नागरिकता लिनका लागि एक दिन हिँडेर एक हप्तासम्म पर्खिनुपर्ने वाध्यता…



दैलेख ।

नागरिकता प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भए तापनि दैलेखमा नागरिकता लिनका त्यति सजिलो चाहिं छैन । दैलेखमा जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय र दैलेखको दुल्लुमा रहेको इलाका प्रशासन कार्यालयबाट नागरिकता प्रदान गरिन्छ ।

सदरमुकामको जिल्ला प्रशासन कार्यालयबाट ६ वटा पालिकाका नागरिकहरूले नागरिकता लिन पाउँछन् भने इलाका प्रशासन कार्यालय दुल्लुबाट पश्चिम क्षेत्रका ५ वटा पालिकाका नागरिकहरूले नागरिकता लिन पाउँछन् । राहदानी, राष्ट्रिय परिचय पत्रलगायत अन्य महत्वपूर्ण कामका लागि भने जिल्ला प्रशासन कार्यालयलाई मात्र अनुमति छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखमा पर्याप्त संख्यामा कर्मचारीहरू भएको कारण त्यहाँ पुग्ने नागरिकहरूले एक दिनमा नै नागरिकता पाउँछन् तर यता क्षेत्र नं. २ को सदरमुकाम रहेको दुल्लुस्थिति इलाका प्रशासन कार्यालयबाट भने नागरिकता लिनका लागि भने एक दिनको पैदल बाटो हिडेर हप्तौं पर्खिनुपर्ने वाध्यता छ ।

पाँचवटा पालिकाको नागरिकता प्राप्त गर्ने उक्त कार्यालयमा एक दिनको बाटो भएर पश्चिम अछाम र उत्तरको कालिकोटको सिमाना पिपलकोटका नागरिकहरूले समेत हप्तौं पर्खिनुपर्ने वाध्यताले सेवाग्राहीले हैरानी खेप्नुपरिरहेको छ ।त्यति मात्र होइन, कहिलेकाहीँ त कार्यालयमा भीड नियन्त्रणको लागि प्रहरीको सहयोगसमेत लिनुपर्ने हुन्छ ।

गत वर्ष कोभिड माहामारीको समयमा इलाका प्रशासन कार्यालयमा बारअनुसार नागरिकता लिनका लागि सातामा पालो लगाइएकोे थियो । अहिले पनि अवस्था परिवर्तन भएको छैन । कोभिड महामारीको बेलाको जस्तै अहिले पनि नागरिकता लिन सेवाग्राहीले सास्ती खेप्नु परिरहेको छ ।

गत मंगलबार कागजपत्र पेस गरेका दुल्लु नगरपालिका १० का राजु कामीले आइतबार नागरिकता पाएपछि नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मलाई आइतबार बोलाउनुभएको थियो । खोइ पालोे आउँला कि नआउँला भन्ने चिन्ता लागेको थियो तर बल्लबल्ल पाएँ ।’

कालिकोटको सिमानासँग जोडिएको पश्चिम आठबिस नगरपालिकाको ५ नम्बर पिपलकोटका सेवाग्राही दिपेन्द्र विष्टले पाँच दिनपछि नागरिकता प्राप्त गर्दा बल्ल सन्तोषको श्वास फेरेको बताउँदै भन्नुभयो– ‘मेरो नागरिकता त जिल्लामा बनाएको हो, भाइको नागरिकता बनाउन आएको ।

पाँच दिनसम्म होटेलमा खाने र बस्ने काम भयो, साह्रै ठूलो समस्यामा फँसे नि हजुर, के गर्नु ?’ नागरिकता पाउने सवालमा उहाँहरू दुवै भाग्यमानीमा पर्नुहुन्छ । सामान्यतः उक्त कार्यालयबाट नागरिकता पाउन एक साता कुर्नुपर्ने हुन्छ ।त्यसो त सेवा प्रवाहमा ढिलाइ हुनुमा इलाका प्रशासन कार्यालयको कुनै दोष छैन । हाल इलाका प्रशासन कार्यालयमा दरबन्दी अनुसारका कर्मचारीहरू नै छैनन् ।

जसोतसो कार्यालय प्रमुखसहित तीन जना कर्मचारीहरूले कार्यालय धानिरहेका छन् । कार्यालयका प्रमुख तथा शाखा अधिकृत डिल बहादुर कार्की भन्नुहुन्छ– ‘के गर्ने ख्वै ? म आएको समयदेखि यहाँ यस्तै चाप छ । एक हातमा रातो कलम र अर्को हातमा कालो कलम चलाइरहको छु । यता आएर कागजपत्र हेर्ने अनि सनाखत गर्ने, उता गएर तयार भएको नागरिकतामा हस्ताक्षर गर्ने गरेर सेवाग्राहीलाई नागरिकता दिने काम गरिरहको छु । दिउँसोको खाजाको समयमा समेत फुर्सद छैन ।’

दरबन्दीअनुसार कर्मचारीहरू भएको भए एकै दिनमा नागरिकता दिन सकिने जिकिर गर्दै उहाँले भन्नुभयो– ‘दुई जना सुब्बा र दुई जना कम्प्युटरमा काम गर्ने कर्मचारी भए, दुई ठाँउबाट नागरिकता प्रिन्ट गरेर एकै दिनमा नागरिकता दिन सकिन्थ्यो त्यो नभएर सबैलाई सास्ती भएको छ ।’

उता प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाले भने इलाका प्रशासन कार्यालय दुल्लुमा प्रशस्त कर्मचारीहरू भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘त्यहाँ जनसंख्या नै बढी भएकोले चाप बढेको हो । कुनै अरू कार्यालयका कर्मचारीहरूलाई काजमा खटाउने कुरा चलिरहेको छ समस्या समाधान हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्