बहुआयामिक सुरक्षा चुनौतीमा नेपाल



विश्व अहिले दुई ध्रुर्वमा विभाजित अवस्थामा पुगेको छ । एउटा ध्रुवको नेतृत्व संयुक्त राज्य अमेरिकाले गरेको छ भने अर्को ध्रुवको नेतृत्व छिमेकी मुलुक चीनले गर्न खोजेको छ । विश्व शक्ति राष्ट्रको खेलमा अर्को छिमेकी मुलुक भारत पनि संलग्न हुनथालेकोे छ । यसको पराकम्प नेपालमा पनि देखिन थालेको छ ।

यसले नेपालमा कूटनीति, सुरक्षा र राजनीतिमा असर गर्छ । नेपालमा अहिले पनि राजनीतिमा यसको असर प्रष्ट रुपमा देखिएको छ । नेपाली राजनीतिमा अमेरिका, भारत, चीन र युरोपेली युनियनको चासो देखिने गरेको छ । नेपालमा यो यसको पराकम्प हो । नेपालका राजनीतिज्ञ, कर्मचारीतन्त्र र अन्य क्षेत्रमा रहेकाहरुको काम गराइले यसको पुष्टि गरेको छ । अहिले विश्वमा देखिएको दुई ध्रुवीय लडाइँलाई कसैले नेपालका राजनीतिज्ञ तथा कर्मचारी तन्त्रले धान्नसक्ने अवस्था देखिंदैन ।

नेपाल दुई विशाल छिमेकी मुलुकको बीचमा रहनु र अन्य देशले नेपाललाई नजिकबाट नियालेर हेर्नुले पनि नेपालमा वहुआयामिक सुरक्षा चुनौतीहरु देखिएका छन् । नेपालको सन्दभमा कुरा गर्ने हो भने आन्तरिक सुरक्षाको जिम्मेवारी दिएको नेपाल प्रहरीको हालत हेर्ने हो भने सुरक्षा अवस्था कस्तो छ त्यो छर्लङ्ग हुन्छ ।मुलुकभर मंसिर ४ गते संघ र प्रदेशसभाको चुनाव सम्पन्न भयो । चुनावको सुरक्षाका लागि नेपाल प्रहरीले नेपाली सेनासँंग साना हतियार सापटी लिएर सुरक्षामा खटिनुपर्ने र नयाँं सवारी साधन प्राप्त गर्न निर्वाचन कुर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा मुलुकको आन्तरिक सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीले कसरी सुरक्षा गर्ला यो आम चिन्ताको विषय हो ।

नेपाल प्रहरीको अवस्था यस्तो छ भने अपराध र अपराधीहरुले प्रविधिको प्रयोग गरेर दुनियालाई हायलकायल बनाइरहेका छन् । नेपालको प्रविधिको तयारीको अवस्था हेर्ने हो भने दयनीय अवस्था छ । नेपालमा प्रविधिको दुरुपयोग तीव्र गतिमा बढेको छ । नेपालमा यस्ता सुरक्षा चुनौतीलाई रोक्न जसरी तयारी र लगानी गर्नुपर्ने थियो त्यो हुन सकेको देखिदैन । यसमा नेपाल सरकारले तयारी र लगानी गर्न सकेन भने मुलुकको सुरक्षाको अवस्था कल्पना गरेभन्दा बाहिर जाने निश्चित देखिन्छ । प्रविधिको प्रयोगले अपराध र अपराधीको शैली परिवर्तन हुदैगएको छ ।नेपालको मुख्य सुरक्षा चुनौती भनेको भारतसँंगको खुल्ला सिमाना, हातहतियारको तस्करी, मानव बेचबिखन, लागू औषधको अवैध कारोवार लगायतको अवस्थालाई विश्लेषण गर्ने हो भने नेपालको सुरक्षा अवस्था गम्भीर मोडमा उभिएको छ ।

