चुनौतीले भरिपूर्ण नेपाली खेलकुद



नेपालमा संस्थागत रूपमा खेलकुद विकासको थालनी भएको ६ दशक पुगिसकेको छ । वि.सं २०१५ सालमा ‘राष्ट्रिय स्वास्थ तथा खेलकुद परिषद्’ गठन भएपछि संस्थागत रूपमा खेलकुद विकासको जग बसेको हो । खेलकुद संस्थागत थालनी भएको लामो कालखण्ड बितिसक्दा पनि नेपाली खेलकुदको गति भने निक्कै सुस्त र निरस नै देखिन्छ । खेलकुदलाई अनुत्पादक क्षेत्रका रूपमा हेर्ने सरकारी दृष्टिकोणमा अपेक्षित परिवर्तन आउन सकेको छैन ।

विश्व खेलकुदसँग तादात्म्यता मिलाउँदै सफलताको शिखर चुम्न अघि बढ्नुपर्नेमा आफ्नै परिवेशद्वारा सिर्जित विभिन्न समस्या र अप्ठ्याराहरूसँग लुकामारी खेल्नमा नै व्यस्त छ नेपाली खेलकुद ।अझै पनि नेपाली खेलकुदको परिधि सीमित घेराभन्दा माथि उठ्न सकिरहेको छैन । एकपछि अर्को सफलताका कथाहरू बुन्दै जानु पर्नेमा आपसी विवाद र समस्याहरूमा अल्झिएर बसेको छ ।

ठूलो लक्ष्य प्राप्तिका लागि एकआपसमा हातेमालो गर्दै अगाडि बढ्नुपर्ने अहिलेको चुनौतीपूर्ण समयमा नेपाली खेलकुदमा सक्रिय अधिकांश खेल संघहरू आपसी विवाद र खुट्टा तानातानमा अल्झिएका छन् । नयाँ खेलकुद विकास ऐन लागु भएयता केही संघले बाहेक अन्यले नयाँ कार्यसमिति गठन गर्न सकिरहेका छैनन् । खेलको भौतिक पूर्वाधार अवस्था पनि दयनीय छ । देशको कुल बजेटको एक प्रतिशत हिस्सा पनि खेलकुदको भागमा पर्न सकेको छैन ।

चरम आर्थिक समस्या, राजनीतिको प्रत्यक्ष प्रभाव, खेल भावना भएका पदाधिकारीको अभाव, राम्रालाई भन्दा हाम्रालाई पोस्ने व्यवहार, खेल निकायहरूमा राजनीतिक दलका कार्यकर्ताको नियुक्तिजस्ता कारणले नेपाली खेलकुदमा समस्या देखिएको हो । राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित रूपमा आयोजना हुन नसक्नु र आयोजना भएका प्रतियोगिताहरू पनि समयसापेक्ष स्तरीय बन्न नसक्नु नेपाली खेलकुदको अपेक्षाकृत विकास नहुनुको अर्को कारण हो । विगतमा देशको अस्थिर राजनीति, खेलकुदलाई अनुत्पादक क्षेत्रको रूपमा हेर्ने सरकारी नीति, खेलकुद क्षेत्रमा देखिने राजनीतिक खिचातानी, खेल पदाधिकारीको निहित स्वार्थजस्ता विषय नेपाली खेलकुदका बाधक हुन् र यस्ता तमामखाले समस्याहरूबाट यतिबेला नेपाली खेलकुद गुज्रिरहेको छ ।

नेपाली खेलकुद इतिहासमा शरद चन्द्र शाह सदस्य सचिव हुँदाको समय स्वर्णिम कालको रूपमा हेरिन्छ । उनको सक्रियतामा नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरुवात भएको हो । नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन थालेको ४१ वर्ष बितिसक्दा पनि हालसम्म केवल नौपटक मात्र आयोजना हुन सकेको छ । प्रत्येक दुई–दुई वर्षमा राष्ट्रिय खेलकुद आयोजना गर्ने भनिए पनि यसले निरन्तरता पाउन सकेको छैन । गणितीय हिसाबले त अहिलेसम्म कमसेकम २० वटा राष्ट्रिय खेलकुद आयोजना हुनुपर्ने थियो । यति लामो अवधिभित्र केवल नौपटक मात्र प्रतियोगिता हुनु नेपाली खेलकुदको दुर्भाग्य नै हो । नयाँ र प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रत्येक दुई–दुई वर्षमा आयोजना गर्ने भनिए पनि पटक–पटक मिति सर्ने गरेको राष्ट्रिय खेलकुदको इतिहासले देखाउँछ ।

