देशले नयाँ विचार खोजिरहेछ



पूर्वपत्रकार रवि लामिछानेको नेतृत्वमा २०७९ असोजमा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय र प्रान्तीय चुनावमा देशैभरि जुन हिसाबले तरङ्गका साथ घन्टी बजायो, त्यो हेर्दा अर्को पटकको चुनावमा यो दलले पुराना राष्ट्रिय पार्टीहरूका काम गर्ने तौरतरिका, भाषणबाज बूढा नेता र तिनका सुविधाभोगी कार्यकर्ताहरूको लोली बदलिएन भने देशैभरिबाट चुनावमा बढारिने पक्काजस्तै देखिएको छ । यसो भनेर यहाँ रवि लामिछानेलाई देवत्वकरण गर्न खोजिएको पक्कै होइन ।

उनले आफ्नो काम गराइको तौरतरिका, जनताका स–साना समस्याहरूमा उचित सम्बोधन र आम नेपालीहरूको मानसिकता बुझेर काम गर्न सके भने मात्रै उनी हिरो हुन्छन्, नत्र उनको पनि अग्रज पूर्वपत्रकार रवीन्द्र मिश्रको जस्तो ताल हुन बेर लाग्दैन ।
भनिन्छ, पत्रकारहरूलाई एउटा सुविधा उनीहरूको पेसा रहुन्जेल मिल्छ । त्यो हो, उनीहरूले कहिल्यै पनि उत्तर दिनुपर्दैन । उत्तर दिनका लागि जिम्मेवारी निर्वाह गर्नुपर्छ । नतिजामुखी काम गर्नुपर्छ ।

विवेकशील नेपाली पार्टी स्थापना गरेर उज्ज्वल थापाहरूले जुन दुस्साहस २०७४ सालको निर्वाचनमा गरे, त्यो दुस्साहसले रवीन्द्र मिश्र २०७८ सम्ममा राजनीतिक हिरो भए । सामाजिक सञ्जालहरूमा उनी जुन आक्रामक उपस्थितिमा छाउँथे, त्यसले मानिसहरूलाई उनले अब संसद्को यात्रा तय गर्नेछन् भन्ने विश्वास दिलायो तर उनको यसपटक पनि नेपाली कांग्रेसका पुराना नेता प्रकाशमान सिंहसितै आमनेसामनेको टक्कर प¥यो, जसले गर्दा उनी यसपटकसमेत १७५ को मतान्तरमा चुनाव हारे ।
भनिन्छ, कांग्रेस र कम्युनिस्टहरूसँग चुनावी तिकडममा सकिन्न ।

यो कुरा मिश्रले बुझेका थिए या थिएनन्, त्यो बाहिर आएको छैन तर उनले वैकल्पिक राजनीतिको जरोलाई जुन हिसाबले काटेर आफू अवसरवादीजस्तो भई राप्रपामा गई संसद्मा उठे, त्यो उनको निर्णय र पार्टी फेरिरहने कदमलाई राजधानीका चेतनशील जनताले मन पराएनन् । यसरी फेरि जनअनुमोदन हुन नसकी जनताबाट तिरष्कृत भए । रवीन्द्र मिश्रजस्तो बौद्धिक व्यक्तित्वको खाँचो हाम्रोजस्तो संसद्मा परिरहन्छ तर उनी संसद् जानबाट रोकिए । यसमा कतिपय अवस्थामा उनकै वैचारिक त्रुटि देखिन्छन् भने कतिपय अवस्थामा उनले चुनावलाई हाँक्न नसकेको देखिन्छ ।

रवि लामिछानेको विजयको घोषलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले छोटोमा लेखेका छन्– ‘चितवनमा बजेको घन्टीको आवाज यति बेला सारा विश्वले सुनेर आनन्द लिइरहेका छन् ।’ गाउँघरमा एउटा भनाइ छ– ‘अरूले गीत गाएको र गोपेका बाले सुसेल्या ।’ यति भनेपछि प्रस्टै बुझिन्छ कि बालेनले पनि रवि लामिछानेको पार्टीलाई समर्थन गरेका रहेछन् । यतिखेर रवि लामिछानेको नेपाली राजनीतिमा भएको आगमनलाई लिएर अनेक कोणबाट अथ्र्याइएको छ । आगे भविष्यले प्रस्ट पार्दै जाला । अहिले नै हामीले अन्दाजमा किन फुल पार्नुप¥यो ?

