सोमीद्वारा सलमानले शारीरिक उत्पीडन गरेको आरोप



बलिउडका ख्यातिप्राप्त अभिनेता सलमान खान फिल्मका अलावा अविवाहित भएका कारण जति चर्चामा आउँछन्, त्यतिकै प्रेमिकाका कारण पनि चर्चामा रहने गर्छन्।

यतिबेला, सलमान आफ्नी पूर्वप्रेमिका सोमी अलिले लगाएको एक गम्भीर आरोपका कारण चर्चामा छन्। सलमानको पूर्व प्रेमिका तथा अभिनेत्री सोमीले सलमानले आफूलाई विभिन्न किसिमको शारीरिक उत्पीडन दिने गरेको आरोप लगाएकी छन्। सामाजिक सञ्जालमा सलमानका साथ एक पुरानो फोटो सेयर गर्दै सलमानले आफूलाई कुटपिट गर्ने तथा शरीरमा चुरोटले पोलिदिने गरेको आरोप लगाएकी छन्।

यसका साथै सलमानले भारतमा आफ्नो शो बन्द गराएको र उनलाई केस गर्ने धम्कीसमेत दिएको उनले बलिउडका सञ्चार माध्यमलाई बताएकी छन्। अब त अति नै भइसकेको छ। मेरो शो भारतमा ब्यान्ड गरियो र वकिलमार्फत मलाई धम्की पनि दिइयो। तिमी एक कायर व्यक्ति हौ, यदि तिमी मलाई वकिलको डर देखाउँछै भने म पनि आफ्नो सुरक्षाका लागि ५० जना वकिल खडा गर्नेछु, जस्ले ममाथि भएको शारीरिक उत्पीडन तथा वर्षाै देखि चुरोटले पोल्दै आएकोबाट सुरक्षा दिनेछन् उनले सलमानसँगको पुरानो फोटोसहित क्याप्सनमा लेखेकी छन्। सोमीले सलमानलाई सपोर्ट गर्ने अभिनेत्रीमाथि लज्जित महसुस गरेको समेत बताएकी छन्।

सोमीले सलमानलाई आरोप लगाएको भने यो पहिलोपटक होइन। यसभन्दा अघि पनि उनले सलमानलाई विभिन्न आरोप लगाएकी थिइन्। समाचारअनुसार सोमी किशोर अवस्थामा सलमानको ठूलो फ्यान थिइन्। सलमानकै फिल्म मेने प्यार किया हेरेर बलिउडमा डेब्यु गरेकी पाकिस्तानी मूलकी अमेरिकन मोडल सोमीले बलिउडमा सलमानको साथ फिल्म खेल्ने अवसरसमेत पाएकी थिइन्। तर, उक्त फिल्म स्थगित भयो।

सँगै फिल्ममा काम गर्न नपाए पनि लामो समय सँगै डेट गरेका सलमान र सोमी अहिले एक-अर्काको नराम्रो दुश्मन भएका छन्। लामो समय डेट गरेपछि उनीहरूको ब्रेक अप भएको थियो। एक पुरानो अन्तर्वार्तामा सलमानले आफूलाई धोखा दिइरहेको थाहा भएपछि एक-अर्कँका साथ अलगिएको उनले बताएकी थिइन्। सलमानकी अर्की पूर्वप्रेमिका तथा बलिउड अभिनेत्री ऐश्वर्या रायले पनि सलमानले आफूलाई शारीरिक यातना दिने गरेको आरोप लगाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्