सरकारी क्वार्टरमै हाकिम र जनप्रतिनिधिको ‘मदिरा पार्टी’, वडाध्यक्षले गरे तोडफोड

टेबुल फुटाइयो, नगरपालिकामा तालाबन्दी



धनगढी। 

कैलालीमा एक सरकारी निवासमा तोडफोड भएको छ। जिल्लाको घोडाघोडी नगरपालिकास्थित एक सरकारी निवासमा तोडफोड भएको हो।
प्रहरीका अनुसार घोडाघोडी नगरपालिकाकै एक जना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेका छन्। शनिबार राति अधिकृतको सरकारी निवासमा वडानम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले तोडफोड गरेका हुन्। उनले लात्ताले प्रहार गरेपछि कोठामा रहेका टेबुलहरु भाचिएका छन्।

किन भयो तोडफोड ?

हिजो राति घोडाघोडीका मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरे। सोही क्रममा उनीहरुबीच विवाद सुरु भयो। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीका अनुसार त्यसअघि राति उनीहरुले निवास नजिकै रहेको सुखड बजारस्थित ‘माछा घर रेस्टुरेन्ट’ मा पनि मदिरा सेवन गरेका थिए। त्यहाँबाट निस्केर उनीहरु प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरकारी निवासमा गएका थिए। सोही क्रममा प्रशासकीय अधिकृतको निवासमा मदिरा सेवनपछि वादविवाद भएको उनले बताए।

मेयरसहितका वडाध्यक्षसँग बसेर मदिरा सेवन गरेका अधिकृत आचार्य र वडानम्बर १ का वडाध्यक्ष ओझाबीच विवाद भएको थियो। पुराना बखेडा झिकेपछि प्रशासकीय अधिकृत आचार्यले अध्यक्षलाई अपशब्द बोलेको र सबैले सम्झाउँदा नमानेपछि तोडफोड भएको बताइएको छ। आफ्नै क्वाटरमा बोलाएर गाली गरेपछि ओझाले आक्रोशमा आएर टेबलमा खुट्टा बजार्दै तोडफोड गरेको प्रहरीले जनाएको छ। तर, अधिकृत आचार्यले भने मेयर रावतले वडाध्यक्षलाई घोचपेच गरेपछि टेबुल फोडेको बताए। आफूले चित्त नबुझेका केही कुरा मेयरलाई सोधेको र त्यसपछि विवाद भएको उनको जिकिर छ। विवादका क्रममा हातपात भने नभएको प्रहरीको दाबी छ।

त्यहाँ विवाद हुनुअघि हाकिम र १ का अध्यक्षले बियर, मेयर र ७ का अध्यक्षले भोड्का खाएको बताइएको छ। अन्य २ अध्यक्षले भने मदिरा सेवन नगरेको बताएका छन्। उक्त पार्टीमा मेयर रावत, १ का अध्यक्ष घनश्याम ओझा, ४ का अध्यक्ष भरत शाही ७ का जुगराम चौधरी र १२ का वडाध्यक्ष रामदुलारी चौधरी पनि सहभागी थिए।

नगरपालिकामा तालाबन्दी

गएराति भएको घटनापछि आइतबार बिहान घोडाघोडी नगरपालिकामा तालाबन्दी गरिएको छ। मदिरा सेवन गरेर तोडफोड गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले नगरपालिकामा तालाबन्दी गरेको हो।

कार्यपालिका बैठक चलिरहेका बेला तालाबन्दी गरेपछि कर्मचारी र जनप्रतिनिधि भित्रै थुनिएका छन्। मादक पदार्थ सेवन गरी सरकारी क्वाटरमा तोडफोड गरेको लगायत ४ बुँदे माग राख्दै तालाबन्दी गरिएको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ।

गिट्टी वालुवा टेन्डर नगरी मनोमानी गरेको, त्यसबाफत रकम असुल गरेको, नगरपालिकामा भ्रष्टाचार बढाएको लगायतका नेपाल कम्युनिष्ट पार्टीका आरोप छन्। तालाबन्दीपछि कार्यायल बाहिर नाराबाजी समेत भएको छ। यता, नगरपालिकाकी उप–प्रमुख गुलिया चौधरीले भने आपसी खानपिनपछि विवाद भएको बताइन्। अहिले सोही बारेमा छलफल चलिरहेको उनले बताइन्।

 

 

प्रतिक्रिया दिनुहोस्