फोक्सोको क्यान्सर १ नम्बर ज्यानमारा



काठमाडौं ।  

नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेण्टर हरिसिद्धिले फोक्सोमा क्यान्सर भए नभएको समयमै पत्ता लगाउने हेतुले बिरामीलाई विश्व फोक्सोको क्यान्सर दिवस नोभेम्बर महिना भरि सहुलियत दरमा सिटी स्क्यान (लोडोज सिटी स्क्यान ) गर्दै आएको सोमबार अस्पतालमै एक कार्यक्रमको आयोजना गरी जानकारी गराइयो ।

पुरुषहरूमा क्यान्सरको पहिलो नम्बरमा रहेको फोक्सोको क्यान्सर समयमै पत्ता लागोस् भनेर अस्पतालले एक महिना भरी अस्पतालमा आउने नयाँ बिरामीको लागि सहुलियत दरमा सिटी स्क्यान गरिरहेको अस्पतालका मेडिकल डाइरेक्टर एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.विदेशराज घिमिरेले जानकारी गराउनुभयो ।नोभेम्बर महिना विश्व फोक्सो क्यान्सरबारे जनचेतना फैलाउने महिना भएकोले अस्पतालले एक महिना अवधि भरी सहुलियत दरमा सिटी स्क्यान गरिरहेको मेडिकल निर्देशक डा. घिमिरेले बताउनुभयो ।

नेपाल क्यान्सर सहयोग समूहले क्यान्सर विजेताहरू र सञ्चारकर्मीहरू समेतको सहभागितामा नेपाल क्यान्सर अस्पतालमा आयोजना गरेको ३८ औँ क्यान्सर भर्साईभर मिटमा डा.घिमिरेले सो कुरा बताउनुभएको हो । धूम्रपान र सुर्ती सेवन नगर्ने हो भने ८५ प्रतिशत फोक्सोको बिरामी घट्ने दाबी गर्दै डा.घिमिरेले पहिलो र दोस्रो चरणको फोक्सोको क्यान्सरको लक्षण नदेखिने र तेस्रो या चौथो चरण पुगिसक्दा बिरामीलाई बचाउन कठिन हुने बताउनुभयो । उहाँले समयमै सिटी स्क्यान गरी फोक्सोको अवस्था पत्ता लगाउन विशेष गरी धूम्रपान गर्ने र परिवारमा क्यान्सरका बिरामी भएका परिवारलाई जनचेतना मूलका कार्यक्रमको खाँचो रहेको कुरा औँल्याउनुभयो ।

पछिल्लो समयमा उपलब्ध भएको क्यान्सरको नयाँ औषधि उपचार विधि ‘इम्युनोथेरापि’ले चौथो चरणमा पुगिसकेको क्यान्सरको बिरामीको आयु लम्ब्याउन सकिने बताउँदै यो उपचार विधि निकै महँगो भएको पनि उहाँले बताउनुभयो ।
सोही अस्पतालको रेडियोलोजी विभागका प्रमुख एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा गिसुपनिख प्रसिखले नेपाल क्यान्सर अस्पतालमा रहेको रेडियोलोजी उपचार सेवा नेपालभरिकै उत्कृष्ट रहेको दाबी गर्दै क्यान्सरको उपचारमा अत्याधुनिक उपकरणको साथै विशेषज्ञ जनशक्ति रहेको बताउनुभयो । क्यान्सरको बिरामीको अवस्था हेरि तिन थरीको उपचार विधि क्यान्सर भएको भाग विकिरणद्वारा सेक्ने विधि रेडियोथेरापि, औषधि उपचार विधि केमोथेरापि र क्यान्सर भएको भाग काटेर फ्याँक्ने विधि सर्जरी गर्ने गरेको पनि डा.प्रसिखले बताउनुभयो ।

नेपाल क्यान्सर अस्पतालकी निर्देशक एवम् नेपाल क्यान्सर सहयोग समूहकी संयोजक स्वरुपा श्रेष्ठले अस्पतालमा क्यान्सरको उपचरा गर्न आएका बिरामीहरूलाई क्यान्सर विजेताहरूले परामर्श दिँदा उनीहरू निकै खुसी हुने गरेको र उनीहरूमा क्यान्सर रोग निको भएर बाँच्न सकिने आशा पलाएको बताउनुभयो ।उहाँले क्यान्सर रोगलाई जितेका र उपचारको क्रममा रहेकाहरूको व्यक्तिगत प्रतिभा देखाउन आगामी २०२३ को फेब्रुअरी ३ मा पोखरामा पहिलो पटक ‘र्‍याम्प वाक’ आयोजना गर्न लागेको बताउनुभयो । नेपाल क्यान्सर सहयोग समूहले यसअघि काठमाण्डौमा २ पटक सफलतापूर्वके र्‍याम्प वाक आयोजना गरिसकेको छ ।

सोमबारको कार्यक्रममा फोक्सोको क्यान्सर, यसको उपचार र रोकथामको लागि जनचेतना फैलाउनेबारे अस्पतालको प्याथोलोजि विभागका प्रमुख डा. हरिप्रसाद ढकाल, डायग्नोसिष्टक एन्ड इन्टरभेन्सनल रेडियोलोजी विभागका प्रमुख डा. सरोज प्रकाश चटौत, प्यालेटिभ केयर विभागका निर्देशक डा.मुरारीमान श्रेष्ठ, शल्यक्रिया विभागका प्रमुख डा.कपेन्द्र शेखर अमात्य, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलीप भट्टराई र उपाध्यक्ष शशाङ्क शर्मा लगायतले आआफ्नो विचार राखेका थिए ।


कार्यक्रममा नेपाल क्यान्सर सहयोग समूहले सो अस्पतालमा उपचार गराइराखेका क्यान्सरका बिरामी सुष्मा लिली महर्जन र सपना मगरलाई ५०-५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । सोही अवसरमा क्यान्सरका बिरामीका लागि आर्थिक सहयोग गर्ने व्यक्ति तथा सङ्घसंस्थाहरूका लागि प्रोत्साहन गर्ने उद्देश्यले चिट्ठाद्वारा २ जनालाई ५ हजार १ जनालाई १० हजार १ जनालाई २० हजार र १ जनालाई ४० हजार राशिको नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो । सम्मानित व्यक्ति तथा संस्थाहरूले उक्त राशि क्यान्सर पीडित बिरामीका लागि दिने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्