फ्रान्स र इंग्ल्यान्ड क्वार्टरफाइनलमा



दोहा, (एजेन्सी) । 

इंग्ल्यान्ड र वर्तमान विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  अन्तिम १६ को खेलमा फ्रान्सले पोल्यान्ड र इंग्ल्यान्डले सेनेगललाई हराउँदै अन्तिम आठमा भिडन्त पक्का गरेको हो ।

आइतबार राति अल थुमामा रंगशालामा फ्रान्सले पोल्यान्डमाथि ३–१ गोलअन्तरको जित दर्ता ग¥यो । फ्रान्सको जितमा दुवै फरवार्ड ओलिभिएर जिरुड र केलियन एमबाप्पेले गोल गरे । पहिलो हाफको अन्त्यतिर जिरुडको गोलमा अघि बढेको फ्रान्सले दोस्रो हाफको एमबाप्पेको दुई गोलमा जित पक्का गरेको थियो । पहिलो हाफको अन्तिम मिनेटमा जिरुडले फ्रान्सलाई अघि बढाएका थिए ।

दोस्रो हाफमा एमबाप्पेले काउन्टर अट्याकमा आफ्नो गतिको सदुपयोग गर्दै फ्रान्सलाई सहज अवस्थामा पु¥याए । एमबाप्पेले दुवै गोलमा उत्कृष्ट फिनिसिङ गरेका थिए । खेलको ३५औं मिनेटमा पोल्यान्डको लगातार तीन आक्रमणलाई फ्रान्सका गोलरक्षक ह्युगो लोरिस र डिफेन्डरहरुले ६ यार्ड बक्सबाट रोके ।

बायाँ विंगबाट शुरु भएको आक्रमणपछि पेनाल्टी क्षेत्रभित्र पोल्यान्डले तीनपटक रिबाउन्डमा प्रहार गर्न पाउँदा पनि फ्रान्सविरुद्ध अग्रता लिन सकेन । पहिलो हाफको एक मिनेट समय बाँकी रहँदा जिरुडले गोल गरे । केलियन एमबाप्पेको पासलाई पेनाल्टी क्षेत्रभित्र लग्ने क्रममा अफसाइड ट्रयाप बिट गरेका उनले वन भर्सेस वनमा फिनिस गरे ।

यससँगै जिरुड ५२ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सका लागि सर्वाधिक गोलकर्ता पनि बने । सर्वाधिक गोलकर्ता बन्ने क्रममा जिरुडले लेजेन्ड थिएरी हेनरीको कीर्तिमानलाई तोडेका हुन् । हेनरीले १९९७ देखि २०१० सम्म १ सय २३ खेल बाट ५१ गोल गर्दै फ्रान्सको सर्वाधिक गोलकर्ता बनेका थिए ।

जिरुडले २०११ देखि यो अवधिसम्म १ सय १६ क्याप जित्दा ५२ अन्तर्राष्ट्रिय गोल गर्दै कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । ४२ गोलसहित एन्टोइन ग्रिजमन तेस्रो स्थानमा रहेका छन्। चौथो स्थानमा रहेका मिचेल प्लाटिनीले ४१ तथा करिम बेन्जेमाले ३७ गोल गर्दै पाँचौं स्थानमा रहेको छ ।

त्यसैगरी, खेलको ७४औं मिनेटमा एमबाप्पेले फ्रान्सको उत्कृष्ट काउन्टर अट्याकमा अग्रता दोब्बर पारे । उनले ओस्मान डेम्बेलेको पासमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक सेचेज्नीले बचाउने कुनै अवसर पाएनन् । इन्ज्युरी समयको पहिलो मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल थपेपछि फ्रान्सले सहज जित पक्का ग¥यो । मार्कस थुरामको पासलाई पेनाल्टी क्षेत्रभित्र रोकेका एमबाप्पेले कठिन एंगलबाट सुन्दर गोल गरे ।

दुई डिफेन्डरको बीचबाट उनले गरेको प्रहार सेचेज्नीले बचाउन सकेनन् । इन्ज्युरी समयको अन्तिम मिनेटमा पोल्यान्डले पेनाल्टी प्राप्त ग¥यो । रोबर्ट लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक ह्युगो लोरिसले बचाए पनि रेफ्रीले पुनः प्रहार गर्न निर्णय दिए । प्रहार गर्नुअघि गोलरक्षक लोरिस गोललाइनबाट बाहिर आएकाले पुनः प्रहार गर्न पाएका थिए । दोस्रो प्रयासमा भने लेवान्डोस्की गोल गर्न सफल रहे । अब फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ ।

सेनेगललाई ३–० गोलअन्तरले हराउँदै इंग्ल्यान्डले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । अल बेयत रंगशालामा आइतबार सेनेगललाई ३–० ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम ८ मा स्थान बनाउन सफल रह्यो । पहिलो हाफमा दुई गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा एक गोल थपेको थियो । इंग्ल्यान्डका लागि जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले गोल गरे । खेलको ३८औं मिनेटमा इंग्ल्यान्डले हेन्डरसनको गोलमा अग्रता लियो । जुड बेलिंघमले बायाँ विंगबाट दिएको लो पासलाई उनले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमै गोल गरेका थिए ।

पहिलो हाफको अन्तिम मुभमा इंग्ल्यान्डले अग्रता दोब्बर पा-यो । कप्तान केनले प्रतियोगिताको पहिलो गोल गर्ने क्रममा उत्कृष्ट फिनिस गरे । काउन्टर अट्याकमा फोडेनले दिएको बल अघि बढाउँदै केनले पेनाल्टी क्षेत्र भित्रबाट शक्तिशाली प्रहार गर्दै जारी विश्वकपमा गोलको खाता खोले ।

दोस्रो हाफको ५७औं मिनेटमा इंग्ल्यान्डले अर्को गोल थप्यो । यसपटक फोडेनको पासमा बुकायो साकाले गोल गरे । पेनाल्टी क्षेत्रभित्र डिफेन्डर बिट गरेर अघि बढेका उनले फोडेनको पासलाई पहिलो टचमै गोलमा परिणत गरे । जितसंगै इंग्ल्यान्डले अब क्वार्टरफाइनलमा फ्रान्सको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्