राति अबेलासम्म मनोरञ्जनात्मक क्षेत्र सञ्चालन गर्न दिनु गलत



सरकारले मनोरञ्जनात्मक क्षेत्रको सञ्चालन समय थप गरेको छ । दोहोरी साँझहरुलाई राति १२ बजेसम्म र डान्सबारहरुलाई बिहान ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय सरकारको छ । राति अबेलासम्म यी क्षेत्र खोल्न दिँदा व्यवसायीहरुलाई फाइदा भयो । तर, अन्य सर्वसाधारण मर्कामा परेका छन् ।

रातभरि जाँडरक्सी खाएर बबाल मच्चाउने, कुटाकुट गर्ने, आफूसँग भएको पैसा सिध्याउने, अरुलाई डिस्टर्ब गर्ने, होहल्ला गर्नेलगायतका कार्य अब बढ्ने देखिन्छ ।

यसले थप बेथिति मच्चिने निश्चित छ । सुरक्षामा समेत चुनौती आउने देखिन्छ । पहिले दोहोरी साँझ राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइन्थ्यो । डान्सबारहरु राति १२ बजेउता सञ्चालन गर्न प्रतिबन्ध लगाइएको थियो । सुरक्षामा खतरा हुने देख्दादेख्दै पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले किन समय थप ग-यो ? यसले विभिन्न अपराधजनक र गैरकानुनी क्रियाकलाप निम्त्याउने जान्दाजान्दै पनि सिडियोले व्यवसायीको पक्षमा निर्णय गरिदिए ।

यो निर्णय गर्नका लागि व्यवसायीहरुले मोटो खर्च गरेको देखिन्छ । काठमाडौंका सिडियोलाई त फाइदा भयो तर यसले अरुलाई कति असर पर्छ ? समाज, टोलमा कति विकृति फैलिन्छ ? सिडियोले सोचेका छन् ? जति पनि दोहोरी साँझ, डान्सबारहरु छन्, ती सबै घनाबस्तीको बीचमा छन् । यी क्षेत्र रातभर खोल्न दिँदा छरछिमेकलाई त डिस्टर्ब हुने नै भो । दिनभरि थाकेर आएकालाई डान्सबार र दोहारी साँझको आवाजले कति सताउला ? सरकारको निर्णयले जनतालाई सुत्न र आराम गर्नबाट पनि वञ्चित गरेको छ ।

रातभर दोहोरी साँझ, रेस्टुरेन्ट र डान्सबार खोल्दाको असर घरपरिवारमा अवश्य देखिन्छ । राति छोराछोरी, बाबुआमा अबेला आउँदा घरपरिवारलाई चिन्ता हुन्छ । श्रीमती घरमा कुरेर बस्छिन्, श्रीमान् जाँडमा रमाइरहेका हुन्छन् । छोराछोरी रातभर बाहिर बस्दा बुबाआमालाई कति तनाव हुन्छ ? सरकारले घरपरिवार बिगार्ने काम गरिरहेको छ । राति जाँड खाएर गाडी चलाउँदा सवारी दुर्घटनामा पर्न सक्छ । सरकारले कतितिर सुरक्षा दिने ? रातभरि यी क्षेत्र खोल्न दिँदा फाइदा होइन, बेफाइदा छ ।

राति ९ बजेपछि हरेक व्यवसाय बन्द गर्न लगाउनुपर्छ । व्यवसाय गर्ने नाममा घर बिगार्न पाइएन । अर्कोको छोराछोरी बिगार्न पाइँदैन । रातको समय छोरी मान्छेलाई घरबाट बाहिर निस्किनुले एकदम डरलाग्दो रुप लिन सक्छ । हाम्रो समाज उसै पनि छोराचेलीको लागि सभ्य छैन । यस्तोमा रातभर डान्सबारमा गएर नाच्नु र जाँडरक्सी खानु अस्वाभाविक बन्न सक्ला । एकछिन्को रमाइलोले ठूलै बखेडा खडा गर्न सक्छ । सरकारले एकतर्फी रुपमा व्यवसायीको कुरा सुनेर निर्णय गरिदियो । तर, सरकारले त्यसको दोस्रो पाटो हेरेन ।

