अबको सरकार सत्ता गठबन्धनकै, प्रधानमन्त्री काँग्रेसबाट : माओवादी नेतृ रेखा शर्मा



बुटवल।  

आगामी सरकार सत्ता गठबन्धन सरकारको प्रधानमन्त्री नेपाली काङ्ग्रेसबाट हुने दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले बताउनु भयो । दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) की नेतृ रेखा शर्माले सरकारको नेतृत्व आलोपालो गर्ने निर्णय भएको तर पहिला कसले नेतृत्व गर्ने भन्ने बारेमा सहमति जुटाउनुपर्ने बताउनुभएको छ । शुक्रवार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली काँग्रेसको प्रधानमन्त्रीमा दाबी रहनु स्वाभाविक भएको पनि बताउनु भएको हो ।

रिपोर्टर क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले पार्टीबाट प्रधानमन्त्रीको लागि को आउने भन्ने निर्णय पार्टीको मात्रै भएको बताउँदै यसको विषयमा बाहिरबाट टिका टिप्पणी आवश्यक नरहेको बताइन् । उहाँले माओवादी केन्द्र पनि गठबन्धनको दोस्रो ठुलो दल भएको बताउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित छलफल गरेर प्रधानमन्त्री टुङ्गिने बताउनु भयो । उहाँले माओवादी केन्द्रले गठबन्धनमा कुनै घात नगर्ने प्रक्रिया दिँदै माओवादीलाई विश्वास गर्न आग्रह गर्नु भयो ।

पत्रकारहरूले गरेको सरकारमा शर्माको भूमिकाको विषयको जिज्ञासाको जवाफ दिँदै शर्माले पार्टीले जुनसुकै मन्त्री दिए पनि स्विकार्दै त्यसको जिम्मेवारी पुरा गर्न सक्षम रहेको दाबी गर्नु भयो । गठबन्धनको सरकार रहेकोले अहिले नै यो मन्त्री भनी हाल्ने अवस्था नरहेको उहाँको तर्क छ । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई दाङबाट पराजित गर्नको लागि निकै मेहनत गठबन्धनका दलबाट समेत भएको बताउँदै गठबन्धन सफल भएको दाबी गर्नु भयो ।
कार्यक्रम रिपोर्टर क्लब अध्यक्ष रामकुमार क्षत्रीको अध्यक्षतामा भएको थियो भने सञ्चालन तेजेन्द्र केसीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्