समानुपातिकमा एमालेलाई पछ्याउँदै कांग्रेस



काठमाडौं ।

प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ पाएको मतसंख्याअनुसार नेकपा (एमाले) अघिअघि र नेपाली कांग्रेस पछिपछि रहेको पाइएको छ ।

शनिबार रातिसम्म प्राप्त मतपरिणामअनुसार दलगत स्थिति यस्तो देखिएको हो । प्रत्यक्ष निर्वाचनतर्फ कांग्रेसलाई पछ्याउँदै आएको एमालेले समानुपातिकतर्फ भने कांग्रेसभन्दा बढी ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा देखिएको छ ।
निर्वाचन आयोगले पछिल्लो पटक प्रविष्ट गरेको मतगणनाको परिणामअनुसार एमालेले २१ लाख ५६ हजार ३ सय ३० मत ल्याएको छ भने कांग्रेसले २० लाख ७४ हजार १ सय ७१ मत ल्याएको छ ।

नेकपा (माओवादी) केन्द्रले ९ लाख १२ हजार ९ सय ८२ मत ल्याएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ८२ हजार ९ सय ४६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ६५ हजार २ सय ८६, जनता समाजवादी पार्टी (जसपा) ले २ लाख ५१ हजार ४ सय ९५, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १ लाख ९७ हजार ७ सय २८ मत पाएको छ । त्यसै गरी नागरिक उन्मुक्ति पार्टीको १ लाख ७६ हजार १ सय ९६ र जनमत पार्टीको १ लाख ८१ हजार ३ सय ६५ मत आएको छ । त्यसै गरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालको १ लाख ५ हजार ३ सय ४८, नेपाल मजदुर किसान पार्टीको ६८ हजार ५ सय ७७ मत आएको छ ।

आयोगका अनुसार मतगणनाको अन्तिम नतिजा आउने बेलासम्म थ्रेसहोल्ड कटाउने अर्थात् कुल सदर मतको तीन प्रतिशत मत ६ दलले ल्याउने देखिन्छ । आयोगले समानुपातिकतर्फ ६१ प्रतिशत मत खसेको अनुमान गरेको छ । यसअनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि ३ लाख २० हजार बढी मत ल्याउनुपर्ने देखिएको छ ।
प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा १२ मा समानुपातिकमा ३ प्रतिशतभन्दा कम मत ल्याउने दलहरूको मत दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन भनी उल्लेख गरिएको छ ।

कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदातामध्ये ६१ प्रतिशत मतदानमा सहभागी हुँदा देशभरबाट १ करोड ९ लाख ७० हजारभन्दा बढी मतदान भएको देखिन्छ । आयोगले २ प्रतिशत अर्थात् २ लाख २३ हजार ५८ मत बदर हुने अनुमान गरेको छ । आयोगले अनुमान गरेजस्तै सो संख्यामा मत बदर हुने स्थितिमा १ करोड ९ लाख २९ हजार ८ सय ५५ मत सदर हुने अनुमान गरिएको छ । त्यसको ३ प्रतिशत मत ल्याउने दलहरूले समानुपातिक प्रणालीबाट संसद्मा आफ्नो उम्मेदवार निर्वाचित गराउन सक्दछ ।

त्यसमध्ये पनि १० प्रतिशत अर्थात् १० लाख ९२ हजार ९ सय ८५ मत थ्रेसहोल्ड नकट्ने दलको मत आउने आयोगको अनुमान छ । आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कुल ४८ वटा दलले भाग लिएका छन् ।समानुपातिकमा सम्पूर्ण सदर मतलाई दलहरूले पाएको मतका आधारमा विभाजन गरेर सदस्यहरू चयन हुने आयोगका अधिकारीहरूको भनाइ छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार यसपटक एक सिटका लागि लगभग ९५ देखि ९६ हजार मत आवश्यक पर्ने हुन्छ । उहाँले यो प्रारम्भिक अनुमान मात्रै भएको जिकिर गर्दै भन्नुभयो– ‘अन्तिम मतपरिणाम आएपछि त्यसलाई १ सय १० सिटका लागि हिसाब गरेर निकालिनेछ ।

त्यस आधारमा एक सिटका लागि ९५ हजार मत आवश्यक पर्ने अनुमान गरेका हौं ।’ २ सय ७५ सिट रहेको प्रतिनिधिसभामा १ सय १० सिट समानुपातिक निर्वाचनबाट छानिने प्रावधान रहेको छ ।प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ ले खस–आर्य ३१ दशमलव २ प्रतिशत, मधेसी १५ दशमलव ३ प्रतिशत, आदिवासी जनजाति २८ दशमलव ७ प्रतिशत, दलित १३ दशमलव ८ प्रतिशत, थारू ६ दशमलव ६ प्रतिशत, मुस्लिम ४ दशमलव ४ प्रतिशत, पिछडिएको क्षेत्र ४ दशमलव ३ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । सबै क्लस्टरमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्छ  ।

यसबाहेक प्रत्यक्षमा नपुगेको ३३ प्रतिशत संख्या पु¥याउन पनि क्लस्टरमा महिला थप्नुपर्ने हुन्छ । कुनै पनि दलले राष्ट्रिय पार्टीको मान्यता पाउन समानुपातिकमा ३ प्रतिशत मत ल्याएको र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको हुनुपर्ने कानुनी व्यवस्था छ । प्रदेशमा पनि प्रतिनिधिसभाकै तरिकाले गणना गरेर सदस्य चयन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । यद्यपि, प्रदेशमा मान्यता प्राप्त दल बन्नका लागि समानुपातिकमा ३ को साटो १ दशमलव ५ प्रतिशत मात्र मत कटाए पुग्छ ।

प्रतिक्रिया दिनुहोस्