पर्वतमा २२ उम्मेदवारको धरौटी जफत



पर्वत।
प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका पर्वतका २२ जनाको जमानत जफत हुने भएको छ। एमाले र सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका बाहेकका राजनीतिक दल तथा सबै स्वतन्त्र उम्मेदवारको धरौटी जफत हुने भएको हो।

पर्वतमा प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा जिल्लामा कुल ६६ हजार १२९ मत खसेकोमा तीमध्येका ६३ हजार ७१६ सदर र २ हजार ४१३ मत बदर भएका छन्। सदर मतको १० प्रतिशत हुनका लागि ६ हजार ३७२ मत आएको हुनुपर्छ। तर पर्वतबाट प्रतिनिधिसभामा भिडेका एमाले र कांग्रेसका उम्मेदवारबाहेक अन्य उम्मेदवारले तोकिएको मत पाएका छैनन्।

एमालेका पदम गिरी २९ हजार ८७२ मत पाउँदै विजेता बन्दा काँग्रेसका अर्जुन जोशी २७ हजार ६०९ मत सहित पराजित भएका छन्। उनीहरुबाहेक १० उम्मेदवारले भने सदरको १० प्रतिशत मत पाएका छैनन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर मल्ल, , राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ठाकुरप्रसाद भुसाल, मंगोल नेशनल अर्गनाइजेसनका चन्द्रबहादुर पाइजा पुन , राष्ट्रिय जनमुक्ति पार्टीका बलबहादुर थापा , नेपाली कांग्रेस (बीपी) का देवाखर भट्टराई, नेपाल सुशासन पार्टीकी भगवती पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुन, स्वतन्त्र उमेदवारहरु अरुण पौडेल, सावित्री शर्मा र सीता देवी शर्माको पनि धरौटी रकम जफत भएको छ ।

प्रदेश सभा १ मा कुल ३५ हजार १६८ सदर भएका छन्। यसको १० प्रतिशत ३ हजार ५१७ हुन आउने भएकाले यो संख्या पार गरेका उम्मेदवारको मात्रै धरौटी फिर्ता हुने छ। यो क्षेत्रमा एमाले र गठबन्धनबाहेकका उम्मेदवारको धरौटी जफत हुने छ। विजेता बनेका एमालेका भक्त कुँवरले १६ हजार ८२५ र पराजित बनेका नेकपा (माओवादी केन्द्र) का सुदीप कुँवरले १४ हजार ४२७ मत पाएका छन्।

प्रदेश सभा २ मा पनि एमाले र गठबन्धनका उम्मेदवार बाहेक अन्य उम्मेदवारले धरौटी जोगाउन सकेनन्। यो क्षेत्रमा २७ हजार ५०१ मत सदर भएका थिए। धरौटी जोगाउन त्यसको १० प्रतिशत अर्थात् २ हजार ७५० मत आएको हुनुपर्छ। एमालेबाट विजयी बनेका मित्रलाल बस्यालले १४ हजार १३२ र पराजित बनेका नेपाली कांग्रेसका ऋषिकेश तिवारीले १२ हजार २१० मत पाए।

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार सदर मतको १० प्रतिशत मत पाएका उम्मेदवारले तीन महिना भित्रमा जिल्ला निर्वाचन कार्यालयमा ‘धरौटी फिर्ता पाऊँ’ भनी निवेदन दिएपछि मात्र फिर्ता पाउने छन्। तर १० प्रतिशत मत प्राप्त नगरेकाहरुले धरौटीको रुपमा राखेको रकम तीन महिना कटेपछि राजस्वको रुपमा जम्मा हुने छ।

प्रतिक्रिया दिनुहोस्