साउदी अरबियामा हुने विश्व पारा ग्रान्ड प्रिक्समा जाने तेक्वान्दो टोलीको बिदाइ



काठमाडाैं  । 

साउदी अरबियाको रियादमा हुने विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, सदस्यद्वय रामचन्द्र श्रेष्ठ र कुमार घिसिङले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका हुन् । टोली सोमबार रियाद प्रस्थान गर्ने कार्यक्रम छ ।

८ देखि १० डिसेम्बरसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि पारा ओलम्पियन पलेशा गोबद्र्धन र ५२ केजीमुनि सिर्जना घिसिङले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा इन्टरनेसनल लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा छन् ।

पेरिस पारा ओलम्पिकका लागि ¥याङकिङ प्रतियोगिता समेत भएकाले प्रतियोगिता महत्वपूर्ण मानिन्छ । विश्व वरीयतामा शीर्ष १६ स्थानमा रहने खेलाडीले मात्र यो प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्छन् । विश्व वरीयतामा पलेशा १०औं र सिर्जना १४औं स्थानमा छन् । प्रशिक्षक लामाका अनुसार आफ्नो तौल समूहमा शीर्ष ६ स्थानमा रहने खेलाडी पेरिस पारा ओलम्पिकमा सीधै खेल्न पाउने प्रावधान छ ।

अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा पलेशाले तीन तथा सिर्जनाले दुई पदक जितेका छन् । प्रशिक्षक लामाले अनुभवी खेलाडी भएकाले दुवैबाट राम्रो नतिजाको अपेक्षा गरिएको बताए । प्रतियोगिताकै दौरान हुने विश्व तेक्वान्दो गाला अवार्डमा पनि नेपाली टोली सहभागी हुनेछ । १० डिसेम्बरमा हुने अवार्ड कार्यक्रममा वर्ष पुरुष÷महिला खेलाडी, प्रशिक्षक, रेफ्रीलगायतलाई सम्मान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्