व्यवसायीले कर तिरेका छन् भन्दैमा समाज बिगार्ने काम गर्न त पाइँदैन । सरकारको यो निर्णयको विरोधमा हाल सर्वसाधारणले आवाज उठाउन थालिसकेका छन् । डान्सबार, दोहोरी साँझलगायतका मनोरञ्जनात्मक क्षेत्रलाई उपत्यकाबाहिर सार्नुपर्ने माग उठेको छ । रातभरको आवाजले गर्दा समाजमा कति नकारात्मकता फैलिन्छ । दिनभरि काम गरेर थाकेको ज्यान, त्यहीमाथि आराम गर्न नपाउँदा कति रिस उठ्छ ।

जनतालाई दुःख दिएर व्यवसायीहरु कमाउने अनि राज्यले कर उठाउने, यो त मिलेन । मनोरञ्जन दिने भनेर उपत्यकाभित्र सञ्चालन भएका यस्ता व्यवसायीलाई हटाउन वा बन्द गर्न जनताले नै आवाज उठाउने देखिन्छ । कि यसलाई सार्नुप¥यो कि बन्द गर्नुप-यो भनेर माग उठ्न थालेको छ । कि दिउँसो व्यवसाय गर्नुप-यो । राति नाच्ने समय हो र ? राति त आराम गर्नुपर्छ । गीत सुन्न, नाच्न मन लाग्ने मान्छेहरु दिउँसै जान्छन् । अरु व्यवसायचाहिँ दिउँसो गर्न हुने, योचाहिँ नहुने ?

डान्सबार, दोहोरी साँझमा काम गर्ने अधिकांशको घर व्यवहार बिग्रिएको छ । आफ्नो त बिग्रियो बिग्रियो, अरुको पनि बिगार्छन् । जनताको घरमा झगडा बनाइदिने, तनाव दिने लगायतका कार्य सरकारबाटै भइरहेको छ । होटल व्यवसायीलाई फेरि यसले भव्य फाइदा हुन्छ । दिउँसो एक सय पर्ने सामान राति एक हजार रुपियाँमा बेच्न पाइयो । तर, त्यहाँ कार्यरत कर्मचारी र ग्राहकको घर व्यवहार तहसनहस भएको छ । राज्यले यस्ता क्षेत्रलाई दिउँसै सञ्चालन गर्न दिनुपर्छ ।

मनोरञ्जन गर्न मन लागे दिउँसै गर्छन् । बिहान ५ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न दिए भइहाल्यो । राति व्यापार व्यवसाय सञ्चालन गर्नुले समाजमा विकृति ल्याएको छ । रातमा जाँड खाएर गाडी गुडाउँदा दुर्घटना भयो भने उसको ज्यान जान सक्छ । दिउँसो त वरिपरिका भएका मान्छेहरुले उठाएर अस्पतालसम्म लगिदिन्छन् । सरकारले जनता बचाउने होइन, जनता मार्ने काम गरिरहेको छ । सरकारको यो निर्णयमा बेथिति मात्र छ ।

त्यसैले यी व्यवसाय रातको समयमा बन्द गर्नुपर्छ ।राज्यले जनताको विषयमा ख्याल नगरीकन व्यवसायीको पक्षमा निर्णय ग¥यो । व्यवसायीको हितमा राज्यले काम गरिरहेको छ । यो निर्णयले जनतालाई कति क्षति पुगेको छ ? दुर्घटना कति हुन्छ ? लगायतका विषयमा कुनै पनि अध्ययन गरिएको छैन । रातको समयमा खानेकुराको मूल्य ह्वात्तै बढाउँछन् । बाहिर पाँच सय पर्ने सामान राति दुई हजार पर्न जान्छ ।

