संसद्मा कांग्रेस पहिलो दल

सत्ता गठबन्धनको घटक एकीकृत समाजवादी स्वतन्त्र हैसियतमा



काठमाडौं । 

प्रतिनिधि सभा सदस्य निर्वाचनबाट आगामी पाँच वर्षका लागि नेपाली कांग्रेस संसद्को पहिलो दल बनेकोे छ । मङ्सिर ४ गते भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेसले ५७ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेर पहिलो दल बनेको हो ।

यो निर्वाचनमा भर्खरै दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी, पञ्चायत कालदेखिकै पुरानो दल राष्ट्रिय प्रजातन्त्र पार्टी र तराईमा भर्खर जन्मिएको जनमत पार्टी राष्ट्रिय दल बनेका छन् । तर, सत्ता गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी) पार्टी राष्ट्रिय पार्टी बन्न सकेन ।साना दललाई प्रत्यक्ष र समानुपातिकमा समेत राम्रो मत दिएर पठाउँदै गर्दा सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको एकीकृत समाजवादी पार्टीलाई मतदाताले स्वतन्त्रको हैसियतमा पु¥याइदिएका छन् । उक्त पार्टीका प्रत्यक्षमा निर्वाचित १० सांसद पनि स्वतन्त्र हुने भएकाले संसद्को अंकगणितमा पार्टीको ह्विप नलाग्ने र आगामी संसद्को हरेक निर्णय प्रक्रियामा दलहरूलाई जोखिम बढ्न सक्ने आँकलन नेताहरूले गरेका छन् ।

सत्ता गठबन्धनमा समावेश पाँच दलमध्ये नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) मात्रै राष्ट्रिय पार्टी बन्न सफल भए । गठबन्धनमा सामेल नेकपा (एकीकृत समाजावादी), लोसपा र जनमोर्चा समेतका तीन दलले थ्रेसहोल्ड कटाउन सकेनन् । चुनावी परिणाम सन्तोषजनक नआए पनि गठबन्धनलाई कायमै राखेर आगामी सरकार सञ्चालनका विषयमा छलफल भइरहेको नेकपा समावजादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो ।

प्रतिपक्षी गठबन्धनमा रहेका दलहरूमध्ये नेकपा एमालेले सबैभन्दा ठूलो पार्टी बनेको छ । उसले ४४ सिट जितेको छ भने राप्रपा र जसपाले ७–७ सिट पाएका छन् । एमालेसँग गठबन्धन गरेको राप्रपा नेपालले एक सिट पनि जित्न सकेन ।प्रतिनिधि सभाका १ सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये १ सय ६४ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । यो अवस्थामा सबैभन्दा ठूलो बनेको कांग्रेस समानुपातिकमा भने दोस्रो बनेको छ । प्रत्यक्षमा १३ सिट कम ल्याएर दोस्रो बनेको नेकपा एमाले समानुपातिकमा पहिलो भएको छ । त्यस्तै, १७ ठाउँमा जितेको माओवादी केन्द्र समानुपातिकमा पनि तेस्रो स्थानमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्