अमेरिका, इंग्ल्यान्ड, नेदरल्यान्ड्स र सेनेगल नकआउटमा



लन्डन, (एजेन्सी) ।  

अमेरिका, इंग्ल्यान्ड, नेदरल्यान्ड्स र सेनेगल फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेका छन् ।मंगलबार राति भएको खेलपछि समूह ‘बी’ बाट इंग्ल्यान्ड समूह विजेता र अमेरिका उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरे । अहमद बिन अली रंगशालामा वेल्सलाई ३–० गोलअन्तरले हराउँदै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्डले तीन खेलमा दुई जित र एक बराबरीसँगै सात अंक जोड्न सफल रह्यो । इंग्ल्यान्डका लागि मार्कस रासफर्डले दुई र फिल फोडेनले एक गोेल गरे ।

खेलको ५० औं मिनेटमा रासफर्डले फ्रिकिकमा २५ यार्ड टाढाबाट सीधै गोल गरेका थिए । उनको प्रहार वेल्सका गोलरक्षक ड्यानी वार्डले बचाउन सकेनन् । अघिल्लो खेलमा पहिलो रोजाइका वायन हेनेसीले रातो कार्ड खाएपछि वार्डले खेल सुरुवात गरेका थिए । सुरुवाती अग्रता लिएको दुई मिनेटपछि नै इंग्ल्यान्डले दोस्रो गोल थप्यो । ह्यारी केनले दायाँ विंगबाट दिएको लो क्रसमा अनमार्क रहेका फिल फोडेनले फार पोस्टबाट गोल गर्दै स्कोर २–० बनाए । खेलको ६८औं मिनेटमा राफर्डले व्यक्तिगत दोस्रो गोल गरे । काल्भिन फिलिप्सको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र लग्दै उनले गोल गरे ।

समूहको अर्को खेलमा अल थुमामा रंगशालामा इरानलाई १–० ले हराउँदै समूह उपविजेता बन्दै अमेरिका नकआउटमा पुग्यो । खेल बराबरी गरेमात्र पनि अघि बढ्न पर्याप्त हुने इरान भने समूह चरणबाटै बाहिरिएको छ । अमेरिकाको जितका क्रिस्टियन पुलिसिचको गोल निर्णायक सावित भयो । गोल गर्ने क्रममा इरानी डिफेन्डरसँग जुधेर भुइँमा लडेका उनी चोट बोके पनि केही मिनेटमै मैदानमा फर्किए ।

त्यसैगरी, नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता र सेनेगल उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरे । समूहको अन्तिम खेलमा कतारलाई २–० ले हराउँदै नेदरल्यान्ड्स समूह चरणमा अपराजित रहयो । डच टोलीले कतारी डिफेन्समा कमजोरीको फाइदा उठाउँदै जित दर्ता गर्न सफल रह्यो । पहिलो हाफको अन्त्यतिर अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफको सुरुवातमा अग्रता दोब्बर पार्दै खेलमा अग्रता दोब्बर पारेको थियो ।

खेलको २६औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । मिडफिल्डबाट मेम्फिस डिपाएले सुरुवात गरेको आक्रमणलाई कोडी गाक्पोले फिनिस गरे । डिपाए, डेभि क्लासेन र गाक्पोले पास खेल्दै डिफेन्स चिरेपछि गोल सम्भव भएको थियो । गाक्पोले अन्तिम पासलाई पेनाल्टी क्षेत्रभित्र लग्दै वन भर्सेस वनमा सहज फिनिस गरे । विश्वकपमा उनको यो तेस्रो गोल हो ।

खेलमा पछि परेको अर्को मिनेटमै कतारका मोहमद इस्माइलको प्रहार नोपर्टले दोस्रो प्रयासमा बचाए । दोस्रो हाफको सुरुवातमै नेदरल्यान्ड्सले अग्रता दोब्बर पा-यो । फ्रेन्की डे जोङले ४८औं मिनेटमा कतारी डिफेन्सको गल्तीमा गोल थपेका थिए । डिपाएको पहिलो प्रहारलाई गोलरक्षक मेसाल बार्शामले बचाए पनि पेड्रो मिगुएलले क्लियर गर्न ढिलो गर्दा डे जोङले रिबाउन्डमा गोललाइन अघिबाट गोलमा परिणत गरे ।

खेलको ६८औं मिनेटमा नेदरल्यान्ड्सले गोल फर्काए पनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई मान्यता दिएन । भिन्सेन्ट जान्सनको पासमा स्टिभन बर्घिअसले खाली पोस्टमा गोल गरेपनि उक्त मुभ बनाउने क्रममा गाक्पोको ह्यान्ड देखिएपछि गोलले मान्यता पाएन ।त्यस्तै, समूहको अन्तिम तथा निर्णायक खेलमा इक्वेडरलाई २–१ ले पराजित गर्दै सेनेगल अन्तिम १६ मा स्थान बनाउन सफल भयो । सेनेगल यस विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । पहिलो हाफको अन्त्यतिर सेनेगलले पेनाल्टीमा अग्रता लिएको थियो । दोस्रो हाफमा इक्वेडरले खेलमा फर्कंदै नकआउट चरण पुग्ने सम्भावना जीवित बनाएको थियो । तर, कप्तान कालिडु कौलीबालीले गोल गर्दै सेनेगललाई अघि बढाए ।

खलिफा रंगशालामा मंगलबार इस्माएला सारले खेलको ४४औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । पिएरो हिन्कापीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले दिएको पेनाल्टीमा सारले गोल गरे । दोस्रो हाफको ६८औं मिनेटमा इक्वेडरका लागि मोइसेस काइसेडोले बराबरी गोल फर्काए । कर्नरमा हेडर डिफ्लेक्ट हुँदै अनमार्क रहेका काइसेडोको खुट्टामा आएपछि उनले सहजै गोल गरे ।

तर, सेनेगलले दुई मिनेटपछि नै पुनः अग्रता लियो । कालिडु कौलीबालीले सेटपिसको रिबाउन्डमा गोल गर्दै सेनेगललाई अघि बढाए । फ्रिकिकमा रिबाउन्ड भएको बललाई उनले पेनाल्टी क्षेत्र भित्रबाट टप कर्नरमा गोल गरेका थिए ।

आजको खेल
समूह ‘एफ’
क्रोएसियाविरुद्ध बेल्जियम
क्यानडाविरुद्ध मोरोक्को
राति ८ः४५ बजे
समूह ‘ई’
जापानविरुद्ध स्पेन
जर्मनीविरुद्ध कोस्टारिका
राति १२ः४५ बजे

प्रतिक्रिया दिनुहोस्