नेपालमै पहिलोपटक विदेशी कलेजको व्यवस्थापन सम्हाल्दै इस्लिङटन कलेज



काठमाडौं । इस्लिङट्न कलेज, लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माइ सेकेण्ड टिचर र आरभिआई ग्रुप बीचमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) बिजनेस प्रशासन कोर्ष अध्ययन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

आज चार निकायबीच सम्झौता भएपछि विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित इस्लिङटन कलेजले नेपालमै पहिलो पटक विदेशको कलेजको व्यवस्थापन जिम्मा लिएको हो ।

लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा अनलाइन बिए (अनर्स) बिजनेस प्रशासन तहको कक्षा सञ्चालन गर्ने विषयमा चार निकायबीच सम्झौता भएको हो । जसअनुसार विश्वविद्यालयले तयार गरेको पाठ्यक्रम म्यानम्यार र थाइल्याण्डमा अध्यापन हुनेभएको छ । कक्षा जनवरी सेसनबाट सञ्चालन हुनेछ ।

विश्वको चर्चित मानिएको आरभिआई ग्रुपले विश्वविद्यालयको पाठ्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सम्पूर्ण सहयोग गर्नेछ । सिंगापुरमा कार्यालय रहेको आरभिआई ग्रुपले विश्वका २० शैक्षिक केन्द्र र ६ वटामा एकेडेमिक्स काम गरिरहेको छ ।

आरभीआईका प्रमुख कार्यकारी अधिकृत आर्गस एङगले आरभिआई ग्रुपले भियतनाम, इन्डोनेसिया, कम्बोडिया, म्यानमार, थाइल्याण्डलगायत अन्य मुलुकमा काम गरिरहेको जानकारी दिनुभयो । निकट भविष्यमा चार निकायको सहकार्यमा थाइल्याण्ड र म्यानमारमा अनलाईन कक्षा सञ्चालन गर्नेछौं– प्रमुख कार्यकारी अधिकृत एङगले बताउनुभयो ।

इस्लिङट्न कलेजले यस साझेदारीमा विद्यार्थीको स्नातकसम्मको यात्रामा सम्पूर्ण प्रक्रियालाई सहजीकरण गरेर यस साझेदारीमा प्रमुख भूमिका खेल्नेछ । जसअन्तर्गत कलेजले विद्यार्थी परामर्शदेखि भर्ना प्रकृया र विद्यार्थीको क्षमता अभिवृद्धी गराउने व्यवस्था गर्ने लगायतको मुख्य भूमिका रहनेछ ।

इस्लिङट्न कलेजका संकाय पनि मूल्याङ्कन विकास प्रक्रिया सिर्जना गर्न साथै लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको दिशानिर्देश अनुसार मार्किङ प्रक्रियाहरू सञ्चालन गर्न जिम्मेवार हुने कलेजका अध्यक्ष शुलभ बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो–हामी विदेशी कलेजमा व्यवस्थापन गरेर नेपालको शिक्षा क्षेत्रमा मुख्य भूमिका खेल्न सफल भएका छौं, यो हाम्रो मात्र होइन मुलुकमै गर्व गर्ने विषय हो ।

यो साझेदारीमा समावेश गरिएको अर्को अग्रगामी पहल र सायद सबैभन्दा महत्त्वपूर्ण मध्ये एक, अनलाइन शिक्षाको लागि प्लेटफर्मको रूपमा माइ सेकेन्ड टिचरको प्रयोग गर्दैछ । माइ सेकेन्ड टिचरको सहयोगमा सबै पाठ्यक्रम सामग्री विद्यार्थीहरूलाई उपलब्ध गराइनेछ र तिनीहरूको असाइनमेन्टहरू पनि सोही प्लेटफर्ममा वितरण गर्ने माइ सेकेण्ड टिचरका संस्थापक वेनसन सुङले जानकारी दिनुभयो ।

अनलाईन कक्षा सञ्चालन गर्न शिक्षकको पदपुर्ति लगायतका सम्पूर्ण काम माइ सेकेन्ड टिचरले गर्नेछ । सम्झौतापत्रमा आरभिआइ ग्रुपका आर्गस एङ्ग, माइ सेकेन्ड टिचरका संस्थापक डा. बेन्सन सुङ , इस्लिङट्न कलेज र इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकी र लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. वेन्डी ब्लोइसीले हस्ताक्षर गर्नुभएको थियो ।

यसको आधिकारिक उद्घाटनले दक्षिण एशिया भरिका धेरै विद्यार्थीहरूलाई लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको प्रतिस्पर्धात्मक बिजनेस पाठ्यक्रममा थप पहुँच दिनेछ र साथै इस्लिङट्न कलेजका उद्योग–अग्रणी संकाय र प्रशासनिक कार्यहरू विश्वव्यापी स्तरमा दोहोरिने माध्यम प्रदान गर्नेछ ।

सम्झौतापत्रमा हस्ताक्षर पछि लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमीक पार्टनरसिप डा. बेन्डीले नेपालमा उत्कृष्ठ शिक्षा दिन सफल इस्लिङठन कलेजले दुई देशका कलेजको व्यवस्थापन जिम्मा लिनु महत्वपूर्ण विषय भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्