राति सञ्चालन हुने व्यवसायले जनतालाई लुटिरहेका छन्, ठगिरहेका छन् । दोहोरी साँझ, डान्सबार र रेस्टुरेन्टहरुमा रातको समय कसले पहरा दिने ? सरकारले हरेक मनोरञ्जनात्मक क्षेत्रमा सुरक्षाकर्मी खटाएर साध्य छैन । सरकार धमाधम व्यवसायीको पक्षमा निर्णय गर्छ तर अनुगमन गर्दैन । यी क्षेत्रमा कार्यरत कर्मचारीहरु पनि सभ्य छैनन् । त्यहीँमाथि यिनीहरुले गुन्डा पनि पालेका हुन्छन् ।

दोहोरी साँझहरुमा जति पनि महिला कर्मचारी छन्, तिनीहरुलाई पनि शोषण गरिन सक्छ । एकातिर उनीहरुलाई थोरै तलब दिइएको छ, अर्कोतिर उनीहरुलाई अनेक थरी काम लगाइन्छ ।ग्राहकसँग बसेर रमाइलो गर्नुपर्ने, तिनीहरुको सामान बेचिदिनुपर्ने, रातको अबेलासम्म काम गर्नुपर्ने बाध्यता महिला कर्मचारीलाई छ ।यी व्यवसायीहरुले खानेकुराको रेटसमेत आफूखुशी तोकेका छन् । मेन्यु नै आफ्नो हिसाबले बनाएका हुन्छन् । जति मन लाग्यो त्यति मूल्य राखेका छन्, ग्राहकलाई लुट्नसम्म लुटेका छन् । सरकारले जनतालाई बिगार्ने होइन, सुधार्ने निर्णय गर्नुपर्छ ।

नागरिकबाट कर र भोट लिने कार्य मात्र आफ्नो भएको जस्तो सरकारले देखाएको छ । जनता जन्मिसकेपछि उसलाई पढाउने, लेखाउने, राम्रो बाटो देखाउने काम सरकारको हो । तर, सरकारले जनता बिगार्ने काम गरिरहेको छ । जनता सभ्य भएमात्र देश सप्रिन्छ । होइन भने यसको क्षति सरकारले नै व्यहोर्नुपर्छ । राज्यले जनतालाई जँडिया बनाइरहेको छ । राज्यको असभ्य निर्णयले गर्दा मुलुकलाई निकै क्षति भइरहेको छ । जनताको ज्यानभन्दा ठूलो केही छैन ।

गृहमन्त्रीले काठमाडौंको सिडियोले गरेको निर्णय रोक्नुपर्छ । राति यस्ता व्यवसायी सञ्चालन गर्न रोक लगाउनुपर्छ । एकातिर पैसा सकिएको छ अर्कोतिर घरपरिवारमा तनाव । यसको असर छोराछोरीको मानसिकतामा पनि देखा परेको छ । जाँडरक्सीकै कारणले कतिपयको सम्पूर्ण श्रीसम्पत्ति सखाप भएको छ । कतिपयको अकालमा ज्यान गएको छ । कतिपयको घरपरिवार तहसनहस भएको छ ।

जति पनि अपराधजन्य घटना घटेका छन्, तीमध्ये अधिकांश जाँडरक्सीले गर्दा नै हो । जाँडरक्सीकै लतका कारण घरमा झगडा हुन्छ । श्रीमान्ले श्रीमती कुट्छ, श्रीमतीको ज्यान जान्छ । यस्ता घटना हुनबाट रोक्नका लागि पनि सरकार आफ्नो निर्णयबाट पछि हट्नुपर्छ । सरकार जनताका अभिभावक हुन् ।

जाँडरक्सी खाएर झगडा गर्दा निर्दोष जनताले ज्यान गुमाउनुपरेको छ । उसको परिवारको बिजोग हुन्छ । राज्यले अहिले पनि जाँडरक्सी बेच्न प्रतिबन्ध लगाएको छैन । राज्यले जनता बचाउने हो । जाँडरक्सी बेचेर कर उठाउने र जनता मार्ने काम गर्न पाइँदैन । यता, व्यवसायीहरुले पनि आफू धनी हुनका लागि जाँडरक्सी बेच्न पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्