आरोपकै भरमा अपराधी ?



वि.सं. २०७४ मा टीकापुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी अहिले पनि जेलमै छन् । २०७२ सालमा नेपाल संविधान बन्दा टीकापुरमा भएको आन्दोलनमा प्रहरीलाई मारियो । घटना घट्ने बेला चौधरी त्यहाँ नभएको बताइन्छ ।

चौधरीले बारम्बार उक्त आन्दोलनमा आफू सरिक नभएको र प्रहरीलाई आफूले नमारेको बताउँदै आएका छन् । तर, सरकारले उनलाई समात्यो । राज्यबाट पाउनुपर्ने सेवासुविधा आफूले पनि पाउनुपर्ने र टीकापुरमा पनि विकास हुनुपर्ने जनताको माग थियो । विकास नहुँदा टीकापुरका जनता पछि परेको भन्दै त्यहाँ आन्दोलन शुरु भएको थियो । आफ्ना मागहरु संविधानमा उल्लेख हुनुपर्ने भन्दै जनता सडकमा उत्रिए । राजनीतिक तवरबाट गरिएको आन्दोलन पछि हिंसामा परिणत भयो ।

उक्त आन्दोलनमा परेर प्रहरी र भर्खरैको शिशु मरेपछि सरकारले चौधरीलाई नियन्त्रणमा लियो । चौधरीले दिएको बयान अनुसार उक्त आन्दोलनमा उनको सहभागिता छैन । जनता र प्रहरीबीच दोहोरो भीडन्त चल्दा अप्रिय घटना घटेको उनको भनाइ छ । २००७ देखि २०७९ सालसम्म आइपुग्दा धेरै आन्दोलन भए । नेकपा माओवादीको जनयुद्ध, मधेसी दल, नेपाली कांग्रेस, नेकपा एमालेमा भएका नेताहरुले मान्छे मारेका छन् ।

माओवादीको जनयुद्धमा पनि कति नेपाली मरे ? मधेस आन्दोलनमा परेर कति सीधासाधी जनताले ज्यान गुमाए ? एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि मान्छे मारेका छन् । त्यसो भए त यी सबै नेताहरु अहिले जेलमा हुनुपर्ने हो । उनीहरुले मान्छे मार्दा राजनीतिक आन्दोलन भनियो र चौधरीको चाँहि व्यक्तिगत आन्दोलन बनाइयो । अदालतले चौधरीलाई आजीवन कैद सजाय सुनाइसकेको छ ।

घटना घटेपछि चौधरी भूमिगत गएका थिए । अरुको माध्यमबाट उनले आफ्नो उम्मेदवारी दर्ता गराए । घरघरमा भोट माग्न नगईकन टीकापुरका जनताले उनलाई विजयी गराए । चौधरीले उठाएको मुद्दा टीकापुरको जनताका लागि भएको यहाँबाट त स्पष्ट भयो । सो मुद्दा व्यक्तिगत नभई टीकापुर जनताको मुद्दा रहेछ भन्ने प्रमाणित भयो । २०७४ सालमा चुनाव जितेपछि चौधरी आफैं अदालतमा उपस्थित भए ।

उनले कानुनको सामु आत्मसर्मपण गरे । तर, अदालतले राजनीतिक घटनालाई व्यक्तिगत स्वार्थ भनेर जन्मकैद फैसला सुनाइदियो । चौधरी अहिले जेलमा छन् । उनी जेलबाट ननिस्किए पनि राजनीतिमा उनी सक्रिय छन् । सजाय काटिरहेका उनीमाथि जनताको कति विश्वास छ ? भन्ने अहिलेको निर्वाचनमा प्रस्ट भइसकेको छ । उनकी श्रीमती र बुबालाई भारी मत दिएर विजयी गराए ।

