प्रधानमन्त्रीका लागि देउवाविरुद्ध दुई महामन्त्री एक ठाउँ



काठमाडौं ।  

नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाविरुद्ध दुई महामन्त्री एक ठाउँमा उभिएका छन् । १४औं महाधिवेशनमा फरकफरक कित्तामा रहेर निर्वाचित विश्वप्रकाश शर्मा र गगन थापा संसदीय दलको नेताका लागि एकै ठाउँमा उभिने भएका हुन् ।

सभापति शेरबहादुर देउवासहितका पुराना नेताहरूप्रति जनस्तरमा वितृष्णा देखिएको अवस्थामा आगामी सरकारको नेतृत्वका लागि युवा नेताहरू एक भएर अघि बढ्ने तयारी भइरहेको नेताहरूले बताएका छन् । अबको नेतृत्व युवा पुस्तामा आउनुपर्ने र नयाँ योजनासहित जनभावनाअनुसार सरकार हाँक्ने अठोटका साथ दुई महामन्त्री एक ठाउँमा उभिएर सकारात्मक सन्देश दिएको कांग्रेसका दोस्रो पुस्ताका नेताहरू बताउँछन् । यद्यपि, गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम आउन बाँकी छँदै कांग्रेसभित्र प्रधानमन्त्रीका दाबेदारहरूको लाइन लागेको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य प्रकाशमान सिंहले संसदीय दलको नेता बन्नका लागि कसरत शुरू गर्नुभएको छ ।

यसैबीच पौडेलले बिहीबार आफू प्रधानमन्त्रीको स्वाभाविक उम्मेदवार भएको बताउनुभएको छ । कोइराला र सिंहले चुनाव जितेलगत्तै प्रधानमन्त्री हुने आशय व्यक्त गर्नुभएको थियो । देउवाले सार्वजनिक रूपमा नबोले पनि आफ्नो पक्षमा बहुमत सांसदहरू बनाएर टिकट वितरण र समानुपातिक बन्द सूचीमा राखेर ढुक्क बस्नुभएको छ । संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले संसदीय दलको नेतामा कसलाई सहयोग गर्ने भनेर मुख खोल्नुभएको छैन ।

१४औं महाधिवेशनमा सभापति देउवासँग प्रतिस्पर्धामा उत्रिएका नेता डा. शेखर कोइरालाले अहिलेको अवस्थामा सभापति देउवा नै बलियो देखिएको बताउनुभएको छ । उहाँको अभिव्यक्तिले गगन थापालाई सहयोग गर्नेमा शंका उब्जिएको संस्थापन पक्षकै नेताहरू बताउँछन् ।
कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था रहेकाले संसदीय दलको नेता बन्न पाँचै जनाले गृहकार्य थालेका हुन् । सभापति देउवाले उत्तराधिकारीका रूपमा उपसभापति पूर्णबहादुर खड्कालाई अघि सार्ने चर्चासमेत चलेको छ । संस्थापनइतर पक्षबाट सबैभन्दा बलियो उम्मेदवारका रूपमा महामन्त्री गगनकुमार थापालाई नै लिइएको छ भने संस्थापन पक्ष र त्यहाँ जोडिएको पहिलो पुस्ताका नेताहरूबीच हानाथाप शुरू भएको छ ।

महामन्त्री विश्वप्रकाश शर्माले भने आगामी प्रधानमन्त्रीका लागि नेता गगन थापालाई प्रस्ताव गर्न पार्टी सभापति देउवालाई मनाउने अभियानमा लागेको बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘म आफैंले गगन थापालाई प्रधानमन्त्री बनाउनका लागि संसदीय दलको नेतामा प्रस्ताव गर्ने मात्रै हैन, पार्टी सभापति शेरबहादुर देउवालाई कन्भिन्स गराउने प्रयास गर्नेछु ।’ शर्माको यो अभिव्यक्तिपछि पार्टी भित्रका पुराना नेताहरूमा हलचल आएको छ ।
यो निर्वाचनमा कांग्रेस पहिलो दल हुने भएकाले उसको नेतृत्वमा सरकार बन्ने सम्भावना बलियो छ । यही अवस्थामा संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाबीच मुख्य प्रतिस्पर्धा देखिन्छ ।