राष्ट्रिय खेलकुद आयोजनाले नेपाली खेलाडीमा खेल्नको लागि उत्साह जाग्ने गरेको छ । नयाँ खेलाडी जन्मिने भएकाले पनि राष्ट्रिय खेलकुद वर्षैपिच्छे हुनुपर्छ भन्नेहरूको बहुमत देखिन्छ । तर, खेलकुदको विकासका लागि राज्य र खेल संघले आवश्यक लगानी नगर्दा प्रतिभावान खेलाडीले समेत खेल जीवनलाई थाँती राखेर विदेश पलायन हुन बाध्य भएका छन् । पछिल्लोपटक त खेलाडी पलायन हुने क्रम झन् बढ्दो छ । खेलकुदमा लागेका युवा र तिनका आश्रित परिवारको भविष्यको सुनिश्चित नभएका कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने कयौं प्रतिभाशाली खेलाडीले बाध्य भएर खेलजीवन त्यागेको तीतो यथार्थ नेपाली खेलजगत्मा जग जाहेर नै छ ।

विश्वका हरेक राष्ट्रले प्रतिभावान खेलाडी उत्पादन गर्नका लागि नियमित रूपमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने गर्दछ । खेलकुदका प्रतिभाहरू सुगम ठाउँमा मात्र नभई देशको विकट ठाउँमा पनि लुकेर रहेका हुन्छन् भन्ने मान्यतालाई आधार बनाएर नियमित रूपमा यस्तो प्रतियोगिता गर्ने गरिन्छ । राष्ट्रिय प्रतियोगिता अघि देशको तल्लो तहदेखि नै छनोट प्रतियोगिताहरू आयोजना गर्ने गरिन्छ । तल्लो तहका प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू क्रमशः छनोट चरण पार गर्दै मुख्य प्रतियोगितासम्म आइपुग्छन् । यसरी छनोट भएर आएका खेलाडीले राष्ट्रियस्तरका चर्चित खेलाडीसँग प्रतिस्पर्धा गरेर आफ्नो क्षमता देखाउने अवसर पाउँछन् ।

एउटा राष्ट्रिय प्रतियोगिता सकिएलगत्तै तल्लो तहका खेलाडीहरू पुनः अर्को प्रतियोगिताको लागि तयारीमा ब्यस्त हुन्छन् । यसका लागि सम्बन्धित खेल संघहरूले नियमित रूपमा गाउँ, नगर, जिल्ला, प्रदेशस्तरीय प्रतियोगिताहरू आयोजना गरिरहेका हुन्छन् । यसरी दक्ष र प्रतिभाशाली खेलाडीको खोजी र उत्पादन गर्न हरेक देशमा राष्ट्रिय प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।त्यसैले नयाँ र क्षमतावान प्रतिभा खोजी गर्ने सबैभन्दा प्रभावकारी माध्यम हो, राष्ट्रिय खेलकुद । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई लामो समयसम्म प्रशिक्षणमा राखेर उनीहरूको कुशलता तिखार्नेसमेत काम गरिन्छ । यसरी तयार पारिएका खेलाडीलाई पदकका लक्ष्यसहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइन्छ । जसरी राम्रो खेलाडी उत्पादनका लागि राष्ट्रिय खेलकुद प्रतियोगिता आवश्यक छ, त्यसरी नै देशको खेलस्तर मापनका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा गर्ने प्रदर्शन पनि महत्वपूर्ण हुन्छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न खेलाडीमा पर्याप्त अनुभव चाहिन्छ । पदक जित्ने लक्ष्य हो भने खेलाडीमा पर्याप्त अनुुभव हुुनु आवश्यक छ । नियमित प्रतियोगिताहरू गराइ राख्नुपर्छ । खेलाडीलाई एक्सपोजर लक्षित हुने वातावरण बनाउनु पर्दछ । अभ्यास गरेकै भरमा राम्रो नतिजा निस्कने होइन । खेलाडीको स्तर मापनका लागि प्रतिस्पर्धा नै मुख्य माध्यम हो । जसमा नेपाली खेलाडी चुक्ने गरेका छन् । प्रायःजसो नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउनु त टाढाको विषय हो, वर्षमा एउटा राष्ट्रिय प्रतियोगिता पनि खेल्न पाउँदैनन्  । जसका कारण एउटा प्रतियोगिता खेलेको खेलाडी अर्को प्रतियोगिता हुने बेलासम्म पलायन भइसक्ने नियति नेपाली खेलकुदले बेहोर्दै आएको छ ।

