काभ्रेमा ८६ जना एचआइभी सङ्क्रमित



काभ्रे।

३५ औं विश्व एड्स दिवसको अवसर पारी स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले कारागारमा रहेका कैदीबन्दीहरुका साथै खुल्ला क्षेत्रमा निःशुल्क एचआइभी परीक्षण गरेको छ ।

एड्स दिवसको अवसरमा धुलिखेलमा प्रभातफेरी कार्यक्रम आयोजना गरी एचआइभी एड्सका बारेमा सचेतना फैलाएको, कारागारमा रहेका कैदीबन्दीहरुको रगत परीक्षण गरिएको, धुलिखेल बसपार्क तथा स्वास्थ्य कार्यालय परिसरमा खुल्ला रगत परीक्षण गरिएको, धुलिखेलको सरस्वती पार्कमा दिप प्रज्वलन गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम सेढाईले बताउनु भयो ।

काभ्रेपलाञ्चोक जिल्लामा एचआइभी एड्सबाट सङ्क्रमित भएका मध्ये नियमित रूपमा उपचार पाएका ८६ जना सङ्क्रमित छन् । सङ्क्रमित मध्ये ४२ पुरुष, ४३ महिला र एक जना बालिका छन् । उनीहरू धुलिखेल अस्पतालबाट नियमित एआरभी औषधी लिइरहेका छन् ।

असुरक्षित यौन सम्पर्क, सङ्क्रमित रगतबाट,सुईबाट, एड्स सङ्क्रमित गर्भवती आमाबाट जन्मने सन्तानमा एचआइभी देखिन सक्छ । शरीरको ओजन घट्नु, लगातार खोकी लाग्नु, ज्वरो आउनु, टाउको दुख्नु, शरीरमा किसिम किसिमका दागहरु देखिनु, अरुचि हुनु, शरीरले थकान अनुभव गर्नु यो रोगका लक्षण भएको डा. सेढाईले बताउनु भयो ।

सँगै बसेर खाँदा, हात मिलाउँदा, अँगालो हाल्दा, एउटै शौचालय प्रयोग गर्दा, कुकुर बिरालोले टोक्दा, हाछ्यु वा खोक्दा, लामखुट्टेकोे टोकाईबाट एचआइभी रएड्स नसर्ने डा. सेढाईले बताउनु भयो । एच.आई.भी.सङ्क्रमित हुनबाट बच्नु नै सबैभन्दा उत्तम उपाय भएको उहाँले बताउनु भयो । सङ्क्रमित भइहालेमा नजिकको स्वास्थ्य संस्थाहरुबाट आवश्यक परामर्श सहित एआरटी केन्दहरुबाट नियमित औषधि सेवन गरेमा  संक्रमणलाई पूर्ण रूपमा नियन्त्रणमा राख्न सकिने उहाँले बताउनु भयो ।सरकारले यो सेवा निःशुल्क उपलब्ध गराएकाले सहज भएको डा. सेढाईले बताउनु भयो । संचारकर्मीहरुसँगको अन्र्तक्रिया कार्यक्रममा डा. सेढाईले विद्यमान चुनौती र कार्यक्रम सुधारका प्राथमिकताका बारेमा जानकारी गराउनु भएको थियो ।

एचआइभी रोकथामका कार्यक्रमहरु नयाँ एचआइभी संक्रमण रोक्न तथा हाल सम्म सेवा नपाएका जोखिम समूहहरुलाई प्राथमिकतामा राखी समयमा नै गुणस्तर सेवाको पहुँच पुर्‍याउने, विद्यमान एचआइभी परीक्षणका रणनीतिहरुको पहुँचलाई  विस्तार गरी नवीनतम परीक्षणका रणनीतिहरूलाई अपनाई कार्यान्वयन र विस्तार गर्ने जस्तै एचआइभी स्वपरीक्षण र सामाजिक सञ्जालमा आधारित एचआइभी परीक्षणका सेवाहरु, इन्डेक्स परीक्षण, रिसेन्सी परीक्षण, सबै गर्भवती महिलाहरुको परीक्षण गर्ने, प्रदेश एवं स्थानीय स्तरमा प्रयोगशाला सम्बन्धी सेवाहरुको क्षमता अभिवृद्धि गर्ने जस्तै मानव संसाधन, बजेट, पूर्वाधार, लजिस्टिक्स र आपूर्ति व्यवस्थापनमा ध्यान दिने लगायतका विषयमा जोड दिनु भयो ।

विश्वमा सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित रिपोर्ट भए देखि सन् २०२१ को अन्त्य सम्म ८ करोड ४२ लाख व्यक्तिहरु एचआइभीबाट सङ्क्रमित भई सकेका छन् । ४ करोड १० लाख व्यक्तिहरुको एड्सको कारणले मृत्यु भई सकेको छ । सन् २०२१ को अन्तसम्म विश्वमा ३ करोड ८४ लाख व्यक्तिहरुमा एचआइभी संक्रमण भएको अनुमान छ । विश्वमा हरेक दिन ४ हजार मानिसहरु एचआइभी सङ्क्रमित हुन्छन् ।

सन् २०२१ को अन्तसम्म नेपालमा ३० हजार व्यक्तिहरुमा एचआइभी संक्रमण भएको अनुमान छ । वयस्क जनसंख्याको ०.१२ प्रतिशत संक्रमण (प्रिभ्यालेन्स दर) छ । नेपालमा हरेक दिन २ जना मानिसहरु एचआइभी सङ्क्रमित हुन्छन् । सन् २०२१ मा ६ सय ८० व्यक्तिहरुमा एचआइभीको नयाँ संक्रमण भएको अनुमान गरिएको छ जुन सन् २००० को तुलनामा ८४ प्रतिशतले घटेको छ । सन् २००० मा ४ हजार ३ सय ७० व्यक्तिहरुमा नयाँ संक्रमण अनुमान गरिएको थियो । सन् २०२१ को अन्तसम्म नेपालमा २१ हजार ७ सय २३ संक्रमितहरुले एन्टीरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन् र अनुमानित कुल एचआइभी सङ्क्रमित मध्ये ७२ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन्  ।

नेपालमा राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१(२०२६ ले निर्देश गरे अनुरुप उच्च जोखिममा रहेका समूहहरू जस्तै सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरू, यौनकर्मी र तिनका गा्रहकहरु, पुरुष समलिगीं तथा तेस्रोलिगीहरु र रोजगारीका लागि विदेशिनेहरु तथा तिनका दम्पतीहरू र जेलमा रहेका कैदिहरुका लागि एचआइभी रोकथाम कार्यक्रम एवं सङ्क्रमित र प्रभावितहरूका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सचांलन भइरहेको छ ।

विशेषत: आउटरीच शिक्षा, कण्डम प्रवर्द्धन, एचआइभीको परामर्श र परीक्षण, यौन रोगको निदान र उपचार, जोखिम न्यूनीकरण, पिएमटीसीटी सेवा, एआरटी सेवा, र समुदाय सहयोगका कार्यक्रमहरु सरकारी स्वास्थ्य केन्द्र  र अन्य विभिन्न संघ संस्थाहरुबाट संचालन भइरहेको छ । संक्रमितहरुले भने सरकारी कार्यक्रम प्रभावकारी हुन नसकेको बताएका छन् । संक्रमितहरुको क्षेत्रमा काम गर्ने संस्था सक्रिय प्लसका अध्यक्ष अमिर खड्काले बताउनु भयो । एआरभी सेवा पछि संक्रमितहरु समुदायमा पुनर्स्थापित हुन थालेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्