ब्याँस–४ का वडाअध्यक्ष र पूर्व वडाअध्यक्ष प्रहरी नियन्त्रणमा



नेपाल समाचारपत्र, दार्चुला

दार्चुलाको ब्याँस गाउँपालिका–४ को डोकट घटनाको विषयमा सोधपुछ गर्न प्रहरीले उक्त गाउँपालिकाका वर्तमान वडाअध्यक्ष, पूर्व वडाअध्यक्ष र एक जना स्थानीयलाई बुधबार नियन्त्रणमा लिएको छ । वर्तमान वडाअध्यक्ष ४३ वर्षीय झुनसिंह विष्ट, पूर्व वडाअध्यक्ष ५५ वर्षीय संग्रामसिंह विष्ट र ४३ वर्षीय स्थानीय मोहनसिंह विष्टलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुला जिल्ला अदालतले मङ्सिर १८ गते आइतबार पक्राउपुर्जी जारी गरेपछि उहाँहरूलाई नियन्त्रणमा लिई सोधपुछका लागि ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ । ब्याँस गाउँपालिकाको वडानम्बर ४ डोकट बस्ने गायत्री विष्टको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सोही ठाउँ बस्ने दिपक विष्टको समेत भएको ज्यानसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धानका लागि उहाँहरूलाई पक्राउ गरिएको हो ।

मङ्सिर ३ गते रातिदेखि बेपत्ता भएका ब्याँस गाउँपालिका वडानम्बर ४ डोकटका ४० वर्षीय नरसिंह विष्टको भोलिपल्ट घरभन्दा अलि टाढा खोल्सामा मृत अवस्थामा भेटिएको थियो । विष्टको शरीरमा चोटपटक लागेको अवस्थामा स्थानीयले शव फेला परेका थिए । जिल्ला सदरमुकाम खलंगाको महाकाली नगरपालिका–४ स्थित होटल चलाउँदै आएका विष्ट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न मङ्सिर ३ गते दिउँसो खलंगाबाट घर गएका थिए ।

उक्त घटनामा प्रहरीले सोही गाउँ डोकट, चौपखेका २५ वर्षीय दिपक विष्टलाई पक्राउ गरी अनुसन्धान गर्दा हत्यामा आफ्नो संलग्नता रहेको स्वीकारेको भन्दै मंसिर १२ गते प्रहरीले दिपकलाई सार्वजनिक गरेको थियो । दिपकले मङ्सिर ३ गते राती १० बजेतिर गाउँपालिकाको वडानम्बर ४ डोबस्थित दार्चुला–तिंकर सडक खण्डमा नरसिंह विष्ट भेट भएको र आफूले मादक पदार्थ सेवन गरेको अवस्थामा विवाद भएपछि उनको टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेको प्रहरीलाई बताएका थिए । सोही घटनाका विषयमा थप सोधपुछ र अनुसन्धान गर्न प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्