नेपालमा संगठित रुपमा हँुदैआएको अपराधको पछिल्लो अवस्थालाई विश्लेषण गर्ने हो भने पनि नेपालका कुनै पनि निकायले त्यसलाई नियन्त्रण गर्नसक्ने अवस्था देखिदैन । नेपालमा अपराधको शैली परिवर्तन हुँदैगएको देखिन्छ । तर नेपालका सुरक्षा निकायको पहँुंचभन्दा बाहिर जाने अवस्थामा पुगेको देखिनु बढी चिन्ताको विषय हो । नेपाल प्रहरीमा यस्ता अपराध नियन्त्रणका लागि दक्षता भएका अनुसन्धानकर्ता र प्रविधिको विकास हुनुपर्ने थियो त्यो भएको देखिदैन । नेपालमा हुने गम्भीर प्रकारको अपराधको अनुसन्धान गर्न लामो समय लाग्ने र अपराधीहरुले भने प्रविधिको प्रयोग गरेर नयाँं नयाँं तरिकाले अपराध गरेको पाइन्छ । नेपालमा हुने गम्भीर प्रकारको अपराध अनुसन्धान गर्न अहिले पनि विदेशीको सहयोगको मुख ताक्नुपर्ने अवस्था रहनुले पनि नेपाल सुरक्षा चुनौतीका हिसाबले कुन अवस्थामा छ त्यसको सहजै विश्लेषण गर्नसकिन्छ । अपराध नियन्त्रण गर्न राज्यले जुन प्रकारले जनशक्तिको विकास र प्रविधिको प्रयोग गर्नुपर्ने थियो त्यो हुनसकेको देखिंदैन । अपराधको क्षेत्रमा आएको परिवर्तन मुलुकको लागि चुनौतीको रुपमा देखिएको छ ।

नेपालमा बहुआयामिक सुरक्षाको चुनौती देखिएको छ । मुलुकको अर्को गम्भीर चुनौती भनेको खाद्य सुरक्षा पनि हो । नेपाल कृषि प्रधान मुलुक हो । तर नेपालमा खेती गर्ने चलन विस्तारै हराउँदै गएको छ । छिमेकी मुलुक भारतमा खेती गर्ने कामलाई व्यवस्थित रुपमा अघि बढाइएको छ तर नेपालमा त्यस्तो हुनछाडेको छ । खेत बाँझो राखेर विदेशिने क्रम बढेको छ । खानका लागि भारत लगायत तेस्रो मुलुकसँंग भर पर्नुपर्ने अवस्था छ । भारतले किसानलाई प्रेरित गर्न विभिन्न खाले सहुलियपूर्ण योजना ल्याएर उत्पादनलाई बढाउँदै लगेको छ तर नेपालमा सरकारले किसानलाई सहुलियत दिने भन्छ त्यो कागजमा सीमित छ । यसले किसानहरु कृषि पेशामा आकर्षित हुन सकेको देखिदैन ।

केही दशक अघिसम्म नेपालले भारत लगायत अन्य मुलुकमा खाद्यान्न निर्यात गर्दैआएको थियो, अहिले अवस्था ठिक विपरीत भएको छ । खाद्यान्य आयातमा मुलुक निर्भर पर्दै आएको छ । अहिलेको अवस्थालाई विश्लेषण गर्ने हो भने मुलुक खाद्य सुरक्षाको हिसावले गम्भीर संकटको अवस्थामा रहेको छ । केही महिनाअघि भारतले गहुँं निर्यातमा प्रतिबन्ध लगाएको समाचारले नेपालमा हलचल ल्याइदिएको थियो । भारतले नेपाल र भुटानलाई निर्यात नरोक्ने स्पष्ट पार्नुपरेको थियो । यसले के संकेत गर्छ भने नेपाल खाद्य सुरक्षाको हिसावले संकटग्रस्त अवस्थामा रहेको छ । यदि नेपालमा भारत लगायतका अन्य मुलुकले खाद्यान्न आयातमा रोक लगाइदिए भने त्यसपछि आउने संकटले नेपालको सुरक्षा अवस्था कस्तो होला यो कल्पना गर्नसक्ने विषय होइन तर नेपालका शासकहरुले यतापट्टि ध्यान दिएको देखिंदैन ।