दलको नेताका सबै आकांक्षीहरूले निर्वाचित सांसदहरूलाई भेट्ने, बधाई तथा शुभकामना दिने क्रममा आगामी समीकरणका सन्दर्भमा संवाद अघि बढाएका छन् । उनीहरू समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्य बन्ने सम्भावना रहेका नेताहरूलाई समेत विस्तारै आफ्नो पक्षमा ल्याउने कसरत थालिसकेका छन् ।सार्वजनिक रूपमै संसदीय दलको नेताको तयारीमा जुटेका महामन्त्री गगन थापाले भन्नुभयो– ‘अव पहिलो सिटमै बसेर देश हाँक्ने र जनभावनाअनुसार काम गर्न तयार भएकाले पहिलो तहका नेताहरूबाट सहयोगको अपेक्षा गरेको छु । पार्टीप्रति जनताको आशा जगाइराख्न पनि पुस्तान्तरण हुनुपर्छ ।’

निर्वाचन आयोगले गरेको औपचारिक घोषणाअनुसार कांग्रेसले प्रतिनिधि सभामा हालसम्म ५५ सिट जितेको छ । निर्वाचित सांसदहरूको अंक गणित हेर्दा संस्थापन पक्ष निकै बलियो देखिन्छ तर पार्टीमा नयाँ जागरण ल्याउन र घटेको साख जोगाउनलाई सांसदहरूले नेतृत्व पुस्तान्तरणको कुरामा अभियान चलाउन सक्ने विश्वप्रकाश शर्माको अभियानले संकेत गरेको छ । शर्माले मआधिवेशनमा प्रकाशमान सिंह समूहबाट महामन्त्री जित्नुभएको थियो । सभापतिको दोस्रो चरणको मतदानमा सिंह समूहले देउवालाई नै सहयोग गरेर सभापति बनाएको थियो । उहाँजस्तै नयाँ अनुहारले गगनलाई सहयोग गर्ने सम्भावना बलियो छ । नवनिर्वाचित एक सांसदले भने– ‘यी नेताहरूको अव खासै केही चल्दैन, यिनका कुरा कसैले पत्याउने वाला छैन ।’

संस्थापन पक्षका प्रत्यक्ष निर्वाचित सांसदहरू

बिहीबारसम्म प्रत्यक्ष निर्वाचन जितेका ५५ मध्ये ३५ जना संस्थापन पक्षीय सांसद हुन् । जसमा शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, प्रदीप पौडेल, रमेश लेखक, वीरबहादुर बलायर, डा. नारायण खड्का, मोहनबहादुर बस्नेत छन् । त्यस्तै, यो समूहमा किशोरसिंह राठौर, श्यामकुमार घिमिरे, शंकर भण्डारी, रामहरि खतिवडा, डिल्लीराज पन्त, पुष्पबहादुर शाह, सीता गुरुङ, दीपक खड्का, अजयकुमार चौरसिया, रमेश रिजाल, महेन्द्रकुमार राय, दिनेशकुमार यादव, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, दुर्लभ थापा क्षेत्री, मोहन आचार्य, पूर्णबहादुर तामाङ, उदयशमशेर जबरा, विष्णुकुमार कार्की, टेकबहादुर गुरुङ, खमबहादुर गर्बुजा, विनोदकुमार चौधरी, ऐनबहादुर शाही ठकुरी, तेजुलाल चौधरी र देवप्रसाद तिमल्सिना छन् ।

इतर समूहबाट प्रत्यक्षतर्फ निर्वाचित सांसदहरू

इतर समूहबाट १८ जना सांसद निर्वाचित भइसकेका छन् । जसमा डा. शेखर कोइराला, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, चन्द्र भण्डारी, डिगबहादुर लिम्बु, सुनीलकुमार शर्मा, रामकृष्ण यादव, रामनाथ अधिकारी, राजेन्द्र बजगाईं, योगेश गौचन थकाली, राजु थापा, सुरेन्द्रराज आचार्य, दीपक गिरी, सञ्जयकुमार गौतम, दिक्पालकुमार शाही, हृदयराम थानी छन् । बाजुरा र स्याङ्जा २ मा मत गणना जारी छ । यी दुवै जिल्लाका उम्मेदवार कांग्रेसको संस्थापनइतर समूहका हुन् । उनीहरूले जित्दा यो समूहमा २० जान पुग्नेछन् । रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह आफैं पहिलो हुन लागेपछि उहाँहरूका पछि को को सांसद लाग्छन् भन्ने अहिले नै भन्न सक्ने अवस्था भने छैन ।

