएर लाग्नुपर्ने सन्देश चित्र तथा काटुनले दिएको बताए।

प्रदर्शनीमा अशोकमान सिं, जीवन राजोपाध्याय, अविन श्रेष्ठ, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भद्मराई, रवीन्द्र मानन्धर, केशवराज खनाल, योगेश खपांगी, आरके थापा, दीपक गौतम, कृष्णगोपाल श्रेष्ठ, सागर शाह, सुजिता महर्जन, सानुराज डंगोल, अर्पिता शाक्य, पल्पसा डंगोल, महेश बस्ताकोटी, सुदर्शन सिग्देल, पानसिंह तमोर, रामहरि रिमाललगायतका चित्र तथा काटुन राखिएको छ।

प्रतिक्रिया दिनुहोस्