‘सिके राउत, रवि लामिछाने र प्रेम सुवालले विनागठबन्धन त्यत्रो भोट ल्याएर ठूला गठबन्धनलाई जिते । हो, त्यसै गरी जित्नुपर्नेमा साथीहरूले लज्जास्पद हार बेहोरे ।’ योचाहिँ एमालेका दोस्रो र तेस्रो पुस्ताका नेताहरूका हार हेरेर भनिएको हो । जो–जो ओलीका भित्रिया थिए, ओलीलाई बा भनेर देवतासरह मान्थे, ती अपवादका रूपमा गोकुल बाँस्कोटा, विष्णु पौडेल र सूर्य थापाहरूबाहेक सबै सोत्तर भई हारे । ओली नेतृत्वको साढे तीन वर्ष सरकारमा अवसर पाएका र केही मुख्यमन्त्री हुँदा तिनीहरूले गरेका अलोकप्रिय कामका कारण जनताका दृष्टिमा दण्डनीय देखिए ।

अटेरी अभियानका अभियन्ता गणेश पौडेल भन्छन्– ‘माधव काउँरेडको रोइलो सुनेर मूच्र्छा परिरा’छु ! कांग्रेसका बुतामा आएको प्रत्यक्षका १०÷११ सिटको तुलनामा समानुपातिक मत देख्दा यस्तो लाग्छ, कुनै हाइवेमा पावर टेलर (ट्रयाक्टर) ले बुल डोजर तानिरहेको छ । राजनीति होस् कि जिन्दगी, हैसियतभन्दा धेरै उपलब्धि पनि लाजमर्दो हुने रै’छ !’संघीय संसद्को प्रतिनिधिसभामा भारी अन्तरका साथ करिब आधा लाख मतले चुनाव जितिसकेपछि आफ्नो विजयपश्चात् उम्मेदवार रविले चितवनका तीन ठाउँमा धन्यवाद सभा गर्ने भए र तीनवटै स्थानमा उनले सभा गरे पनि । जसमा हजारौं हजार मानिसको सहभागिता थियो ।

रवि लामिछानेले धन्यवाद सभा आयोजना गर्नुपूर्व फेसबुकमा राखेको निमन्त्रणमा भनिएको थियो– ‘रानजीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन । यो त जाँच दिन जानका लागि सक्षम हुनुमात्र हो । म आजबाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्षपछि मात्र आउँछ । म जनतालाई जिताउने जाँच दिन जाँदै छु, त्यसैले म अहिले नै विजय ¥याली गर्न चाहन्न । मैले गर्ने ‘धन्यवाद सभा’मा यहाँ आउँदा कृपया मेरा लागि फूल, माला, अबिर र खादा केही नल्याउनुहोला । म आजबाटै काम थाल्दै छु । मेरो सभा हुने ठाउँमा दुईवटा बाकस हुनेछन् । एउटा बाकसमा ‘समस्या पेटिका’ लेखिएको हुनेछ । त्यसमा तपाईंका समस्या लेखेर खसाउनुहोला ।

अर्को बाकसमा ‘उजुरी र सुझाव पेटिका’ लेखिएको हुनेछ । त्यसमा, भ्रष्टाचारीका सूचना, मैले गर्नुपर्ने काम, मलाई खबरदारी लेखेर खसाउनुहोला । माला, अबिर र खादामा हामीले गरेको खर्च प्रायः सबै विदेश जान्छ । केही ल्याउनै मन भए आफ्नै आँगन या बाटोको एक थुँगो फूल भए मलाई पुग्छ । म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु । भोट माग्न, ¥याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउँछु ।’ जनताको मन छुने हिसाबले लेखिएका यी कोमल पदावलीले हरेक मतदाताको मनलाई प्रफुल्लित नपारी रहन सक्दैन । यो हो नि जनताको मन जित्ने काइदा !