समानुपातिकको अवस्था

नेपाली कांग्रेसले प्राप्त गरेको मतका आधारमा समानुपातिकतर्फबाट ३२ सिट पाउने देखिन्छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ रहेका ११० सिटमा जातीय क्लस्टरअनुसार सांसद चुनिने व्यवस्था छ । जसअनुसार प्रतिनिधि सभामा २८.७० प्रतिशत आदिवासी जनजाति, ३१.२० प्रतिशत खस आर्य, ६.६० प्रतिशत थारू, १३.८० प्रतिशत दलित, १५.३० प्रतिशत मधेसी र ४.४० प्रतिशत मुस्लिमको प्रतिनिधित्व हुनेछ । यसरी प्रतिनिधित्व गराउँदा महिलाको संख्या ३३ प्रतिशत पु¥याउनै पर्ने संवैधानिक व्यवस्था छ । महिलाको ३३ प्रतिशत सहभागिता पु¥याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार समानुपातिकतर्फ कांग्रेसका पुरुष उम्मेदवारहरूको संख्या न्यून हुने अवस्था छ ।

संसदमा महिला सहभागिता ३३ प्रतिशत पु¥याउनुपर्दा कांग्रेसका समानुपातिकमा ३÷४ जना पुरुषले मात्रै स्थान पाउनेछन् । टिकट पाएका ५ महिलामध्ये तेह्रथुमबाट एक जना महिला सिता गुरुङ मात्रै निर्वाचित भएपछि पुरुष उम्मेदवार छनोटमा पर्न नसक्ने भएका हुन् । पार्टीले बुझाएको बन्दसूचीअनुसार सरस्वती बजिमय, लीलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, विनाकुमारी थनेत, शान्ति विक, रूपा विक, सीता मिजार, आशा विक, विष्णुमाया परियार, नगिना यादव, मुक्तकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल, नीनुकुमारी मण्डल, जावेदा खातुनको सम्भावना बलियो देखिन्छ ।

त्यस्तै, पुरुषमा पहिलो नम्बरमा पर्नुभएका खसआर्यबाट डा. प्रकाशशरण महत, जनजातिबाट गोपालमान श्रेष्ठ, मधेशीबाट विमलेन्द्र निधि र दलितबाट जीवन परियारको नाम अगाडि छ । यिनीहरूमध्ये २२ जना संस्थापन पक्षीय र १० जना संस्थापनइतर पक्षीय उम्मेदवार रहेको कांग्रेसका नेताहरूको भनाइ छ ।

महिलाको संख्या पु-याउनुपर्ने बाध्यात्मक अवस्थाका कारण विभिन्न क्लस्टरबाट १ नम्बरमा सिफारिस भएका पुरुषहरूलाई समेत संसदमा छिर्न चुनौती बढेको नेपाली कांग्रेसका नेता मनोजमणी आचार्यले बताउनुभयो । यसरी हेर्दा सभापति देउवा निकट सांसदहरूको बहुमत देखिएको छ ।यद्यपि, पटकपटक प्रधानमन्त्री भएका देउवाको विकल्पका रूपमा बलियो बनेर निस्कनुभएका थापालाई नयाँ सांसदहरूले संसदीय दलको नेता स्वीकार गरेको अवस्थामा उहाँलाई प्रधानमन्त्रीको बाटो खुल्नेछ । बहुमत सांसदहरू देउवाकै पक्षमा रहेकाले पुनः उहाँलाई नै दलको नेता बनाउने सम्भावना बलियो हुँदाहँुदै पनि देउवासँग चुनाव लड्ने आँट गरेका थापालाई विश्वप्रकाशको जस्तै धेरै सांसदहरूले टिम नहेरी मतदान गर्न सक्ने अपेक्षा थापा निकटका नेताहरूले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्