१० हजारभन्दा बढी विद्यार्थी भोलि दीक्षित हुँदै



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयबाट यसपटक १० हजार ४ सय विद्यार्थी दीक्षित हुनेभएका छन् । पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको खेल मैदानमा भोलि शुक्रबार आयोजना हुने ४८औं दीक्षान्त समारोहमा विसं २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्तभित्र ट्रान्सक्रिप्ट लिएका विद्यार्थी सहभागी हुन सक्नेछन् ।

दीक्षान्त मूल समारोह समितिका सदस्य सचिव साधुराम अर्यालले जनाएअनुसार दीक्षान्त समारोहमा स्नातक तहतर्फ ६ हजार ६ सय ९१, स्नातकोत्तरतर्फ ३ हजार ५ सय ४९, एमफिलबाट ५५ र विद्यावारिधिबाट ९७ जना दीक्षित हुँदैछन् ।

दीक्षान्त समारोहमा विद्यार्थी सकुन महर्जनले चार पदक पाउने हुनुभएको छ । स्नातकोत्तर तह २०७६ सालका विद्यार्थी महर्जनलाई विभिन्न चार पदक एवम् पुरस्कार प्रदान गरिने भएको छ । पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका विद्यार्थी महर्जनले ४ सीजीपीए ल्याएर एकैपटक चारपदक पाउने भाग्यमानी विद्यार्थी भएका छन् ।

सम्पूर्ण स्नातकोत्तर तहमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उहाँलाई चान्सलर, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक, रामप्रसाद मानन्धर स्वर्ण पदक र शान्ति नारायण मिश्र पदक प्राप्त हुनेछ । उहाँलाई उपकुलपति र प्रमुख अतिथिले पदक तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

त्यसै गरी त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा अध्ययन गरेका रोहन व्यञ्जनकारलाई तीन ओटा पदक प्रदान गरिने भएको छ । अर्थशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरका व्यञ्जनकारलाई एमए अर्थशास्त्र विषयमा ३ दशमलव ८५ सीजीपीए प्राप्त गरेबापत तारापद चौधरी, खगेन्द्रमान सिं प्रधान र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार र पदक प्रदान गरिने भएको हो ।
त्यस्तै, रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गका छात्रा रविना घिमिरेलाई एमए राजनीतिशास्त्र विषयमा सर्वप्रथम भएको हुँदा

ललितचन्द पुस्कार र बडाकाजी मरीचमान सिंह पदक प्रदान गरिने भएको छ ।सो समारोहमा स्नातक तहका उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिँदै आएको भाइस चान्सलर पदक चन्द्रकला राना पक्लिहवा क्याम्पसलाई प्रदान गरिने छ । त्रिविले सार्वजनिक सूचना जारी गरी उत्कृष्ट विद्यार्थीको नाम र पदक घोषणा गरेको थियो ।

दीक्षान्त समारोहमा प्रमुख अतिथि पञ्जाब केन्द्रीय विश्वविद्यालय भारतका उपकुलपति प्रा. राघवेन्द्रप्रसाद तिवारी रहनुभएको छ । समारोहमा त्रिविका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल लगायतको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्