विश्लेषक डम्बर खतिवडा चुनावलाई विश्लेषण गर्दै सारगर्भित शब्दमा लेख्छन्– ‘चुनावमा जुनसुकै पार्टीले जितून् । जीतको उन्मादमा लोकतन्त्र, गणतन्त्र, संघवाद, समावेशिता, सामाजिक न्याय, धार्मिक स्वतन्त्रता, समतामूलक समृद्धि र विश्वमानवताविरुद्ध उभिने दुस्साहस गरे ती दुई दिनका पाहुनामात्रै हुनेछन् । यी सिद्धान्त तहत डेलिभरीको प्रयत्न गर, तल–माथि गरे खरानी हुने हौ ।

दलहरू निःसन्देह अलोकप्रिय छन् –अहिले । तिनको अक्षमता र अलोकप्रियताको मूल्यमा यी मान्यता जनताले छोड्दैनन् । ज्ञानेन्द्र शाहले असोज १८ र माघ १९ मा ठीक यस्तै गल्ती गरे । दलहरू अलोकप्रिय त्यतिखेर पनि थिए तर स्थिति कसरी केही महिनामै उल्टियो, यो कसैले नबिर्सनु राम्रो । दलहरूको अलोकप्रियता, नेताहरूको अक्षमता र लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतामा बडबढ गरे– जनताले कसैलाई छाड्दैनन् । राणा, शाह, पञ्च फालेका जनता हुन्– अरू कसको के कुरा ?’

लेखक हरि अधिकारी निर्वाचन र नयाँबारे भन्छन्– ‘धमाधम आइरहेको चुनाव परिणामबाट म सन्तुष्ट छु । मतदान पूर्वसन्ध्यामा मैले फेसबुकबाटै विजयको अग्रिम शुभकामना दिएका प्रतिनिधिसभाका ३४ जना उम्मेदवारहरूमध्ये अधिकांशले जिते । यसपटक ललितपुर–१ का उदयशमशेर राणा, जाजरकोटका राजीवविक्रम शाह, ओखलढुङ्गाका रामहरि खतिवडा र सिन्धुपाल्चोक–२ का मोहनबहादुर बस्नेतले पाएको जनसमर्थनलाई म विशेष उल्लेख्य ठान्दछु ।

यी चारैजनाले आफ्नो जिल्लाका जनताको भलाइका लागि जुन लगनका साथ काम गरेका थिए यिनीहरूले अहिले हारेका भए यिनीहरूमाथि अ्रन्याय हुने थियो । झापा–१ का विश्वप्रकाश शर्मालाई पनि त्यस क्षेत्रका जनताले यसअघि गर्नुपर्ने जति माया गर्न सकेका थिएनन्, यसपल्ट गरे खुशी लाग्यो । यसपटक शुभकामना निस्फल भएकाहरूमा उल्लेख्य रहे मेरा मित्र बागी एमाले घनश्याम भुसाल र गाउँले भाइ कांग्रेस नेता शिव हुमागाईं । विवेकशील पार्टीका मिलन पाण्डेले पनि जितून् भन्ने कामना ग¥या थिएँ, त्यो असफल रह्यो । चुनावमा जीतको कामना सफल हुने सम्भावना जहिल्यै ५० प्रतिशत रहने हुँदा ती तीन प्रियजनको पराजयलाई मैले सहज लिएको छु ।’

