जनतासँग भोट माग्दा गरेका प्रतिबद्धता पूरा गर्नेछु : सांसद प्रेम आले



डोटी । नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएका उम्मेदवार प्रेमबहादुर आलेले जनतासँग भोटमाग्दा जाहेर गरेका प्रतिबद्धताहरु पूरा गर्नेे बताउनु भएको छ ।

प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि आज डोटीको सायल तथा आदर्श गाउँपालिकाका मतदाताहरुले आयोजना गरेको कार्यक्रममा बोल्नु हुँदै सांसद आलेले आफुले खुटिया, बिपिनगर, गड्सेरा, दिपायल, सायल हुँदै बझाङ्को उरै जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको र पाँच वर्षे कार्यकाल भित्र उक्त सडक बनाएरै छोड्ने बताउनुभयो ।“जनताको बीचमा विकास निर्माणका जुन–जुन प्रतिबद्धता जाहेर गरेको छु, ति पुरा गर्न अहोरात्र दत्तचित्त भएर लाग्नेछु”, उहाँले भन्नुभयो, “द्रुतमार्ग बनाउनु मेरो प्रमुख मुद्धा हो, मेरो कार्यकाल भित्र जुनसुकै हालतमा पनि उक्त कार्य पुरा गर्नेछु।”

यसैगरी उहाँले निर्वाचनको समय सम्म आफू कुनै दलमा आबद्ध भएको र निर्वाचनमा कसले भोट दियो कसले दिएन भन्ने भन्दापनि अब डोटीको समग्र विकासका लागि हामी सबै संगै अगाडि बढ्ने समेत जानकारी गराउनुभयो । उहाँले थप भन्नुभयो, “अब हामी दलको मात्रै नेता होइन सबै डोटेली जनताको नेता भएका छौँ, डोटीका जनताको कतैपनि शिर ननिहँुरिने गरी अगाडि बढ्ने छौं ।’ सोही कार्यक्रममा बोल्नु हुँदै उहाँले बिगतमा राज्यलाई ठग्ने, सरकारी सम्पती दोहन गर्ने जुन जुन तत्वहरु थिए, तिनीहरुलाई राज्यको सम्पती फिर्ता गराउन लगाउनुका साथै गलत गर्ने जो केहीलाई नछोड्ने र ठेगान लगाएरै छोड्ने बताउनुभयो ।

उहाँको संघिय सांसदको रुपमा लगातार यो तेस्रोपटक बिजयी हो। डोटी निर्वाचन क्षेत्र–२ बाट बिसं २०७० सालको दोस्रो संबिधान सभा सदस्यमा पहिलोपटक, बिसं २०७४ सालमा डोटी निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा दोस्रोपटक र २०७९ सालको प्रतिनिधि सभा सदस्यमा गरि उहाँ अहिले तेस्रोपटक निर्वाचित हुनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्