काँग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ, गगन प्रधानमन्त्री हुने बेला भएको छैन : गच्छदार



विराटनगर।

नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले ठूला २ दल काँग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने  बताउनु भएको छ ।  विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता गच्छदारले चुनावले राजनीतिक अस्थिरता निम्त्याएकाले स्थिर सरकार बनाउनुपर्ने बताउनु भएको हो । एमाले र काँग्रेस मिलेर स्थिर सरकार बनाउनुपर्छ भन्ने पक्षमा आफू रहेको उहाँले बताउनु भयो

काँग्रेस र एमालेको सरकार बनाउन आफूले पहल गर्ने नेता गच्छदारको भनाइ छ । ‘२०४८ सालयता बहुमत भएकै सरकारहरू टिकेनन्,’ उहाँले भन्नुभयो, ‘अब स्थिर र गतिशील सरकार बनाउने हो भने काँग्रेस–एमाले मिल्नुको विकल्प छैन ।’ जनताको अभिमतले पनि एमाले–काँग्रेस मिल्ने खालको आएको उहाँले बताउनु भयो ।  ‘५ वर्षसम्म कसैले हल्लाउने खालको सरकार नबनाउने भन्ने पक्षमा म छु । त्यही भएर पनि जनताले मत दिएर बनेका यी २ ठूला दल मिल्नुको विकल्प छैन भन्ने लाग्छ,’ उहाँले भन्नु भएको छ ।

महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेतामा दाबी गरिरहेका बेला गच्छदारले पुस्तान्तरण अहिले नै सम्भव नभएको दाबी गर्नुभयो । सभापति शेरबहादुर देउवाले नचाहेसम्म असम्भव रहेको उहाँले बताउनुभयो । ‘पुस्तान्तरण बिस्तारै हुँदै जान्छ,’  उहाँले भन्नुभयो ।

जसपा अध्यक्ष उपेन्द्र यादवका कारण देशमा अस्थिरता आउन लागेको समेत उहाँले आरोप लगाउनुभयो । उहाँले जसपाले एमालेसँग गएर मिलेर अस्थिरता ल्याउन खोजेको आरोप लगाउनु भयो ।  ‘काँग्रेस सहितको गठबन्धनमा भएको भए सत्ता गठबन्धनको बहुमत पुग्न सक्थ्यो,’ उहाँले भन्नुभयो, ‘उहाँ एमालेतिर मिल्न जानुभयो । उहाँले पनि हार्नुभयो, मैले पनि हारें ।’

जसपा अध्यक्ष उपेन्द्र यादवले ४ हजार मत सूर्यमा हाल्न लगाएका कारण आफूले पराजय भोग्नुपरेको उहाँले बताउनुभयो  । एमाले अध्यक्ष केपी शर्मा ओलीको उदाहरण दिँदै उहाँले भन्नुभयो , ‘२०६४ सालमा उहाँले हार्नुभयो तर अहिले प्रचण्ड बहुमतले जित्नुभयो । मत ६ पटक जितेर एक पटक हारेको छु । त्यसैले आत्तिनुपर्ने अवस्था छैन ।’

उहाँले अझै १० वर्ष राजनीतिमा सक्रिय हुने बताउनुभयो । २०८९ सालसम्म आफू सक्रिय हुने उहाँले बताउनुभयो  । सुनसरीको ३ नम्बर निर्वाचनमा एमालेकी भगवती चौधरीसँग प्रतिनिधिसभा चुनाव पराजित गच्छदारले १० वर्षसम्म राजनीतिमा सक्रिय हुन पुनः चुनावमा उठ्ने संकेत समेत  गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्