गायनमा प्रीतिको प्रीत



उमेरले २१ वर्षकी प्रीति रिमालको स्वर यतिबेला गायन क्षेत्रमा गुञ्जिरहने मध्येको एक हो। नुवाकोटकी प्रीतिले गायन यात्रा सुरु गरेको दुई महिनामै एकपछि अर्को गर्दै उनका गीत संगीतले सफलता र चर्चा बटुलिरहेका छन्। दुई महिनाको अवधिमा करिब दुई दर्जनको हाराहारीमा गीत गाइसकेकी प्रीति सानैदेखि गायनमा रुचि राख्ने गर्थिन्।

एक युट्युब च्यानलमार्फत उनको सुरिलो स्वर बाहिरिएपछि सामाजिक सञ्जालमा उनको स्वरको चर्चा र प्रशंसा सुरु भएको थियो। त्यसपछि कथा मोडियो। उनको यात्रा संगीतमै अघि बढिरह्यो। उक्त गीतमाथि भिडियो बाहिरिएसँगै प्रीतिको गीत गाउने सपना पनि पूरा भएको हो। आफूलाई आधुनिक विधाका गीत गाउन सहज लाग्ने बताउने प्रीति प्रायः सबै विधाको गीत गाउन माहिर छिन्।

विशेषगरी आधुनिक गीत गाउन मनपर्छ। मैले शिशिर भाण्डारी दाइ र प्रताप दाससँग गाएको धादिङ नुवाकोट बोलको गीत त टझेन्डिध्रमै आयो। अन्य गीतहरूमा पनि मेरो स्वरलाई दर्शक स्रोताले रुचाउनुभएको छ। मैले आधुनिक, लोक, तीज गीतजस्ता विभिन्न विधाका गीत गाइसकेकी छु। लगभग सबै खालका गीत गाउने गर्छु उनले भनिन्।

प्रीतिको बुबा केही वर्षदेखि सम्पर्कविहीन छन् तर उनको गायन सपनालाई अघि बढाउन उनकी आमालगायत परिवारले सहयोग गरिरहेको रहेछ। घरमा ममी, अंकल, आन्टीहरूले अझै राम्रो गर्नुपर्छ भन्दै साथ र हौसला दिनुहुन्छ। जसले गर्दा झनै सहयोग मिलेको छु उनले हौसिँदै सुनाइन्। घर त धादिङ नुवाकोट, पाउडर किरिमले, मुखले ठिक्क, पिरतीको भाका, नाइलनको सारीजस्ता गीतले प्रीतिले गाएका चर्चित गीत हुन्। नेपाल अँइडल सिजन–४ को प्रतिस्पर्धीसमेत रहेकी प्रीति सो गायन रियालिटी शोमा थिएटर राउन्डसम्म पुगेर बाहिरिएकी थिइन्।

हालसम्म रेकर्ड गरेका गीतहरू अभ्यासमार्फत गाइरहेकी प्रीति समय मिलाएर संगीतसम्बन्धी औपचारिक प्रशिक्षण लिने सोचमा छिन्। गीत गायनसँगै पढाइलाई पनि अघि बढाउँदै आएकी उनी स्नातक चौथो वर्षमा अध्धयन गर्दै छिन्। आफूले चाहेको विधामा मिलेको सफलताले आफूलाई सधै गीत-संगीतमा नै लागिरहन र अझ राम्रो गर्ने जोश-जाँगर मिलेको प्रीतिले बताइन्।

प्रतिक्रिया दिनुहोस्