मिडियामाथि चुनौती



जीवनमा प्रगति गर्नुछ भने चुनौतीको सामना गर्ने तत्परता हुनुपर्छ । तर केही चुनौतीहरु यस्ता हुन्छन् जसले जीवनलाई नै धराशयी बनाउँछ । विश्वमा पत्रकारितामाथि थपिएका पछिल्ला चुनौतीले यसलाई प्रगतिभन्दा पनि धराशयी बनाउने दिशातिर धकेलिरहेको देखिन्छ । पुराना मिडियामा पत्रकारिता गर्ने समूहलाई नयाँ वा डिजिटल मिडिया चुनौती बनेर आएको छ ।

त्यसैले छापा, रेडियो र टेलिभिजनजस्ता पत्रकारिता गर्ने पुराना माध्यमहरुले डिजिटल वा अनलाइन मिडियालाई पनि सँगै लगेका छन् । नेपालको सन्दर्भमा भन्नुपर्दा, विज्ञापनका लागि प्राप्त विश्वासलाई हेर्दा छापा माध्यमको अवस्था कमजोर देखिन्न । न्यू मिडियाले पुरानो मूलधारको पत्रकारितालाई अर्को किसिमको दबाब भने दिइरहेको छ ।

‘मिस इन्फर्मेसन’ र ‘डिस इन्फर्मेसन’ का कारण आज विश्व नै चिन्ताग्रस्त छ । प्राप्त सन्देश वा सुराकलाई प्रशोधन र पुनर्पुष्टि नै नगरी प्रकाशित गर्दा ‘मिस इन्फर्मेसन’ प्रवाहित हुने सम्भावना बढ्छ भने सुनियोजित रुपमै कसैका विरुद्ध कलम चलाउँने प्रवृत्तिले ‘डिस इन्फर्मेसन’ जन्माउँछ । बजारले थेग्नेभन्दा बढी मिडियाको जन्म भएका कारण बाँच्नका लागि पनि उनीहरुबाट गलत काम भएको छ । नेपालको सन्दर्भमा भन्नुपर्दा मूलधारका मिडियाका लागि सरकारले जे–जति विज्ञापन दिनेगरेको छ, त्यसको ९० प्रतिशतसम्म रकम सरकारी कर्मचारीले अनौपचारिक रुपमा खानेगर्दछन् भन्ने तथ्यले सबैलाई चकित पारेको छ ।

अर्को शब्दमा भन्नुपर्दा, मूलधारको मिडियालाई मार्ने काममा न्यू मिडियाले भन्दा बढी यी कर्मचारीहरुले मुख्य भूमिका खेलेका छन् । अति दबाब र शोषणमा परेका तथा तनाबमा बाँच्न बाध्य भएका मिडियाबाट ‘मिस इन्फर्मेसन’ र ‘डिस इन्फर्मेसन’ को सम्भावना बढ्नु स्वाभाविक हुनआउँछ । यसका अतिरित्त, कानुनी प्रावधानहरुले पनि मिडियालाई दबाबमा पारेको छ । अभिव्यक्ति स्वतन्त्रतामा करौंती लगाइँदै छ । छिमेकी भारतका व्यावसायिक पत्रकारहरुको अनुभवमा प्राय सबै च्यानल र अनलाइनहरु ‘गोदी पत्रकारिता’ गरिरहेका छन् । ती सबैले पत्रकारिता गरिरहेको दाबी गरेपनि, वास्तवमा उनीहरुले समाचारका नाममा ‘एड्भर्टोलियल’ प्रकाशित गरिरहेका हुन्छन् ।

आफूहरूले उच्च स्तरको पत्रकारिता गर्न चाहेको उनीहरूको भनाइमा पाठकहरुले सन्देह गरिरहेका हुन्छन् । त्यसैले कति मिडियाकर्मीले यस पेशालाई नै छोडिरहेका छन् । कतिपयले जागिरको बाध्यता बाहेक पत्रकार बन्नुको कुनै अर्को कारण नै देखिरहेका छैनन् । उनीहरुमा पत्रकारिताको कुनै उत्साह नै छैन । भारतका पत्रकार रविस कुमार लेख्छन्, ‘न्यायाधीशसम्मले जमानत दिंदा पनि उनीहरुलाई तारो बनाइन्छ, न्यायाधीशलाई नै डर लाग्छ भने यस दौडमा पत्रकारले मलाई डर लाग्दैन’ भन्यो भने त्यो आफैलाई ढाँटिरहेको वा अपराध गरेको मान्नुपर्छ ।

छिटो–छरितो सेवाका लागि न्यू मिडियाको आकर्षण बढ्नु स्वागतयोग्य हुनसक्छ, यसका कारण पुरानो मिडियालाई दबाब परेपनि आम पाठक–श्रोताले सुविधा पाइरहेका छन् भनेर प्रसन्न हुनसकिन्छ, तर हाम्रो सन्दर्भमा न्यू मिडिया जसमा युट्युब पत्रकारिताको प्रभाव अधिक छ, ले सिर्जना गरेका भ्रम पुरानो मिडियाले ठीकपार्दै हिंड्नुपर्ने दबाब पनि यसमाथि परेको छ । यसरी हेर्दा, चुनौती पुरानो मिडियामाथि मात्र होइन, नयाँ मिडियामाथि पनि उत्तिकै छ– विश्वसनीयताको चुनौती । ‘युट्युबे पत्रकारितालाई विश्वास गर्नसकिन्न, यिनीहरु जे पनि प्रकाशित गर्छन्’ भन्ने अभिव्यक्ति आज यत्रतत्र सुनिन्छ । त्यसैले मिडिया जगत्ले भोगेका चुनौतीका विषयमा बृहत् विमर्श चलाउनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्