नेपालमा अर्को सुरक्षा चुनौतीको रुपमा पर्यावरणको समस्या पनि टक्कारो रुपमा देखिदै आएको छ । अहिले विकासका नाममा जथाभावी रुपमा डांँडाहरु भत्काउने, नदीहरु उत्खनन गर्ने काम गरिएको छ । प्रकृतिलाई च्यालेन्ज गरिदै छ । यसले भोलिका दिनमा ल्याउने संकटले मुलुकको सुरक्षा अवस्था कस्तो होला कल्पना गर्न नसकिने अवस्था छ । यसले मानवीय जीवनमा ल्याउने संकटतर्फ अहिलेसम्म राज्यको ध्यान गएको देखिंदैन । वर्षायाम सुरु भएपछि कल्पना नगरेको ठाउंँमा बाढी आउने, पहिरो जाने, बस्तीहरु विनास गर्ने, भौतिक संरचनामा क्षति पुग्नेजस्ता कामलाई नियन्त्रण गर्न राज्य असफल हुदैजाने अवस्था आएपछि निस्कने जनआक्रोशलाई राज्यले सम्बोधन गर्नसक्ने अवस्था देखिंदैन । राज्यको तयारीलाई हेर्ने हो भने कछुवाको गतिमा काम हुने गरेको विगतको दृष्टान्तले देखाएको छ । प्राकृतिक प्रकोपबाट उत्पन्न हुने समस्याले मुलुकको सुरक्षामा चुनौती थपिने निश्चितजस्तै देखिन्छ । विकाससँंगै हुने विनासलाई नियन्त्रण गर्न राज्यले समयमा ध्यान दिनसकेन भने नेपाल पाकिस्तान र भारतको उत्तराखण्डको अवस्थामा नपुग्ला भन्न सकिदैन ।

नेपालमा जब माओवादीको द्वन्द्व शुरु भयो त्यसपछि समाजमा विखण्डन आउन सुरु भएको छ । हिजो समाज मिलेर बसेको थियो । समाजमा जातीय समस्या थिएन । आज समाजमा जातीय समस्या भित्रिएको छ । २०६३ सालपछि मुलुकमा जातीय कुरा र आरक्षणको कुरा भित्रिएपछि समाज विखण्डनतर्फ उन्मुख हुदै गएको छ । जातीय र क्षेत्रीयताको कुराले समाज विखण्डनमा जाने र त्यसले ल्याउने समस्याले सुरक्षामा गम्भीर असर पर्ने नै हुन्छ । यस्ता गम्भीर विषयमा राजनीतिज्ञहरुले समयमा नै बुझेनन् भने यसले पार्ने असरले मुलुक बिखण्डनतिर जानसक्ने सम्भावना कायम रहेको छ । यस्ता समस्याबाट नेपाली त पीडित हुने नै भए, यस्तो अवस्थाको फाइदा विदेशीहरुले चलखेल गर्ने थलोको रुपमा नेपाल प्रयोग हुने सम्भावना बढ्नसक्ने अवस्था आउँछ ।

नेपालमा अर्को सुरक्षा चुनौतीको रुपमा भ्रष्टाचार रहेको छ । हरेक क्षेत्रमा हुने भ्रष्टाचारले मुलुकको समग्र सुरक्षामा असर गर्छ नै । भ्रष्टाचार नियन्त्रण गर्न खडा भएका संरचनाहरु भ्रष्टाचार नियन्त्रण गर्नभन्दा पनि राजनीतिक दलका नेता तथा कार्यकर्तालाई जगिर खाने अड्डाको रुपमा विकसित हुँदैजानुलाई दुर्भाग्य नै मान्नुपर्दछ । केही समय अघिसम्म भ्रष्टाचार लुकेर हुनेगरेको थियो तर अहिले खुलेआम रुपमा त्यस्ता क्रियाकलाप हुनेगरेका छन् । यसले मुलुकको विकासमा बाधा पार्ने र त्यसपछि उत्पन्न हुने समस्याले मुलुकलाई संकटतर्फ लैजान्छ । यस विषयमा राज्यले समयमा नै सोच्न जरुरी छ ।
(मल्ल नेपाल प्रहरीका पूर्वडिआईजी हुुनुहन्छ ।

प्रस्तुतिः दीपक रिजाल)

प्रतिक्रिया दिनुहोस्