‘८० को एसईईका लागि नयाँ पाठ्यक्रम



 काठमाडौं । 

आउँदो वर्ष २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नयाँ पाठ्यक्रमअनुसार हुनेभएको छ । चालू वर्ष २०७९ को परीक्षा नै पुरानो पाठ्यक्रम अनुसारको अन्तिम परीक्षा हुनेछ ।

पाठ्यक्रम विकास केन्द्रले आगामी वर्ष कक्षा ५, ८ र १० को पाठ्यक्रम परिवर्तन गर्न लागेको हो । केन्द्रले तीनवटा कक्षाका अनिवार्य विषयका पाठ्यक्रम तयार गरिरहेको जनाएको छ ।‘विसं २०८० सालको शैक्षिक सत्रबाट ती कक्षामा नयाँ पाठ्यपुस्तक अध्यापन गरिने छ’ केन्द्रका महानिर्देशक सहसचिव वैकुण्ठ अर्यालले भन्नुभयो– आउँदो वर्ष एसईईमा सहभागी हुने विद्यार्थीले अनिवार्य विषयको नयाँ पाठ्यपुस्तक पढ्नुपर्नेछ ।

उहाँका अनुसार कक्षा ८ र १० को अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयको पाठ्यपुस्तक तयार भइरहेको छ । त्यसै गरी, कक्षा ५ को अंग्रेजी, विज्ञान, सामाजिक, नेपाली, गणित र स्वास्थ्य तथा शारीरिक गरी ६ वटा विषयको पाठ्यक्रम पनि तयार भइरहेको छ ।

महानिर्देशक अर्यालका अनुसार आउँदो शैक्षिक सत्रमा नयाँ पाठ्यक्रम लागु भएलगत्तै अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन भएको छ । ‘कक्षा ५ को प्रिन्ट रेडी कपी (पीआरसी) तयार भइरहेको, कक्षा १० को अन्तिम चरणमा रहेको र ५ को पुस मसान्तभित्र तयार हुने अवस्थामा रहेको’ महानिर्देशक अर्यालले भन्नुभयो ।

हामीले पुसभित्र तीनवटै कक्षाको पाठ्यक्रम तयार गरी जनक शिक्षा सामग्री केन्द्रमा पठाइसक्नेछौं– उहाँको भनाइ थियो । केन्द्रले कक्षा ५ को पीआरसी जनक शिक्षामा पठाइसकेको जनाएको छ ।पाठ्यक्रम विकास केन्द्रले उपलब्ध गराएको पीआरसीका आधारमा जनक शिक्षाले पाठ्यपुस्तक छाप्ने गर्दछ ।जनक शिक्षाका प्रवक्ता चित्रकुमार आचार्यले आउँदो शैक्षिक सत्रदेखि तीनवटा विषयको पुस्तक छपाइ गर्न लागेको बताउनुभयो । ‘ती विषयको पीआरसी पाएलगत्तै पुस्तक छपाइ गर्नेछौं’– उहाँले भन्नुभयो ।

सरकारले चालु शैक्षिक सत्रमा ४,७ र ९ कक्षाको नयाँ पाठ्यक्रम लागु गरेको छ । विसं २०७८ सालमा कक्षा ६ को नयाँ पाठ्क्रम लागु भएको थियो । विश्वव्यापी मान्यताअनुसार हरेक ५ वर्षमा नयाँ पाठ्क्रम लागु गर्नुपर्दछ । हरेक ५ वर्षमा पाठ्यक्रम परिवर्तन गर्ने जनाए पनि पछिल्लोपटक १३ वर्षमा मात्र परिवर्तन भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विविध कारणले गर्दा विसं २०६३ सालपछि २०७६ सालमा मात्र पाठ्यक्रम परिवर्तन भएको स्वीकार गर्नुभयो ।

‘केही संवेदनशील विषय पाठ्यक्रममा समावेश गर्नुपरे तत्काल उक्त विषयमा परिवर्तन हुनेगरेको छ । होइन भने हरेक ५ वर्षमा अनिवार्य रूपमा पाठ्यक्रम परिवर्तन गर्नुपर्नेहुन्छ– उहाँले भन्नुभयो । उदाहरणका लागि हामीले नेपालको नक्सा परिमार्जन भएलगत्तै सबै तहमा उक्त विषय समावेश गरेका छौं, त्यसबाहेक ५ वर्षमा परिवर्तन गर्ने परम्परालाई निरन्तरता दिन थालेका छौं ।

प्रतिक्रिया दिनुहोस्