स्याङ्जा : संघमा काँग्रेसका थापा र प्रदेशमा एमालेका पौडेल विजयी



स्याङ्जा।

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका राजु थापा तथा प्रदेशसभा सदस्यमा एमालेका सुधिर कुमार पौडेल विजयी हुनुभएको छ । थापा ३ हजार २ सय ५५ मतान्तरसहित नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्दै सांसद बन्नुभएको हो । थापाले ३१ हजार ९ सय ९९ मत पाउँदा मरासिनीले २८ हजार ७ सय ४४ मत पाउनुभयो । यसैगरी, तेस्रो स्थानमा रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले ६ हजार ६५ मत पाउनुभयो ।

थापा लोकतान्त्रिक बामगठबन्धनतर्फका साझा उम्मेदवार हुनुहुन्छ । मतगणनादेखिको अग्रता उहाँले अन्त्यसम्म कायमै राख्नुभयो । थापा र मरासिनीबीचको प्रतिस्पर्धा लगातार तेस्रो पटकको हो । उहाँहरु २०७० सालमा भएको संविधानसभा सदस्य निर्वाचनदेखि २०७४ को संघीय निर्वाचन र हालसम्म प्रतिस्पर्धी रहनुभयो ।

दोस्रोपटक सम्पन्न २०७० को संविधानसभा निर्वाचनमा काँग्रेसतर्फका उम्मेदवार थापा यही क्षेत्रबाट विजयी हुनुभएको थियो । त्यसपछिको २०७४ सालको संघीय निर्वाचनमा गठबन्धनसहित नेकपा एमालेका मरासिनी निर्वाचित हुनुभयो । दुई संघीय निर्वाचन क्षेत्र रहेको क्षेत्र नं. १ मा स्वतन्त्रसहित १२ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

करिब ४४ वर्षीय थापा नेपाली काँग्रेस स्याङ्जाका जिल्ला सभापति हुनुहुन्छ । पुतलीबजार नगरपालिका ४ रामकोशमा जन्मिनुभएको उहाँ विद्यालय तहदेखि नेपाल विद्यार्थी संघमा आवद्ध हुनुहुन्थ्यो । निर्माण व्यवसायी हुँदै राजनीतिमा आउनुभएको उहाँ स्पष्ट बक्ता र सहयोगी हुनुहन्छ । युवापंक्तिबीच लोकप्रिय उहाँ सबै वर्गका लागि उत्तिकै सहयोगीका रुपमा परिचित हुनुहन्छ ।

संविधानसभा सदस्य, जिल्ला सभापतिसँगै अहिले सांसदको जिम्मेवारी स्याङ्जा क्षेत्र नं. १ बासीले उहाँलाई दिएका छन् । निर्वाचित भएसँगै थापाले स्याङ्जाको विकासका लागि सबै राजनीतिक दलसँग सहकार्य गर्दै अघि बढ्ने र वर्तमान आवश्यकता र परिवेश सुहाउँदो नीति निर्माणमा आफ्नो ध्यान रहने बताउनुभयो ।

यसैगरी स्याङ्जा क्षेत्र नं १ ख मा एमालेका उम्मेदवार सुधिर कुमार पौडेल विजयी हुनुभएको छ । ६ मतको झिनो अन्तरले पौडेल विजयी हुनुभएको हो । पौडेलले १७ हजार ४ सय ४१ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी काँग्रेसका बुद्धि बहादुर राना (कुमार) ले १७ हजार ४ सय ३५ मत प्राप्त गर्नुभएको छ ।

स्याङ्जा क्षेत्र नं १ को नतिजा सार्वजनिक भएपनि स्याङ्जा २ मा भने गणना हुन सकेको छैन् । चापाकोटका ४ वटा मतदान स्थलमा बुथ कब्जा भएको विषयमा काँग्रेस र एमालेबिच असमझदारी बढेपछि मतगणना हुन नसकेको हो ।

काँग्रेसले बुथ कब्जा गरेका ठाउँमा मृतक र विदेशमा गएकाका नाममा समेत मतदान भएको एमालेको आरोप छ । कब्जा भएका केन्द्रमा ९० देखि ९८ प्रतिशतसम्म मतदान भएको दावी छ । स्याङ्जा क्षेत्र नं २ मा एमालेका सचिव पदमा कुमारी अर्याल र काँग्रेसका उपसभापति धनराज गुरुङ मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्