यसपटकको चुनावी परिणामले एमाले अध्यक्ष केपी ओलीको घमण्डलाई चुरचुर पारिदियो । धमाधम आइरहेको नतिजाले प्रतिनिधिसभाका २७५ मध्ये १५० स्थानमा जित्ने भनी उनले धेरैपटक दोहो¥याएर गरेको दाबीलाई पूरै हावादारी साबित गरिदिएको छ भने संसद्को गणित अनुसार एमाले दोस्रो हुने देखियो । यतिमात्र होइन, निर्वाचनका माध्यमबाट तानाशाह बन्ने ओलीजीको सर्वसत्तावादी मनसुवालाई अन्धभक्तिको हावा दिएर उफानमा ल्याइदिने ईश्वर पोखरेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, महेश बस्नेत, सुरेन्द्र पाण्डे, विशाल भट्टराई, राजन भट्टराई, लेखराज भट्ट, शान्ता चौधरी र भानुभक्त ढकालजस्ता उनको ग्याङका बडे–छोटे भारदारहरूले चुनावी अखडामा धूलो चाटेका छन् ।

खेदको विषय, ओलीले बनाएको गोलोका कुख्यात काला अरिङ्गालहरूमध्ये विष्णु पौडेल, सूर्य थापा र गोकुल बाँस्कोटा भने जसोतसो चुनाव जितेका छन् । नेपाली काग्रेसबाट उम्मेदवार भई जितेकामध्ये जाँगरिला र क्षमतावान् जति लगभग सबैलाई जिताएर जनताले त्यस पार्टीको संसदीय दलको नेतृत्व परिवर्तन गर्ने जनाउ दिए । यो मर्मलाई अँगालेर वृद्ध नेता शेरबहादुर देउवाले संसदीय दलको नेतापद रामचन्द्र पौडेल, शेखर कोइराला र गगन थापामध्ये एकजनाका हातमा सुम्पिनु कांग्रेस र देशकै हितमा हुनेछ । पाँचपटक प्रधानमन्त्री भएका देउवाले यसपटक पनि संसदीय दलको नेता बनेर कुनै नयाँ उपलब्धि हासिल गर्ने पनि त होइनन् !

विवादास्पद चरित्र भएका रवि लामेछानेले खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीले अचानक ठूलो सफलता हासिल गरेर संसदीय आम चुनावलाई रङ्गारङ्ग बनाइदियो । पुराना दलका नेताहरूका कुकृत्यका कारण हतास मनस्थितिमा रहेका जनताले परिवर्तनको हुट्हुटीले दपेटिएर नै किन नहोस् रविमाथि अथाह भरोसा गरे । लोकतन्त्रमा विश्वास राख्ने व्यक्तिका रूपमा म जनताको एउटा उल्लेख्य समूहले भरोसा गरेका स्वतन्त्र पार्टीका अध्यक्ष रविलाई सन्देहको लाभ दिन्छु ।

मलाई थाहा छ, रविको सोच र नियतको वास्तविक परीक्षण निकट भविष्यमा जब सरकार बन्ने एजेन्डामा दलहरूका बीच तानातानी शुरु हुन्छ त्यति बेला हुनेछ । त्यति बेलासम्म पर्खिनेछु । चुनावले राप्रपाको जर्जर भइसकेको कायामा जीवनरस प्रवाह गरिदिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाइ छ । मधेस प्रदेशका विवेकशील मतदाताहरूले उपेन्द्र यादव, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, अनील झा आदि मधेसका स्वयम्भू महिसाहरूलाई उनीहरूको औकात देखाइदिए । जनतालाई सधैँ–सधैँ छक्याइरहन सकिँदैन भन्ने उक्ति चरितार्थ भयो २०७९ सालमा आएर त्यहाँ । सुदूर पश्चिमको नयाँ मुलुकतिर भने नितान्त नश्लवादी चरित्र भएको नागरिक उन्मुक्ति नामक पार्टीले जनअनुमोदन पायो, जसले शुभ संकेत गर्दैन । यसरी देशले यो चुनावमार्फत नयाँ अनुहार खोजिरहेको कुरा सर्वविदितै छ ।

प्रतिक्रिया दिनुहोस्