चौधरीलाई आरोपकै भरमा सरकारले जेलमा कोचेको छ । यदि आरोपकै भरमा जेलमा कोच्ने हो भने अन्य किन बाहिर छन् ? ओलीमाथि झापामा मान्छे मारेको आरोप छ । प्रचण्डमाथि १७ हजार नेपाली जनता मारेको आरोप छ । रवि लामिछानेमाथि पनि आत्महत्या गर्न बाध्य बनाएको आरोप छ । पत्रकार शालिग्राम पुडासैनीलाई मर्नुपर्ने बाध्यता बनाएको आरोप त रविमाथि लागेको छ । मधेसी दललाई कसले समात्ने ? उपेन्द्र यादवलगायत अन्य मधेसी नेताहरु किन बाहिर घुमिरहेका छन् ? मधेसी आन्दोलनमा उपेन्द्रले छुरा रोपेर एकै ठाउँमा दुई दर्जन मान्छे मारेका छन् । नेपाली कांग्रेसका सांसदसमेत रहेका आलममाथि पनि इँट्टाभट्टामा मान्छे हालेर पोलेको आरोप छ । उनले पनि सजाय काटिरहेका छन् । कुनैलाई आरोप मात्र लाग्दा थुन्ने र कुनैको केसमा प्रमाण हुँदा अदालतले छोड्ने ?

अहिले अदालतमाथि नै जनताले प्रश्न उठाएका छन् । ओली, प्रचण्ड, यादव, रवि सबै अपराधी हुन् नि ? किनकि यिनीहरुले पनि मान्छे मारेका छन् । चौधरी, आलम जेल बस्नुपर्दा यिनीचाहिँ बस्न नपर्ने ? अदालतले कसैलाई काखा, कसैलाई पाखा गर्न मिल्छ ? सिके राउत, विप्लवलगायतले पनि मान्छे मारेका छन् । तर, उनीहरुलाई त सरकारले सफाइ दियो ।

सिके राउत अहिले संसद्मा चुनिएका छन् । सरकारले राजनीतिक घटनाक्रम बताउँदै छुट दियो । तर, उनीहरुले पनि मान्छे त मारेका हुन् नि । यदि सबैलाई छुट दिने हो भने चौधरी र आलम अहिले किन जेलमा छन् ? सरकारले उनीहरुले मान्छे मारेको देखेको छ ? सरकारसँग केही प्रमाण छ, उनीहरुलाई सजाय सुनाउन । प्रचण्डले टुँडिखेलमा खुल्लारुपमा आफूले १७ हजार नभई पाँच हजार मान्छे मारेको बताएका थिए । प्रचण्ड, यादव, विप्लव, राउत, ओलीले मान्छे मार्दाचाँहि राष्ट्रका लागि भनिने अनि जनताको आन्दोलन समर्थन गरेकै भरमा कसैलाई जेलमा कोच्न मिल्छ ?

मान्छे मारेका व्यक्तिहरु झन्डावाल गाडी चढेर हिँडेका छन् । सरकारी सेवासुविधा लिएका छन् तर चौधरी जेल छन् । उनलाई पनि छोडिदिनुप¥यो । चौधरीसँग टीकापुरका जनता थिए तर उनीसँग पहँुच भएन । न देशभरका जनता उनको पक्षमा उत्रिए । चौधरीलाई छोड्नुपर्छ भनेर टीकापुरका जनताले आवाज उठाए तर समर्थन गर्न देशभरका जनता भएनन् । रवि लामिछानेले आफूलाई मर्न बाध्य बनाएको शालिग्रामले त भिडियो नै बनाएका थिए । प्रमाण हुँदाहुँदै पनि सरकारले उनलाई छुट दियो, किनकि उनको पक्षमा देशभरका जनता कुर्लिए । चौधरीले प्रहरीलाई मारेको भिडियो सरकारसँग छ त ? चौधरी हत्यारा हुन् भन्ने कुनै प्रमाण छ ? चौधरीलाई नखाएको विष लाग्यो ।

पञ्चायती कालमा कांग्रेसले पनि कति मान्छे मारेको होला ? राजनीतिक परिवर्तन गर्न मान्छे मारेको भन्दै उनीहरु जेलबाट निस्किए । राजतन्त्रको विरोधमा आन्दोलन हुँदा कति नेपालीले ज्यान फालेका छन् । राजतन्त्र फाल्न १९ दिने आन्दोलन भयो । त्यतिखेर पनि धेरैले ज्यान गुमाए । २०६२–६३ सालमा नेताहरुकै अगुवाइमा भएको आन्दोलनमा परेर त्यत्रो नेपाली मरे ।नेताहरुले सडकमा नउतारेको भए त्यत्रो नेपालीले ज्यान गुमाउनुपर्दैनथ्यो होला । हिजो जति नेपालीको ज्यान गएको छ, यसको जिम्मा त नेताहरुले लिनुपर्छ ।

