कैलालीका २ नगरपालिकामा ताला, एकको तोडियो



धनगढी ।

कैलालीस्थित दुईवटा नगरपालिकामा ताला लगाइएको छ। शुक्रबार जिल्लाको लम्कीचुहा र टीकापुर नगरपालिकामा तालाबन्दी गरिएको हो।

लम्की नगरपालिकामा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तालाबन्दी गरेको हो। यहाँ पुराना मोटरसाइकलहरू हुँदाहुदै नयाँ मोटरसाइकल किनेर भ्रष्ट्राचार गरेको, सार्वजनिक खरिद ऐनविपरीत काम गरेको, नगर प्रमुखले व्यक्तिगत फाइदाको लागि सरकारी सम्पत्ति दुरुपयोग गरेको, आवश्यकता र औचित्यहीन महँगो विलासी सवारी साधन खरिद गरेको र सरकारी बजेटमा ब्रमलुट मच्चाएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले नगरपालिकाको आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको हो।

नगरपालिकाको आवश्यकताभन्दा बाहिर गएर नगरप्रमुख सुशीला शाहीको एकल निर्णयले विलासी तथा महंगो मोटरसाइकल खरिदको विरोधमा तालाबन्दी गरेको नेकपाका कैलाली जिल्ला सचिव विनोद बिष्टले बताए।

तर नगरपालिकामा लगाइएको ताला केहीबेरमै तोडिएको छ। प्रहरीको सहयोगमा नगरपालिकाले नै ताला फोडेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। यता, अनियमिताको विरोधमा गरिएको तालाबन्दी तोडिएपछि नेकपाले फेरि कडा विरोध जनाएको छ। जिल्ला सचिव विष्टले अब हुने क्षतिको जिम्मेवारी नगरपालिकाले नै लिनुपर्ने चेतावनी समेत दिएका छन्।

यस्तै उता, टीकापुर नगरपालिकाले नगर क्षेत्रस्थित अतिक्रमित क्षेत्र खाली गराएको विरोधमा तालाबन्दी गरिएको छ। स्थानीयहरुले अतिक्रमित क्षेत्र खाली गराएको विरोधमा तालाबन्दी गरेका हुन्। त्यहाँ अहिले तालाबन्दी खुलाउने प्रयास भइरहेको जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। यहाँ केही दिनदेखि नगरपालिकाले अतिक्रमित क्षेत्रमा डोजर चलाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्