थुप्रै वर्ष खेलकुदमा व्यतीत गरेका खेलकर्मीहरू रोजीरोटीका कारण खेलबाट अलग्गिने गरेका छन् । जसले गर्दा राज्यको सीमित लगानी पनि खेर गइरहेको छ । यदि विधालयमा खेलकुद विषय पनि पढाउन सकियो भने धेरै हदसम्म यस्तो समस्याको निराकरण हुन सक्छ । खेलकुद शिक्षक राख्दा खेलाडीहरू बेरोजगार भएर बस्नुपर्ने अवस्था आउँदैन । एउटा विद्यालयले एक जना खेलकुद शिक्षक राख्दा देशभर हजारौं शिक्षक आवश्यक पर्ने एक तथ्यांकले देखाउँछ । यसले खेलाडीको जीवनस्तर उकास्न पनि मद्दत गर्छ ।

खेलस्तर उकास्न खेलाडी मात्र नभई नयाँ प्रशिक्षक उत्पादन र पुरानालाई समयसापेक्ष बनाउने नीति नियम बसाल्नुपर्छ । अहिले नयाँ पद्धतिमा प्रशिक्षण गराइन्छ । विज्ञान प्रविधिमा आधारित अभ्यास चल्छ । जसअनुरूप नेपाली खेलाडीसँगै प्रशिक्षक पनि परिमार्जित बन्न सकिरहेको छैन । मुख्यतः खेल संघभित्र चल्ने राजनीति पनि खेल विकासको बाधक बनेको छ । वास्तवमा प्रतियोगिताको संख्या जति बढ्छ त्यति नै राम्रा खेलाडी जन्मने सम्भावना हुन्छ ।

गणितीय हिसाब किताब नै गर्ने हो भने पनि नेपालमा स्तरीय प्रतियोगिताको संख्याभन्दा पनि खेल संघको संख्या अधिक देखिन्छ । वर्षको एउटा पनि राष्ट्रिय प्रतियोगिता नगर्ने धेरै जस्तो खेल संघ झोले अवस्थामा छ । यस्तै भइरहे नेपाली खेलकुदको अस्तित्वलाई एकदिन जटिल अवस्थामा पुग्नेछ ।
निःसन्देह पहिलेको तुलनामा अहिले देशभरि नै खेलकुदका लागि कभर्ड हल, खेलमैदानजस्ता नयाँ भौतिक संरचना बन्नेक्रम बढ्दो छ । तर, निर्माण गरिएका कतिपय त्यस्ता भौतिक संरचनाको स्तरीयतामाथि प्रश्न चिह्न खडा हुने गरेको छ ।

भरपर्दो अनुगमन गर्ने निकायको अभाव र उच्च ओहोदामा बसेका भ्रष्ट व्यक्तिको निजी स्वार्थ अनुकूल ठेक्कापट्टामा हुने कमिसन सम्झौताका कारण खेलकुदले मूल्य चुकाउँदै आएको छ । पुनःनिर्माणका लागि ठोस गृहकार्य नै नगरी भत्काउन सुर कस्नेहरूले गर्दा महँगो लागतमा बनेका कयौं खेल पूर्वाधारहरू अहिले खण्डहरमा परिणत भएका छन् । जसका कारण अहिले कतिपय स्थानीयस्तरमा रहेका रंगशालाहरू त राजनीतिक प्रायोजनका लागि भाषण गर्न बनाइएको मञ्चजस्तो देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्