कुलपतिकाे ‘ग्रिन सिग्नल’ पछि, स्ववियु निर्वाचनको तयारीमा त्रिवि



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको ‘ग्रिन सिग्नल’ पाएपछि त्रिविले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्ने तयारी शुरू गरेको छ ।

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले कुलपति एवं प्रधानमन्त्री देउवासँग स्ववियु निर्वाचन गर्ने विषयमा सल्लाह माग्दा ‘तयारी गर्नू’ भन्ने जबाफ पाएपछि तयारी थालिएको हो ।

‘प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुनुअघि कुलपतिज्यूसँग सल्लाह लिएको थिएँ, त्यसबेला निर्वाचनको तयारी गर्न निर्देशन दिनुभएको थियो’ उपकुलपति प्राडा बास्कोटाले आइतबार नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो– हामीले त्यसै बेलादेखि तयारी थालेका छौं ।

उहाँका अनुसार नयाँ सरकार आउनासाथ विद्यार्थी संगठनहरूसँग सल्लाह लिएर निर्वाचन गरिनेछ । त्रिविले फागुन १४ गते नै निर्वाचन गर्नेगरी तयारी अघिबढाएको छ । त्रिविले केही दिनअघि निर्वाचन गर्ने विषयमा गृहमन्त्री वालकृष्ण खाँणसँग समेत परामर्श गरेको थियो ।

गृहमन्त्री खाँणले नयाँ सरकार बनेपछि निर्वाचन गर्ने विषयमा निर्णय गर्न सुझाउनुभएको थियो ।
खाँणले प्रतिनिधिसभा निर्वाचनमा पराजय भएपछि उहाँकै कार्यकालमा निर्वाचन गर्न नसकिने आशय व्यक्त गर्नुभएको थियो । उपकुलपति बास्कोटाले निर्वाचन गर्ने विषयमा त्रिविका पदाधिकारी लगायत केही सरोकारवालासँग पनि परामर्श गरिसक्नुभएको छ ।

हामी तोकेकै समयमा निर्वाचन गर्ने तयारीमा जुटेका छौं– उपकुलपति बास्कोटाले भन्नुभयो । उहाँका अनुसार नयाँ सरकार बन्नासाथ विद्यार्थी संगठनसँग छलफल गरिनेछ । पछिल्लो १४ वर्षदेखि त्रिविलगायत उपत्यकाका १३ र उपत्यका बाहिरका २३ क्याम्पसमा निर्वाचन हुनसकेको छैन ।

विसं २०७३ सालमा उपत्यकाका ९ र उपत्यका बाहिरका १७ गरी २६ वटा क्याम्पसमा निर्वाचन भएको थियो । देशभर ६२ आंगिक क्याम्पस सञ्चालित छन् । निर्वाचन गर्न विद्यार्थी कल्याण परिषद्का अध्यक्ष एवं रेक्टर प्राडा शिवलाल भुषालको अध्यक्षतामा समिति रहने व्यवस्था छ । समितिका सदस्य सचिवमा खेलकुद तथा विद्यार्थी कल्याण महाशाखाका निर्देशक सदस्य सचिव रहने व्यवस्था छ ।

इतिहासमा पहिलो तीर्थनाथ दोस्रो दमननाथ

त्रिभुवन विश्वविद्यालयले स्ववियु इतिहासको अभिलेखन अद्यावधिक गर्दै यसको पहिलो अध्यक्ष तीर्थनाथ डंगोल र दोस्रो अध्यक्ष दमननाथ ढुंगाना रहेको जानकारी गराएको छ ।त्रिविमा स्ववियुको इतिहास २०१८ देखि शुरू हुन्छ । २०१९ सालसम्म विद्यार्थी युनियनको अध्यक्ष तीर्थनाथ डंगोल हुनुहुन्थ्यो । उहाँकै अध्यक्षतामा पहिलो कार्यसमिति गठन भएको थियो ।

२०१९–२०२० सालमा पछि प्रतिनिधिसभामा सभामुख रहेका दमननाथ ढुंगाना सभापति हुनुभयो । हुनत, ढुंगानालाई दोस्रो अध्यक्ष नमानेर पछि पञ्च नेता बनेका नवराज सुवेदीलाई अध्यक्ष मान्ने कि भन्ने विवाद पनि छ । किनभने पहिला सुवेदीलाई नै सभापति छानिएको थियो । तर, सुवेदीले विद्यार्थी आन्दोलनको साथ छोडेर निर्दलीय व्यवस्थामा प्रवेश गरेका कारण उपसभापति रहेका ढुंगानालाई सभापति चयन गरियो ।

२०३६ सालको विद्यार्थी आन्दोलनपछि विद्यार्थी युनियनको ऐन संशोधन गरी स्वतन्त्र विद्यार्थी युनियन नामकरण गरियो । स्ववियुको इतिहासमा त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा विसं २०३० सालमा राजनीतिक पार्टी र संगठनमा प्रतिबन्ध लगाएपछि ५ वर्षसम्म विद्यार्थी राजनीति शून्य प्रायः थियो ।

त्रिवि विद्यार्थी तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिभुवन विश्वविद्यालय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको इतिहास तयार गर्नेक्रममा पाइएको तथ्यलाई विश्वविद्यालयले सम्पत्तिको रूपमा राखेको बताउनुभयो । त्रिविको इतिहासमा उल्लेख भएअनुसार विसं २०२०–२०२१ मा जनार्दनप्रसाद आचार्य, विसं २०२१–२०२२ मा कमल चित्रकार, विसं २०२३–२०२४ मा निर्मल अर्याल, विसं २०२४–२०२५ मा भुवनमानसिंह राजभण्डारी, २०२४–२०२६ मा गोविन्दमान श्रेष्ठ, २०२६–२०२७ सालमा देवेन्द्रलाल नेपाली, २०२७–२०२८ सालमा बालमुकुन्द खरल विजयी हुनुभएको थियो । त्यसबेला प्रजातान्त्रिक समूहबाट चुनावमा होमिएका हालका प्रधानमन्त्री शेरबहादुर देउवा पराजित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्