हिजो जनतालाई सडकमा उतारेर मार्ने त नेताहरु नै हुन् । कानुन त्यति नै चोखो छ भने सबै नेताहरुलाई जेलमा लगेर कोच्नुपर्छ । चौधरीमात्र किन जेल बस्ने ? उनले आफ्नो व्यक्तिगत फाइदाका लागि मान्छे मारेका होइनन् । जनताको आवाज उठाउँदा आजीवन कैद सजाय भोग्नुप¥यो । चौधरीलाई एक्लो बनाएर सरकारले उनको कुरा सुनेन । जनताले भोट दिए तर उनी संसद् छिर्न पाएनन् । जनताको आवाज उठाउँदा उनले आफ्नो जिन्दगी समाप्त गर्नुप¥यो । उनको जीवन जेलमै सकिन्छ । जनताको माग राख्दा यत्रो सजाय भोग्नुपर्छ भन्ने कसैले सोचेका पनि थिएनन् होला । चौधरीले हतियार प्रयोग गरेर प्रहरी र शिशु मारेको प्रमाण त अदालतसँग छैन ।

न प्रहरी प्रशासनले उनले नै मारेको भनी साबित गर्न सक्छ । आन्दोलन समर्थन गरेकै भरमा उनीमाथि प्रहरीले आरोप लगायो । अदालतले जन्मकैदको सजाय सुनायो । तर, रविको मुद्दामा प्रमाण हुँदाहुँदै प्रहरी प्रशासनले अनदेखा ग¥यो । पुडासैनीले रुँदै तयार गरेको भिडियोलाई अदालत र प्रहरी प्रशासनले प्रमाण मानेन । रविले सफाइ पाए । अदालतले निर्दोषलाई कसरी फसाउँदो रहेछ र दोषीलाई कसरी उम्काउँदो रहेछ, छर्लङ्ग भइसकेको छ ।

नेपालको कानुनमाथि अब जनताले विश्वास गर्छन् ? प्रमाणबेगर चौधरीलाई फसाइएको छ । जनताले तिरेको करबाट प्रहरी प्रशासन र न्यायाधीशले तलबभत्ता खाइरहनु उचित छैन । सीधासाधी जनतालाई एउटा मुद्दा लगाएर फसाइदिने, प्रमाण हुँदाहुँदै दोषीलाई उम्काइदिने । टीकापुरका जनताले चौधरीलाई दिएको भोट खेर गयो । उनी जेलबाट बाहिर निस्किएनन्, जनताको आवाज उठाउनबाट वञ्चित छन् ।

पुडासैनीले आरोप लगाएका व्यक्ति अब संसद् छिर्दै छन् । माओवादी नेता कृष्ण महराले जेलबाट निस्किँदा भनेका थिए, ‘८० प्रतिशत मान्छे आरोपकै भरमा जेलमा छन् । गल्ती नै नगरेका जनता अदालत र प्रहरीको कारण जेलजीवन बिताइरहेका छन् ।’ अदालतसँग आँट छ भने प्रचण्ड, ओली, रवि, सिके, उपेन्द्र, विप्लवलाई समातेर जेल हाल्नुप-यो । उनीहरुलाई किन खुल्ला छोड्ने ? कानुन सबैलाई सराबरी हुन्छ । एउटालाई लाग्ने, अर्काेलाई नलाग्ने पनि कानुन हुन्छ ?

पहुँच, पैसा र पावर भएकाले जे गर्दा पनि हुने, अनि सीधासाधी जनताले चाहिँ गल्ती नै नगरीकन आरोपको भरमा सजाय भोग्नुप-यो । चौधरीले राजनीति गर्दा उनी कानुनको आँखामा अपराधी हुने तर अरुचाहिँ कानुनका लागि निर्दोष भएका छन् । अरु मान्छे मारेर नेता भए, चौधरी आरोपकै भरमा जेल बसे ।
– अनुसा थापा

प्रतिक्रिया दिनुहोस्