सरकार गठनमा नवयुवाहरुलाई समाहित गर



यसपटकको प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचन भर्खरै सकिएको छ । जति स्थानबाट निर्वाचनको परिणाम आएको छ, त्यस परिणामले के देखाउँछ भने मुलुकको राजनीतिमा अब युवाहरु जुर्मुराएका छन् ।

कांग्रेस र एमालेको कुरामात्र होइन, मुलुकका अन्य प्रभावशाली दलहरुमा पनि युवालाई नेतृत्व हस्तान्तरण गर्ने विषयमा बहस प्रारम्भ गरिहाल्नुपर्ने बेला आएको छ ।

सम्पूर्ण दलका वरिष्ठ नेताहरुले त अबका नयाँ पिँढीलाई राजनीति गर्दाको अनुभव, आगामी दिनमा चाल्नुपर्ने कदम, दललाई वास्तवमै राष्ट्र र जनताका लागि राजनीतिले निर्वाह गर्नुपर्ने भूमिका, पूरा गर्नुपर्ने दायित्व, आवश्यक सुझाव, सल्लाह, परामर्श तथा मार्गदर्शनजस्ता कार्य गरी जिम्मेवारी दिनु सबैभन्दा राम्रो कदम ठहरिनेछ, अनि पो कहिल्यै जनताबाट तिरस्कृत हुनुपर्दैन, सधैँ सम्मानित भएर बस्न पाइन्छ भनेर बुभ्mनुपर्ने होइन र ? त्यति मात्र होइन, वरिष्ठ नेताहरुको दायित्व त युवा नेतृत्वलाई सक्षम बनाएर राष्ट्रको भविष्य सुरक्षित पार्नुपर्ने होइन र ? अबको सरकार गठनमा समेत निर्वाचित युवालाई समाहित गर्नुपर्छ ।

यता कुनै पनि राजनीतिक दलमा प्रतिबद्ध युवा कार्यकर्ताले पनि सबै खाले विकृति तथा विसंगतिको अन्त्यका लागि दलभित्रै संघर्ष गर्न सक्नुपर्दछ । युवाहरुले आँट नगरेसम्म परिवर्तन सम्भव छैन । पार्टीभित्र विद्रोह ग¥यो भने भोलि निर्वाचनमा टिकट नपाइएला कि, आफ्ना मान्छेलाई भनेको ठाउँमा नियुक्ति दिलाउन नसकिएला कि वा वरिष्ठ नेताहरुको बागी बनिएला कि वा यस्तै अन्य कुनै पनि किसिमका स्वार्थलाई तिलाञ्जलि दिनु जरुरी छ युवाहरुले ।

वास्तवमा मेरो राजनीति राष्ट्रको सुरक्षा र विकासको लागि, जनताको हितका लागि र नेपाललाई विश्वसामु एक सार्वभौम, अखण्ड, स्वाधीन र स्वाभिमानी बनाउनका लागि हो भन्ने दृढसंकल्पका साथ निर्वाचित युवाहरु अग्रसर हुनुपर्छ । राजनीतिमा युवा प्रतिनिधित्व गराउनकै लागि सामूहिक प्रयासको थालनी आवश्यक छ । यसका अतिरिक्त अहिलेका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज पनि निर्वाचित युवा सांसदहरुले उठाउनुपर्छ ।

– रञ्जन शर्मा, बनेपा ।

प्रतिक्रिया दिनुहोस्